छोरी अलि ढिलो घर फर्किंदा डर किन ?

 भदौ ६, २०७५ बुधबार ९:२२:३६ | बेदानन्द जाेशी
unn.prixa.net

केही दिनअघि सामान किन्न पसल गएको थिएँ ।  मैले सधैं सामान किन्ने गरेको त्यो पसलका दाइ त्यो दिन अलि आत्तिएका देखिन्थे ।

‘के भयो दाइ किन ‘स्याड’ देखिनुभएको ?’ मैले सोधें । उनले मलिन स्वरमा भने, ‘खै छोरी साथीको बर्थडेमा जान्छु भनेर गएकी, आठ बजिसक्यो, अहिलेसम्म घर आएकी छैन ।’

छोरी अझै नफर्केको चिन्दामा उनले रक्सी पनि पिएका रहेछन् । मुखबाट ह्वास्स रक्सीको गन्ध आइरहेको थियो । उनले चिन्तित हुँदै भने, ‘मैले त कतै जानुपर्दैन भनेको हो, तर माने पो । खाली टेन्सन मात्र ।’

दिनहुँ बलात्कारका घटना बढ्दै गएको सुनेपछि अरु अभिभावकजस्तै पसले दाइलाई पनि छोरी बाहिर जाँदा र समयमा घर नफर्किंदा यस्तै चिन्ता लाग्छ । 
कक्षा १२ मा पढ्दै गरेकी उनकी छोरी एकजना साथीको घरमा जन्मदिन मनाउन गएकी थिइन् । यता उनका बुवाआमालाई भने उज्यालोमै घर नआएकोमा चिन्ता थपिएको थियो । एकछिन पछि दाइकी श्रीमती पसलमा आउनुभयोे । अनि सुरु भयो उनीहरुको वादविवाद । 

छोरी तैंले पठाएको हो भन्ने एकजना, हैन तैंले पठाएको हो भन्ने अर्कोजना । म उनीहरुको चर्काचर्की सुनिरहेको थिएँ । त्यतिबेला मेरो मनमा विभिन्न प्रश्नहरु कुद्न थाले, ‘के त्यो छोरीको ठाउँमा छोरा भएको भए, उनीहरु यसरी नै चिन्तित हुन्थे होलान् र ? के यसरी नै झगडा गर्थे होलान् र ? आखिर छोरी अलि ढिलो घर फर्किंदा डर किन ?’

बाहिर हिँडेकी छोरी साँझको आठ बजे घर नफर्किंदा त अभिभावकमा यस्तो वेचैनी उत्पन्न हुन्छ भने कहिल्यै नफर्किने गरेर मारिएका बालिका तथा किशोरीको परिवारमा कस्तो पीडा होला ? 

पसलमा बुढाबुढीको वादविवाद चल्दै थियो, यता मेरो मनमा भनै यस्तै तर्कनाहरु खेल्दै थिए । यतिकैमा भाउजुले दाइलाई भनिन्, ‘बाइक निकालेर छोरीलाई लिन जानु त खुरुक्क ।’  दाइले पनि उतिखेरै बाइक निकाले । तर बेलुकीको नौ बज्न थालिसक्यो, खोज्न कहाँ जाने ? बाइक रोकेर उनी टक्क अडिए ।

अँध्यारोले गर्दा बाहिर स्पष्ट देखिंदैन थियो । घरको पल्लो गेट खोलेको आवाज सुनियो । कसैले चाल नपाउने तरिकाले कोही गेटबाट लुसुक्क भित्र छिर्दै थियो । भाउजुले यसो त्यता नजर लगाइन् । ‘उ अहिले आई !’ उनले ठूलो स्वरमा भनिन्, ‘छोरी....’ । उताबाट हजुर भनिसकेपछि बल्ल दाइ भाउजुको मनमा शान्ति छायो । अँ छोरी नै रैछ भनेर उनीहरु ढुक्क भए । 

‘अब यसलाई स्कुटी किनिदिनुपर्छ बुढो, गाडी नपाएर त ढिलो भा होला नि बिचरीलाई’ यति भनेर भाउजु भित्र गइन् । ‘अब त ढुक्क हुनुभयो नि दाइ ? जाबो यत्ति हुँदैमा रक्सी नै पिउनुपथ्र्यो र ?’ मैले ठट्टा गर्दै सोधें । 

‘ढुक्क त आफू मरेपछि भइन्छ होला भाइ’ उनले मन गरुङ्गो पार्दै भने, ‘मान्छे छोरी पाल्न गाह्रो हुन्छ भन्छन्, त्यो होइन । गाह्रो त छोरीको बुवा बन्न हुन्छ ।’  ‘
एनले आफनो भोगाइ सुनाएका हुन् कि समाजको तीतो यथार्थ बोलेका, मलाई थाहा भएन । तर त्यो रातभर मेरो दिमागमा अनेकथरी कुराहरु खेलिरहे ।

मैले सोचें, ‘आखिर म पनि त छोरीको बुवा हुनुपर्ला । के मेरो देशमा सबै छोरीका बुवाहरुले कहिल्यै ढुक्क भएर बाँच्न पाउने छैनन् ? के मेरो देशले बलात्कारीलाई जमानतमा छोड्दै उनीहरुलाई संरक्षण दिइरहनेछ ? छोरी अलि ढिलो घर फर्किंदा अभिभावकले ढुक्क भएर बस्न सक्ने अवस्था देशमा कहिले सिर्जना होला.......?’
 

अन्तिम अपडेट: चैत २७, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया