गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगाइएको ताला खुल्यो

 भदौ ७, २०७५ बिहिबार ७:४१:६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ ।

जिल्लाको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन् ।

विद्युत, पानी, सुरक्षालगायतका विभिन्न ६ बुँदे माग राख्दै उनीहरुले गएको सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दीसहित प्रवेशद्वारमा धर्ना दिँदै आएका थिए । भदौ १५ गते स्थानीय प्रशासन, राजनीतिक दल र सरोकारवालाको बृहत छलफलपछि औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमति भएको थियो । सहमतिपछि तालाबन्दी र धर्नाको कार्यक्रम स्थगित गरिएको उद्योगी जिवछ यादवले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष यादवले सरकारी उपेक्षाका कारण लामो समयदेखि औद्योगिक क्षेत्र लथालिंग अवस्था रहेको बताउँदै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । ‘समस्या समाधानका लागि सामूहिक धारणा तयार गर्न र सामूहिक रुपमै प्रयास गर्नका लागि हामीले सरोकारवालाको छलफल गराउने सहमति गर्यौं,’ उहाँले भन्नुभयो,  ‘उद्योगी व्यवसायीका माग जायज छन, यसको समाधान खोजिनुपर्छ ।’

यता केही उद्योगीहरुले भने समयभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कोसी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले भन्न्ुभयो, ‘गाउँपालिका अध्यक्ष नै चासो राखेर आउपछि आन्दोलन स्थगित गरेका हौं । सहमति अनुसार काम नभए पुनः आन्दोलन गर्छौं ।’

वि.सं. २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो औद्योगिक क्षेत्रमा १० मध्ये ३ वटा सेडमा मात्रै उद्योग सञ्चालनमा छन् । आफ्नै लगानीमा सेड निर्माण गरी कोशी पोलिमर्श उद्योग समेत सञ्चालनमा रहेको छ ।

हाल औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ३ वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को. इलेक्ट्रोड्स, पदमज्योती प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् । औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया