पुल बनाउनु पर्ने ठेकेदार तुइन बनाएर बेपत्ता

 भदौ ८, २०७५ शुक्रबार १७:४५:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा – पृथ्वीराजमार्ग अन्तर्गत चितवनको कुरिनटार बजारपारी गोरखातर्फ ठेउवाटार नामको गाऊँ छ । त्रिशुली किनारको फाँटमा फैलिएको यो बस्तीमा करिब १ सय २० घरधुरीको बसोबास छ ।

गोरखाको शहिद लखन गाउँपालिका ४ मा पर्ने ठेउवाटारका बासिन्दाको किनमेलको मुख्य बजार चितवनको कुरिनटार हो । वर्षौं अघिदेखि त्यहाँका बासिन्दा दैनिक उपभोग्य सामान किन्न अथवा आफूले उत्पादन गरेको सामान बेच्न त्रिशुली तरेर कुरिनटार पुग्छन् । 

२०३२ सालभन्दा अघि काठ खोपेर बनाइएको ढुंगा चढेर नदी वारपार गर्ने त्यहाँका बासिन्दाको सुविधाका लागि त्यसै वर्ष घिरिङ बनाइयो । मोटो फलामे लट्ठामा जोडिएको घिर्नी र घिर्नीमै फलामे तार जोडेर बनाइएको काठे बाकसमा बसेर आउजाउ गर्न मिल्ने घिरिङ बनेपछि ठेउवाटारबासीलाई केही सहज भयो । 

डुंगाभन्दा सस्तो र सजिलो ठानिएको घिरिङबाट खसेर वर्षैपिच्छे मान्छेहरु घाइते हुने र ज्यानैसमेत जाने अवस्था आएपनि उनीहरुले ज्यानमारा घिरिङलाई त्याग्न सकेनन्, कारण पारी तर्न अरु उपाय थिएन । 

एउटा मात्रै लठ्ठाको भरमा वारपार गर्नुपर्ने घिरिङलाई विस्थापित गर्दै त्यसै ठाउँमा २०६० सालमा तारपुल बन्यो । तीनवटा लठ्ठामा छुट्टाछुट्टै घिर्निमार्फत अड्याइएको बस्ने ठाउँबाट नदी वारपार गर्दा अलि सुरक्षित हुने स्थानीयलाई विश्वास थियो । तर तारपुल चालु भएको अलिक समयपछि नै केही मान्छे त्रिशुलीमा खसेर बेपत्ता भए भने कैयौं घाइते भए ।

जोखिम उठाएरै भए पनि तारपुलबाट नदी वारपार गरिरहेका ठेउवाटारबासीलाई लक्षित गरी राजमार्गको लेवाटार जोड्ने गरी झोलुङ्गे पुल बन्यो । तर गाउँको पल्लो छेऊमा बनाइएको झोलुङ्गे पुल स्थानीयलाई पायक परेन । 

उनीहरु तारपुलबाटै आउजाउ गर्न बाध्य भए । केही भने एकघण्टाभन्दा बढी समय लाग्ने भए पनि झोलुङ्गे पुलबाटै यात्रा गर्थे । 

यसैबीच तारपुल बिग्रियो, सामान झिकेर थन्क्याइयो, अब एक घण्टा घुमेरै भएपनि उनीहरु झोलुङ्गे पुलबाटै त्रिशुली नदी वारपार गर्न थाले । २०७२ सालमा हालका प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको सरकारले देशभरका तुइन अर्थात तारपुल विस्थापन गर्ने घोषणा गर्‍यो । 

देशभरका ज्यानमारा तुइन विस्थापित गरि सबै ठाउँमा झोलुङ्गे पुल बनाउने नीति अनुसार कुरिनटार र ठेउवाटार जोड्ने गरी १ सय ६५ मिटर लामो झोलुङगे पुल निर्माण हुने भयो । 

सरकारले नयाँबाटो मना कन्स्ट्रक्सन जेभीलाई १ करोड ३६ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का दियो । २०७३ सालको मंसीरमा ठेक्का पाएको कम्पनीले २०७४ असोज १५ सम्ममा पुल निर्माणको काम सक्नुपथ्र्यो । 

तर ठेक्काको म्याद सकिएको एक वर्ष भैसक्दा पुल निर्माणको काम अघि बढ्न सकेन । उल्टै पुल बनाउनु पर्ने ठेकेदार थन्किएको तारपुल मर्मत गरि चालु गराएर बेपत्ता भए ।

‘बनाउनु पर्ने झोलुङ्गे पुल थियो, तर बन्यो तारपुल’ स्थानीय रणबहादुर रानामगर भन्नुहुन्छ, ‘एक वर्षमा पुल बनिहाल्छ भनेर हामीले त तारपुल बिर्सिसकेका थियौं ।’ 

बिग्रेर थन्केको तारपुल चालु त भयो, तर त्यही तारपुल स्थानीय बासिन्दालाई निल्नु न ओकल्नु भएको छ । ‘एक घण्टा घुमेर झोलुङ्गे पुल तर्नुभन्दा त बरु यही तारपुल ठीक भन्ठान्नेहरु धेरै छन्,’ उहाँको भनाई छ । 

ठेउवाटारका २१ जना बालबालिका  चितवन कुरिनटारको सर्वशान्ति विद्यालयमा पढ्न आउँछन् । अरु बेला त घुमेरै भएपनि गाउँभन्दा निकै तल बनेको झोलुङ्गे पुलबाट आउजाउ, गरे पनि ढिलो भएका बेला भने उनीहरु पनि तारपुलनै प्रयोग गर्छन् । 

६ कक्षामा पढ्ने बहिनी ममतालाई समेत तारपुलमा राखेर लट्ठा तान्दै त्रिशुली तरेका ७ कक्षामा पढ्ने नारायण प्रजा वारी आइपुग्दा असिनपसिन हुनुभएको थियो । ‘धेरै बल चाहिन्छ, बिहान भर्खरै भात खाएको हुनाले गाह्रो हुँदैन, स्कुलबाट फर्किँदा भोक लागेको हुन्छ, डोरी तान्नै सकिन्नँ ।’ नारायणले भन्नुभयो । 

तारपुलबाट यात्रा गर्दा जोखिम पनि उत्तिकै छ । कहिले काहीँ घिस्रिरहेको घिर्नी लट्ठामै अडिने र असन्तुलित भै हल्लिँदा नदिमै खस्ने डर पनि हुन्छ । पुल सपना देखाएर ठेकेदार सम्पर्कविहीन भएको र फेरि तारपुलमै फर्किनु पर्दा स्थानीय भक्तबहादुर लम्साललाई दिक्क लागेको छ ।

‘म्याद सकिएको एक वर्ष नाघिसक्यो, फाउण्डेशनको काम समेत पूरा नगरी ठेकेदार हिँड्यो’ उहाँले भन्नुभयो, ‘हामीले सकेको सहयोग गरेकै थियौं, ठेकेदार भागेपछि मजदुरको ज्याला समेत हामीले नै तिरिदिनुपर्‍यो ।’ 

पुल किन बनेन भनेर स्थानीय बासिन्दाले आफूलाई दैनिक जसो चासो राख्ने गरेको निर्माण समितिका अध्यक्ष रविन लम्सालले बताउनुभयो । 

‘मसँग पनि उहाँहरुलाई दिने जवाफ छैन’ उहाँ भन्नुहुन्छ, ‘ठेकेदारलाई फोन गर्‍यो मरिगए उठाउँदैनन् ।’ स्थानीय बासिन्दा अब त्यस ठेकेदारबाट रोकिएको पुल निर्माणको काम सम्पन्न हुन नसक्ने बताउँछन् ।

उपभोक्ता समितिमै रहेका कुरिनटारका नैनबहादुर गुरुङले भन्नुभयो, ‘त्रिशुलीकै बेनीघाट र चरौंदीको पुल पनि यस्तै अलपत्र छ ।’ 

धेरै ठाउँमा ठेक्का लिएर अपूरो छोडेका नयाँबाटो मना जेभीका ठेकेदार महेन्द्र अधिकारीले काम अलपत्र छाड्ने र म्याद थपका लागि राजनीतिक दबाब दिने गरेको स्थानीयको दावी छ । 

पुल ठेक्का लगाएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले भने ठेकेदारलाई कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । 

नाम बताउन नचाहने एक प्राविधिक अधिकृतले भन्नुभयो, ‘म्याद थपका लागि दबाब दिनुभएको थियो, हामी कारबाहीको प्रक्रियामा अघि बढिसक्यौं, त्यो टुंगिएपछि पुल निर्माणको नयाँ प्रक्रिया थाल्छौं ।’ 

ठेउवाटारका बासिन्दाको माग पनि त्यही छ, ‘समयमा काम नसक्ने भनेको ठेकेदारलाई कारबाही गर्नैपर्छ तर तुरुन्त नयाँ ठेकेदार लगाएर भएपनि पुल निर्माण चाँडो सक्नुपर्छ ।’ ठेउवाटारका ज्येष्ठ नागरिक रणबहादुर रानामगरले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया