गाडी दुर्घटनाको डरलाग्दो तथ्यांक, ५ वर्षमा झण्डै ४७ हजार दुर्घटना

दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु

 जेठ १८, २०७५ शुक्रबार ८:१६:२० | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं, जेठ १७ – २०७४ साल कात्तिक ११ गते धादिङको गजुरी गाउँपालिका घाटबेँसीबाट त्रिशूली नदीमा बस खस्दा ३१ जनाको ज्यान गयो । धेरै घाइते भए । ज्यान जानेमा दुर्घटनामा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का एकै परिवारका ६ जना पनि थिए । केहीले पौडिएर ज्यान जोगाए । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको रात्री बस नदीमा खस्दा निदाइएरहेका यात्रुले के भयो भन्नेसम्म थाहा पाउन सकेनन् ।

गएको मंगलबार मात्रै डडेल्धुरामा भएको जीप दुर्घटनामा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरासहित चार जनाले ज्यान गुमाउन पर्‍याे । 

दिनहुँजसो हुने दुर्घटनाबाट धेरैले अकालमै ज्यान गुमाइरहनुपरेको छ । कयौँ अंगभंग हुनुपरेको छ भने कैयौँको जीवन कष्टपूर्ण बनेको छ । असुरक्षाका कारण यात्राका क्रममा कुन बेला दुर्घटनामा परिएला कि भन्ने चिसो मनमा बोकेर हिँड्न यात्रुहरु बाध्य हुनुपरेको छ ।

५ वर्षमा ४६ हजार ७ सय सवारी दुर्घटना

आर्थिक वर्ष ०७०/०७१ देखि चालु आर्थिक वर्ष ०७४/०७५ सम्मको यो पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी साधन दुर्घटनामा परेका छन्  । जसमा आधा भन्दा धेरै मोटरसाइकल रहेको प्रहरीको तथ्यांक छ ।   

यस्तै यो अवधिमा दुर्घटनामा पर्ने कार, जीप, भ्यानको संख्या झण्डै २१ हजार छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि ०७३/०७४ सम्मको तीन वर्षे अवधिमा ५ हजार ९ सय यात्रुबस तथा ५ हजार ८ सय ट्रक र ट्याङ्कर दुर्घटनामा परेका छन् ।  ठूलाभन्दा साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ । तर ठूला सवारीसाधन दुर्घटना हुँदा धेरै मानवीय क्षती हुने गरेको छ ।

दुर्घटनामा दैनिक ६ जनाले गुमाउँछन् ज्यान 

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटना देखाएको छ । बर्सेनि नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ ।  यस्तै, नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७०/०७१ देखि चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ हजार ७ सय सवारीसाधन दुर्घटना हुँदा १० हजार २ सय ७८ जनाले ज्यान गुमाएका छन् । जसबाट १९ हजार ४ सय ६० जना गम्भीर घाइते भए भने ३९ हजार २ सय जना सामान्य घाइते हुन पुगे । गम्भीर घाइते भएका कतिपय यात्रु अपाङ्ग हुनुपरेको छ ।

सवारी दुर्घटनामा आर्थिक वर्ष ०७०/०७१ मा १७ सय ८७ जनाको ज्यान जाँदा चालु आर्थिक वर्षको वैशाखसम्ममा २ हजार ९७ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा २ हजार ४, ०७२/०७३ मा २ हजार ६ र ०७३/०७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।

चालकको लापरबाही

नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले बताउनुभयो । गएका पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी दुर्घटना भएकोमा ३४ हजार ५ सय दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिन्छ । योे अवधिमा चालकको लापरवाहीबाट ७१ प्रतिशत दुर्घटना भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सवारीसाधनको दुर्घटनाको दोस्रो कारकको रुपमा तीव्र गति देखिएको छ । पाँच वर्षको अवधिमा भएको दुर्घटनामा झण्डै १३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यात्रुको गल्ती ३ प्रतिशत, ओभरटेक २ प्रतिशत, यान्त्रिक गडबडी ३ प्रतिशत, मदिरापान सेवन गरेर सवारी चलाउँदा ३ प्रतिशत र अन्य कारण २ प्रतिशत रहको छ ।

नेपालको भौगोलिक अवस्था, कमजोर सडक निति, चालकको लापरबाही नै सडक दुर्घटनाको मुख्य कारण रहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

खोई कारबाही ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन ।

चालकहरुले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । ट्राफिक प्रहरी भने चालकलाई चेतना जगाउने काममा व्यस्त छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री चालक र यात्रु दुइटै नियमभित्र नबस्दा दुर्घटना हुने गरेको बताउनुहुन्छ । 

चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुने बताउनुहुन्छ क्षेत्री ।

अहिले पनि वार्षिक रुपमा झण्डै १६ लाख सवारी साधन र चालक विभिन्न कारवाहीमा पर्ने गरेका छन् । मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, तीव्र गतिलगायतमा ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । तर कारबाहीको स्वरुप खुकुलो हुँदा दुर्घटनाको दर नघटेको बताउँदै प्रवक्ता क्षेत्रीले अब कारबाही वापतको जरीवाना बढाउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

न्यूनिकरण गर्न के गर्नु पर्छ ?

सडक दुर्घटना हुने प्रमुख कारणमा सडक, सवारीसाधन र चालकको अवस्था मुख्य हुन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावर र यात्रुपनि पर्छन् । त्यसैकारण दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर पुग्दैन ।

सरकार, निजी क्षेत्र तथा आम नागरिकको साथ र सहयोग उत्तिकै आवश्यक पर्ने नेपाल प्रहरीका प्रवक्ता क्षेत्रीको भनाई छ । यी तीन पक्षको अवस्था खराब रहेकैले दुर्घटना कम होइन बढीरहेका  छन् ।

१) सडकको अवस्था : विकसित देशका सडक गुणस्तरीय छन् । जापान, चीन, अमेरिकालगायत देशले सडक निर्माणमा ठूलो लगानी गरेका छन् र त्यहाँका सडक उच्चस्तरीय छन् । सडक देश विकासको प्रमुख शर्त हो । विकास र समृद्धिका कुरा गर्ने सरकारले अब सडक सुधार र विस्तारमा ध्यान दिनु जरुरी छ ।

देश विकासको मेरुदण्ड सडक नै हो । सडक सुधार हुन सक्यो भने दुर्घटना पनि कम हुँदै जाने यो क्षेत्रका जानकारको भनाई छ  । अहिलेसम्म बनेका सम्पूर्ण सडकको वर्गीकरण गरी नयाँ ढँगले सडक निर्माण र स्तरोन्नति गर्नु जरुरी छ ।

२) सवारीसाधनको अवस्था : दुर्घटनाका लागि पुराना तथा थोत्रा गाडी पनि मुख्य जिम्मेवार रहेको तथ्यांकले देखाउँछ । सवारीसाधनको सर्भिसिङ नगर्ने, धेरै लोड बोक्ने लगायत कारणले सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ ।

अझ ग्रामीण भेगमा चल्ने सवारीसाधनको अवस्था झनै खराब छ । एकातिर बाटो अप्ठ्यारो र गुणस्तरहीन छ अर्कातिर भार धेरै बोक्नुपर्छ त्यसैमाथि गाडी पुराना छन्, दुर्घटना बढ्न यी कारणको भूमिका धेरै रहन्छ । 
सवारीसाधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना भएका उदाहरण पनि छन् । समय–समयमा अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका सवारीसाधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने दुर्घटना कम गर्न सकिन्छ ।  

३) चालकको अवस्था : नेपालमा धेरै ठाउँबाट रात्रिकालीन बस चल्छन् । लामो दुरीका धेरै गाडीपनि एकजना मात्र चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । जसले दुर्घटनाको दर उच्च बनाउँछ । एक जनाले मात्रै १२/१३ घण्टासम्म लगातार चलाउनुपर्दा धेरै जसो दुर्घटना हुने गरेको पाइएको प्रहरी प्रवक्ता क्षेत्री बताउनुहुन्छ ।

सम्बन्धित निकाय सडकको सुरक्षामा संवेदनशिल हुन सकेको छैन । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, जाँडरक्सी खाने, तिव्र गतिमा चलाउने, ओभरटेक गर्ने आदि कारणले चालकको ध्यान सवारीसाधनमा नभई अन्यत्र मोडिने हुँदा सडक दुर्घटना बढ्ने गर्छ । त्यस्तै क्षमताभन्दा बढी भार बोक्नुले पनि जोखिम बढाइरहेको छ । 

सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सके पनि सडक दुर्घटना उल्लेख्य सुधार हुन सक्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया