सोलुखुम्बुमा पहिरोले डोजर सहित सहचालक पुर्‍याे

 जेठ १७, २०७५ बिहिबार २०:३४:३७ | सुवास दर्नाल

सोलुखुम्बु, जेठ १७ – सोलुखुम्बुको महाकुलुङमा माथिबाट पहिरो खस्दा डोजरसहित सहचालक पुरिएका छन् । 


महाकुलुङ गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेको बेला माथिबाट खसेको पहिरोले डोजर र सहचालक पुरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो साढे १ बजे एक्कासी माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतम पुरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिनुभयो । डोजर चालक ओखलढुंगाका कमल भुजेल खाना खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आएर डोजरसहित पुरिएको बताइएको छ ।

सहचालकसँगै पुरिएको बा २ क ८०१७ नम्बरको बोबेल कम्पनीको डोजर महाकुलुङ गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिंदै आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सोताङबाट गएको प्रहरी टोलीले उद्धार गरिरहेको छ । उद्धारको कार्य अर्को डोजरको प्रयोग गरी भइरहेको जनाइएको छ । 

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।     
 

अन्तिम अपडेट: चैत २, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया