एमाले र माओवादी मिलेपछि कांग्रेसले भ्रमको खेती गर्न थालेको छ: मुख्यमन्त्री पोख्रेल

 भदौ ६, २०७५ बुधबार १७:४१:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अब अस्थिरताबाट देश चल्न नसक्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकारका काममा निरासाको खेती गरेर अस्थिरता ल्याउन खोजेको भन्दै अब त्यस्तो सपना नदेख्न आग्रहसमेत गर्नुभयो ।

विशेष गरी नेपाली कांग्रेसले वर्तमान सरकारले केही गर्न सकेन भनेर जनतामा निराशाको हल्ला फिँजाएर आफू राम्रो बन्न खोजेको आरोप लगाउनुभयो ।

तर सरकार जनताको अधिकार, न्याय र देशको समृद्धिका लागि प्रतिवद्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले नयाँ संरचनामा सरकारले लिन थालेका करका बारेमा अनावश्यक टिप्पणी भएकोसमेत बताउनुभयो ।

प्रेस चौतारी दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सधैंभरी अरुको भरमा मुलुक चल्न नसक्ने भन्दै उहाँले देशको विकासकै लागि राजस्व संकलन अनिवार्य भएको बताउनुभयो ।

एमाले र माओवादी मिलेपछि कांग्रेसले भ्रमको खेती गर्न थालेको उहाँको टिप्पणी छ । पार्टी एकीकरण नहुँदा दुई पार्टीलाई लडाउने भूमिकामा देखिएको र एकीकरण पछि हरेक मुद्धामा समस्या देखाएर सरकारका बारेमा नकारात्मक हल्ला फिजाउन सक्रिय बनेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया