प्रहरी कार्यालयमा पालिएको बँदेल रातारात वन कार्यालयलाई बुझाइयो

 भदौ ८, २०७५ शुक्रबार १७:९:१४ | गोपाल भण्डारी

कपिलवस्तु – सरकारले घरमा पाल्न पूर्ण प्रतिवन्ध लगाएको बँदेल जिल्ला प्रहरी कार्यालय भित्र पालिँदै आएको खबर संचारकर्मीहरुले थाहा पाए पछि त्यो बँदेललाई प्रहरीले रातारात जिल्ला वन कार्यालयलाई बुझाएको छ ।

प्रहरी उपरीक्षक मनोज कुमार यादवले गैरकानुनी ढंगबाट बँदेललाई जिल्ला प्रहरी कार्यालय भित्र पाल्दै आउनु भएको थियो । 

प्रहरी कार्यालय भित्रै जंगली जनावरलाई अवैधानिक ढंगबाट पालिएको खबर बुझ्न सञ्चारकर्मीहरुले प्रहरी उपरीक्षक मनोज यादवसँग टेलिफोन सम्पर्क गरेका थिए । यस लगत्तै सञ्चारकर्मीहरुले सञ्चारमाध्यममा समाचार प्रसारण गरी दिने डरका कारण रातारात प्रहरी उपरीक्षक यादवले बँदेललाई जिल्ला वन कार्यालयमा बुझाउनु भएको हो । प्रहरी नायव उपरीक्षक रवि रावल, मुद्धा फाँटका नायव प्रहरी निरीक्षक गोपाल श्रेष्ठ लगायतको प्रहरी टोलीले राति झण्डै पौने १० बजे डिभिजन वन कार्यालय तौलिहवालाई बँदेल बुझाउनु भएको थियो । 

रातिको समयमा हतारहतार गर्दै प्रहरीले बंदेल बुझाउन ल्याउँदा यसको पछाडि कुनै कारण रहेको हुन सक्ने आफूहरुले अनुमान गरेको डिभिजन वन कार्यालय कपिलवस्तुका एक अधिकृतले बताउनुभयो । 

यसरी वन कार्यालयलाई बुझाइएको बँदेल प्रहरी र वन कर्मचारीको रोहवरमा तिलौराकोट साझेदारी वन क्षेत्रमा छोडिएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया