दुवईमा सुरु एनआरएनको मध्यपूर्व सम्मेलनमा नेपाली श्रमिकका समस्यामा छलफल हुँदै

 भदौ ८, २०७५ शुक्रबार १७:२८:३४ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैटौं क्षेत्रीय सम्मेलन शुक्रबार दुवईमा सुरु भएको छ । मध्यपूर्वमा रहेका १२ देशका राष्ट्रिय समन्वय कमिटी (एनसीसी) तथा अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) तथा नेपाल सरकारका प्रतिनिधिको उपस्थितीमा सुरु भएको भेलामा मध्यपूर्वमा रहेका नेपाली कामदारका विभिन्न समस्याका विषयमा छलफल भइरहेको छ । 

कामदारका समस्या, समाधानका उपाय तथा रोजगारीमा रहेका नेपालीको अवस्थाबारे आयोजकको कार्यपत्र तथा सहभागीले उठाएका विषयमा सरकारी प्रतिनिधिबाट सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा बोल्दै खानेपानी मन्त्री बीना मगरले विदेशमा रहेका सबै नेपालीलाई समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गराउन सरकार लागि परेको बताउनु भयो । 

श्रम मन्त्रालय तथा सम्बन्धित निकायले ऐन तथा नीति नियम बनाउने काम गरिरहेको बताउँदै मन्त्री मगरले श्रम सम्झौता नभएका मुलुकसँग सम्झौता गरेर भएपनि कामदारलाई सुरक्षित बनाउने बताउनुभयो । बिदेशमा कार्यरत नेपालीले कमाएको सीप, आम्दानी र लगानीलाई सरकारले अवसरको रुपमा प्रयोग गर्न चाहेको र त्यसको सुरक्षा सरकारले प्रदान गर्ने मन्त्री मगरले उल्लेख गर्नुभयो । 

देशमा १० वर्षे जनयुद्धका बेला समेत अर्थतन्त्र रेमिट्यान्सले थेगेको बताउँदै पूर्व श्रममन्त्री रमेश लेखकले रेमिट्यान्सको प्रयोग अनुत्पादक क्षेत्रमा भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । १२ वर्ष अघि श्रममन्त्री हुँदा सुरु गरेका केही प्रयासले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न सहयोग गरेको भएपनि जटिलता धेरै भएकाले थप प्रयास आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने, अध्यक्ष भवन भट्ट लगायतले सम्बोधन गर्नुभएको थियो । शनिबारसम्म चल्ने सम्मेलनले यसअघि जारी गरिएका घोषणापत्रबारे अध्ययन गरेर दुवई घोषणा पत्र तथा एनआरएनले प्रकाशन गरेको स्मारिका जारी गर्ने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया