पद्मरत्न तुलाधर : रातो ‘युगधारा’ को युगपात्र

 भदौ ७, २०७५ बिहिबार १२:४:२७ | कुमार रञ्जित
unn.prixa.net

विक्रम सम्बत् २०३७ सालको जनमत संग्रहपछि निरङ्कुश पञ्चायती व्यवस्थामा केही ‘उदारता’ देखिएको वातावरणमा बहुदलीय व्यवस्थाका पक्षमा लेख्ने सयौं साप्ताहिक पत्रिकाहरु प्रकाशन गरिए ।

सीमित ‘उदारता’ को फाइदा उठाउँदै त्यस्ता साप्ताहिक पत्रिकाहरुले ‘प्रतिबन्धित’ शब्द प्रयोग गर्दै विभिन्न राजनीतिक पार्टीहरुलाई नाम र प्राण प्रदान गरे । त्यस क्रममा त्यस्ता सैयौं पत्रिकाहरु पञ्चायती, पूर्जी, पक्राउ, धरपकड, गिरफ्तार साथै प्रतिबन्धको शिकार भए । त्यो समय नेपाली पत्रकारिताको इतिहासमा साप्ताहिक पत्रिकाहरुको समाचार र विचारहरुको युग थियो, त्यसमा ‘युगधारा’ पनि एक थियो ।

‘युगधारा’ नामकै दुईवटा साप्ताहिक पत्रिकाहरु प्रकाशित भएको तत्कालीन समयमा कम्युनिष्ट पक्षीय ‘रातो युगधारा’ रातो विचार प्रवाह गर्ने राता मान्छेहरुको साझा जस्तै थियो । त्यसमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–माओ विचारधारा) का नेता, लेखक तथा अनुवादक कृष्णदास श्रेष्ठ प्रमुख सल्लाहकार हुनुहुन्थ्यो ।

प्रधान सम्पादक हुनुहुन्थ्यो– तात्कालीन नेकपा (मार्क्सवादी) का नेता समेत रहनुभएका हिरण्यलाल श्रेष्ठ, कार्यकारी सम्पादक हुनुहुन्थ्यो– तात्कालीन नेकपा (माले) का नेता समेत रहनुभएका रघु पन्त । 

उहाँहरुका अलावा साहित्यिक सम्पादकमा जगदीशचन्द्र भण्डारी पनि हुनुहुन्थ्यो, उहाँ पनि मालेमाकै नजिक मानिनु हुन्थ्यो । त्यसमा कुनै राजनीतिक दलमा नरहेका, स्वतन्त्र साहित्यिक लेखन गर्दै आएका र ‘नेपालभाषा पत्रिका’ का सम्पादक समेत रहिसकेका पद्मरत्न तुलाधर अतिथि सम्पादक हनुुहुन्थ्यो ।

उहाँ त्यतिबेला नेपाल सम्बतलाई राष्ट्रिय मान्यता प्रदान गराउन थालिएको आन्दोलनको नेतृत्वदायी संस्था नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत हुनुहुन्थ्यो । त्यो समय एकातर्फ सरकारी मुखपत्र ‘गोरखापत्र’ र अर्कोतर्फ विपक्षी राजनीतिक शक्तिहरुको पक्षमा प्रकाशित हुने चर्चित साप्ताहिकहरु ‘मातृभूमि’, ‘जनजागृति’, ‘नयाँ करेन्ट’, ‘युगधारा’, ‘राजधानी’, ‘राष्ट्र पुकार’, ‘विमर्श’ आदी पत्रिकाहरुको चल्ती जमाना थियो ।

सरकार पक्षबाट पनि साप्ताहिक पत्रिकाहरु प्रकाशित नहुने होइन, तर सरकारी दमन व्यहोरेर प्रकाशित गरिएका साप्ताहिकहरुले पाठकका माया पाउँदथ्यो र बजार कब्जा गर्दथ्योे । 

‘निरङ्कुशतालाई बौद्धिकता अपच’ एकसाता ‘रातो युगधारा’ मा यस्तो शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएपछि बजारबाटै सम्पूर्ण पत्रिकाहरु जफत गरिए । प्रहरी र प्रशासनबाट सम्पादकहरुको खोजी भयो । अञ्चलाधीश कार्यालयबाट पक्राउ पूर्जी जारी भयो । पत्र र पक्राउ आतङ्क व्याप्त भयो । 

असन नजिकै न्हाय्कंतलामा भाडामा राखिएको कम्युनिष्ट किसान अगुवा तीर्थमान ज्यापुद्वारा सञ्चालित “स्मृति प्रेस” ठमेलमा उहाँकै घरमा सारिएपछि ‘सम्झना प्रेस’ मा परिणत भैसकेको थियो ।

त्यहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक निरञ्जन गोविन्द वैद्य र उहाँका परिवारद्वारा सञ्चालित गुनिलो प्रकाशनका प्रगतिशील साहित्यका पुस्तकहरु छापिन्थ्यो । जेलमा रहेका मोदनाथ प्रश्रितद्वारा लिखित तात्कालीन समयमा प्रतिबन्धित गरिएका पुस्तकहरु पनि छापिएका थिए । त्यस्ता पुस्तकहरु सबै एउटा गोप्य कोठामा भण्डारण गरिएको थियो । 

प्रतिबन्धित नेपाली कांग्रेसले सत्याग्रहको आह्वान गर्दै देशव्यापी रुपमा आफ्ना कार्यकर्तालाई गिरफ्तारीमा सरिक गराउँदै थियो । विभिन्न धारमा विभाजित कम्युनिष्ट पार्टीहरु पनि ‘कार्यगत एकता’ भन्दै गोलबन्द हुँदै थिए । यस्तोमा फरक–फरक विचारका पार्टी सम्बद्ध नेताहरु एउटै ‘रातो युगधारा’ मा आवद्ध हुनु नै एउटा नौलो प्रयोग जस्तै थियो । गूट र नेता पिच्छेका सञ्चार माध्यम चलिरहेका अहिलेको बेला त्यस्तो ‘कार्यगत एकता’ कल्पना गर्नु मात्रै पनि आश्चर्यपूर्ण कुरा हुन सक्दछ । 

अचानक नारायणहिटी राजदरबार, सिंहदरबारको ग्यालरी बैठक प्रवेशद्वार, अन्नपूर्ण होटलको रिसेप्सन लगायतका स्थानमा एकैपटक गराइएका बम बिष्फोटका घटना र केही निर्दोष व्यक्तिहरुको निधनपछि त सरकारी दमन झनै चर्कियो । ती घटनाहरुको जिम्मेवारी केही दिनपछि जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहले एक वक्तव्यमार्फत् आफैंले लिएको समाचारहरु पनि छापिए । 

रामराजा सिंहका फोटा र वक्तव्यहरु छाप्ने पत्रिकाहरु धेरैजसो प्रतिबन्धित लगायत अन्य विभिन्न प्रकारका कारबाहीमा पारिए । तीमध्ये ‘रातो युगधारा’ पनि पर्दथ्यो । फोटा छाप्ने मात्रै होइन, फोटाका जिङ्क ब्लक बनाउने ‘अमात्य जिङ्क ब्लक’ समेत कारबाहीमा परेको थियो । प्रकाशक र सम्पादकहरु मात्रै होइन, त्यस्ता पत्रिकामा काम गर्ने श्रमजीविहरु समेत प्रताडित हुने गरेका थिए ।

यतिबेला पद्मरत्न तुलाधर ७७ वर्षको सातौं महिनामा हिँडिरहनुभएको छ । उहाँको ‘भिं–जंक्व’ को तयारी हुँदै गर्दा उहाँले सक्रिय पत्रकारिता गर्दाताकाका विभिन्न घटनाहरुको स्मरण गरिनु स्वाभाविकै हो ।

तत्कालीन समयमा “परतु” नामद्वारा ‘रातो युगधारा’ को अन्तिम पृष्ठको स्तम्भमा शब्दहरुमा अभिव्यक्ति दिँदै गर्दा पद्मरत्न तुलाधरले त्यस युगकै प्रतिनिधित्व गर्नुहुन्थ्यो । उहाँ त्यसभन्दा अघि ०३८ मै भएको तात्कालीन राष्ट्रिय पञ्चायत सदस्य पदका जनपक्षीय उम्मेदवारका रुपमा प्रस्तावित भैसक्नुभएको थियो ।

तर त्यतिबेला निर्मल लामाद्वारा नेतृत्व गरिएको नेकपा (चौथो महाधिवेशन) का साथै आफूहरुको मालेमा लगायतका कम्युनिष्ट पार्टीहरुले समर्थन गर्दागर्दै पनि नेकपा (माले) ले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका कारण पद्मरत्न तुलाधरलाई उम्मेदवारी दिनबाट रोकिएको जानकारी उतिबेलै कृष्णदास श्रेष्ठले पटक–पटक सार्वजनिक रुपमा भनिसक्नुभएको कुरा हो । 

राजनीति र पत्रकारिता त्यतिबेला अन्योन्याश्रित जस्तै थियो भन्ने पनि यसबाट स्पष्ट हुन्छ । त्यतिबेलाका बामपन्थी पत्रकारहरु सबैजसो पछि सक्रिय राजनीतिमा आए, कतिपय निर्वाचित नै भएर विभिन्न पदमा पुगेको छर्लङ्गै छ ।

पद्मरत्न तुलाधर पनि राष्ट्रिय पञ्चायतमा जनपक्षीय सांसदका रुपमा ८६ हजारभन्दा बढी मतबाट निर्वाचित हुँदै र बहाल छँदै पनि ‘रातो युगधारा’ को अतिथि सम्पादक रहनुभयो । प्रेस, पत्रकार र राजनीतिको त्रिकोणात्मक सम्बन्ध त्यतिबेला र अहिलेमा प्राविधिक रुपमा केही फरक देखिएपनि सत्ता चरित्र र द्वन्द्वात्मक मानसिकता उस्तै छ भन्ने पत्रकारहरु धेरै भेटिन्छन् । 

सत्याग्रह, बम काण्ड, चेर्नोबिल प्रदूषणयुक्त दूध काण्ड जस्ता चर्चित काण्डहरुका बीच ‘रातो युगधारा’ लगायतका साप्ताहिक पत्रिकाहरुले नेपाली नागरिकलाई विश्लेषण सहित सुसूचित गरि नै रह्यो, नयाँ–नयाँ नेताहरु जन्माई नै रह्यो ।

पद्मरत्न तुलाधर लगायत त्यतिबेलाको पुस्ताले पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रका लागि गरेको संघर्षपूर्ण पत्रकारिता पढेर हुर्केकाहरु आज थुप्रै वरिष्ठ पत्रकार बनेका छन्, पत्रकार संघ हुँदै महासंघका अध्यक्षका साथै विभिन्न पदाधिकारी बनेका छन् । 

प्रेस काउन्सिल लगायत विभिन्न सरकारी सञ्चार माध्यममा नियुक्ति पाएका छन् । यति हुँदाहुँदै पनि वर्तमानमा साप्ताहिक पत्रिकाहरुको भूमिका त्यस्तो रहेन । धेरैजसो बन्द भैसके पनि केही साप्ताहिकहरु अहिलेसम्म निरन्तर प्रकाशित भई नै रहेका छन् ।

पछाडिका ३० वर्षमा भएका संघर्ष र उपलब्धिका कथाहरु मात्रै थुप्रिन आएका छन् । जसरी पद्मरत्न तुलाधर रातो युगधारा युगको ‘युगपात्र’ बन्नुभएको छ, त्यसैगरी त्यतिबेलाका अगुवा पत्रकारहरु पनि ‘युगपात्र’ बन्नुभएको छ । 
 

अन्तिम अपडेट: कात्तिक २८, २०७५

कुमार रञ्जित

तपाईको प्रतिक्रिया