मलेसियामा ‘डिस्क ब्रेक’ भेटिएन, गाउँमा टेम्पोको ब्रेकले जिन्दगीको गति मोडियो

 भदौ ६, २०७५ बुधवार ११:४१:२४ | सन्जिता देवकोटा

काठमाडौं – कपिलवस्तुका कमल परियार विदेश जाँदा फक्रिँदै गरेको कमलको फूल जस्तै हुनुहुन्थ्यो । घरमा छँदा न उहाँले केही काम गर्नुभएको थियो, न त विदेश जान कुनै सीप सिक्नुभएको थियो । 

भर्खर २२ वर्ष टेक्दै हुनुहुन्थ्यो  । कलिला कमललाई मलेसियामा पुग्दा हिलोमा फूल्ने कमलको फूललाई बालुवामा फ्याँकिदए झैं भयो । तर कमलले हार खानुभएन ।

कमलको कथा उहाँकै शब्दमा

दुःख बाजा बजाएर आउँदैन भनेको सुनेको थिएँ । मेरो जीवनमा यो भनाई ठ्याक्कै मिल्यो । बुवाआमाको साथमा खाइखेली हिँडेको मान्छे म । त्यो बेला मलाई दुःख के हो थाहै थिएन । कथा अरुको भन्दा फरक छैन मेरो पनि । तर एउटा दु:खको कथाबाट पाठ सिकेर मैले अर्को सुखद कथाको सुरुवात गरेको छु । 

सन् २००८ मा बुवाआमाले नै मलाई थैलो टकटक्याएर विदेश पठाउनुभएको हो । मलेसिया पुग्दा बुवाआमाको टकटक्याएको थैलो कमाएर भरौंला भन्ने सपना थियो । म्यानपावरका मान्छेले ‘डिस्क ब्रेक’ बनाउने कम्पनीमा हो तिम्रो काम भनेको जस्तो लाग्छ । २२ वर्ष त भएको थिएँ । तर परिपक्वता थिएन । त्यसैले होला विदेश जाने भनियो । तर काम र कमाइको बारेमा कुनै जानकारी थिएन । 

म्यानपावरले भनेजस्तो काम भएन । चार वर्ष बिताएँ मलेसियामा । तर बुवा आमाको टकटक्याएको थैलो भर्न सकिन । काम पनि नराम्रो नराम्रो पर्‍यो । त्यतिबेला गरेको काम मलाई अहिले सम्झन पनि मन लाग्दैन । प्लाष्टिक कम्पनीको काम थियो । 

कहिले कहाँ, कहिले कहाँ लिएर जाने । न कामको ठेगान, न खानको । प्याकिङको काम गरें, मसिन चलाएँ, सामान गाडीमा राख्ने, निकाल्ने काम पनि गरें । काममा दुःख भए पनि पराइ देशमा कसैले सानो सहयोग गरे पनि कस्तो हुन्थ्यो होला भन्ने लाग्ने । सहयोग भनेको केही दिएर हैन । त्यो बेला त बोलीकै सहयोग पनि निकै महत्वपूर्ण हुँदो रहेछ ।

तर, मेरो मन हलुका हुन्छ भनेर अर्काले किन राम्रो गरी बोलिदिन्थ्ये र । गाली गर्ने, तेरो भिसा यस्तो उस्तो भन्ने । त्यो बेला त रुनुभन्दा अरु विकल्प थिएन । किनकी धेरैजसो त म उनीहरुले किन गाली गरे भनेर पनि बुझ्दैन थिएँ ।

महिनाको नौ सय रिंगिटसम्म त आउँथ्यो । तर खै के गर्दा, बच्दैन थियो । चार वर्ष पछि सन् २०१२ मा घर फर्किएँ ।

एक वर्षजति यत्तिकै बसें । घरमा काम गर्ने जस्तो केही भएन । त्यसपछि म फेरि सन् २०१३ मा मलेसिया नै गएँ । मलेसियाको रहनसहन थाहा थियो । पहिले जस्तो नहोला जस्तो लाग्यो । यो पालि पनि म ठगिएँ । राम्रो काम परेन । लेवरकै काम पर्‍यो । त्यो पनि सप्लाई कम्पनीमा । गर्ने काम र ठाउँको ठेगान नहुने ।

तीन वर्ष काम गरें । यो पालि चाहिँ मलाई पहिले जस्तो रित्तो हात फर्कन छुट थिएन । पहिले पो कमाउन सकिन भन्दा पनि भयो, तर यो पालि त आफ्नै लागि कमाउनु थियो । एक हजार रिंगिट थियो, बेसिक तलब । तीन वर्ष बस्दा चार पाँच लाख रुपैयाँ कमाएँ र फर्किए ।

गाउँघरमा विदेशबाट फर्किनेहरुले एउटा बाइक किनेकै थिए । मलाई पनि साथमा पाँच लाख रुपैयाँ हुँदा किनौं किनौं लागेको थियो । तर के गर्नु श्रीमती र छोराछोरीको मुख हेरें, त्यसो गर्न मन लागेन ।

आफूसँग भएको पैसा लगानी गर्ने उपयुक्त ठाउँ खोजें । गाडी चलाउने सीप थियो । यसो सोचें, टेम्पो किन्छु । अलिअलि बैंकबाट ऋण गरेर टेम्पो निकालें । 

टेम्पो चलाउन थालेको पाँच महिना जति भयो । विदेशमा ‘डिस्क ब्रेक’ बनाउन गएको थिएँ । बनाउनु त परको कुरा देख्न पनि पाइएन । अहिले टेम्पोको ब्रेकमा हात राखेदेखि मेरो दैनिकी फेरिएको छ । अझ भनौं टेम्पोको स्टेरिङ समातेसँगै मेरो जीवनले गति लिएको छ ।

अहिले टेम्पो चलाएरै म महिनाको ३० हजार कमाउँछु । यो ३० हजार भन्दा अमूल्य कुरा त परिवारको साथ पाएको छु । उनीहरुको साथमा बसेर कमाएको ३० हजार मेरा लागि विदेशमा लाखौं लाख कमाउनुभन्दा बढी हो ।  

दिनको पाँच सय बैंकको ऋण बुझाउँछु । जति कमाई हुन्छ, त्यसमा घर खर्च कटाएर बैंकमै जम्मा गर्छु । बाइक किनेका भए म एक्लै घुम्थें होला । अहिले कतै जान मन लागेपनि परिवारलाई टेम्पोमा राख्छु र घुमाउँछु । 

टेम्पोबाट कमाएको पैसा थोरै थोरै बचत गरेर बिस्तारै जीप किन्ने सोचेको छु । अब विदेश जान्न । 
 

अन्तिम अपडेट: असोज २, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया