कर्णाली राजमार्गमा सडक भासियो

 जेठ १८, २०७५ शुक्रबार ९:१९:३४ | उज्यालो सहकर्मी

 जेठ १८ – कर्णाली राजमार्गमा पहिरोका कारण सडक नै भासिएको छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभ गाउँपालिका १ मा रहेको गगने खोला नजिकै पहिरो खसेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण १५–२० मिटर सडक भासिएको छ ।

सडक माथिबाट ठूलो ढुंगा खसेको छ । ढुंगालाई डोजरले पनि हटाउन नसकेकाले विस्फोट नै गराउनु पर्ने भएको उहाँले बताउनुभयो । यो ढुंगा हटाउन समय लाग्ने र सडक पनि भासिएकाले तत्काल यो सडकखण्डमा गाडी चल्ने सम्भवना नरहेको प्रहरी निरीक्षक चौलागाईंले बताउनुभयो । यो सडकखण्डमा वैकल्पिक ट्रयाक खोल्न पनि नसकिने हुँदा यात्रु समस्यामा परेका छन् । पहिरो गएको ठाउँ कालिकोटको सदरमुकाम मान्मादेखि १४ किलोमिटरको दूरीमा पर्दछ । जुम्ला, मुगु, कालिकोटलगायत जिल्ला जोड्ने मुख्य सडकखण्डमा ठूलो पहिरो खस्दा बाटो खुलाउनै समस्या भएको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया