प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो

 जेठ १७, २०७५ बिहिबार १९:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ५५ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको तीन बल बाँकी छँदा सबै विकेट गुमाएर २४४ रन जोडेको थियो । आर्मीका लागि मध्यक्रममा ब्याटिङ गरेका विकेटकिपर राजु रिजालले ५० रनको अर्धशतकीय इनिङ खेले ।

आर्मीका लागि राजेश पुलामीमगरले ४० तथा सोमपाल कामीले पनि ४१ रनको योगदान दिए । कप्तान बिनोद भण्डारीले २३ रन जोडे । बलिङतर्फ दिब्यांशु मल्लिकले ३ विकेट लिँदा रशिद खान, शांसद शेख र कप्तान मेहेवुव आलमले २–२ विकेट लिए ।
 
२४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ का ओपनर कुन्दन सिंह तेस्रो ओभरमा खाता नखोली आउट भए पनि अर्का ओपनर हरिशंकर शाह र हसिम अन्सारीले संहालिएर पारी उकासेका थिए । तर, ८ ओभरपछि खेल वर्षाले रोकियो ।
 
करिव १ घण्टापछि  सुरु भएको खेल ४० ओभरमा छोट्याइयो र प्रदेश २ लाई २३८ रनको नयाँ लक्ष्य दिइयो । तर, प्रदेश नम्बर २ ले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १८२ रनमात्र बनाउन सकेपछि आर्मीको ५६ रनको जित निश्चित भयो ।
 
तर, प्रदेश २ को लगातार विकेट पतन भएपछि प्रदेश २ ले लक्ष्य भेट्टाउन सकेन । १२औं ओभरमा हरिशंकर साह ३४ रनमा र १५औं ओभरमा हसिम अन्सारी २८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा प्रदेश २ को स्कोर ७३ थियो ।
 
प्रदेश २ का मध्यक्रमका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रदेश २ ले २७औं ओभरमा १०९ रन बनाउँदा महत्वपूर्ण ८ विकेट गुमाइसकेको थियो । नवौं विकेटका लागि रशिद खान र सुरज पटेलले ४३ रनको साझेदारी गरेपछि प्रदेश २ का लागि नयाँ आशा पलाएको थियो । तर, ३५औं ओभरमा साहव आलमको बलमा क्याचआउट भए । उनले ४० बल खेलेर ३४ रन बनाए ।
 
अविजित खेलेका पटेल भने अर्धशतक प्रहार गर्नबाट मात्र २ रनले चुके । उनले ४८ बलमा २ छक्का र ६ चौका प्रहार गरे । बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिँदा सुशान भारी, सागर पुन र साहव आलमले २–२ विकेट लिए । सोमपाल खेलको म्यान अफ द म्याच चुनिए ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया