निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति कञ्चनपुर आइपुग्यो, आजबाटै छलफल सुरु

 भदौ ८, २०७५ शुक्रबार १८:४:२४ | दुर्गा उपाध्याय

कञ्चनपुर – निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समिति शुक्रबार कञ्चनपुर आइपुगेको छ । गृह मन्त्रालयका वरिष्ठ सह सचिव हरिप्रसाद मैनालीको नेतृत्वको ५ सदस्यीय टोली शुक्रबार महेन्द्रनगर आइपुगेको हो । 

महेन्द्रनगर आइपुगेलगत्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक मैनालीले यसअघि भएका अनुसन्धानको कमजोरी औँल्याएर घटनाको सुक्ष्म रुपमा अध्ययन गर्ने बताउनुभएको छ । उहाँले यसअघि भएको अनुसन्धानको छानबिन गरी सबै सुझाव अनुसार थप अनुसन्धान गरिने बताउनुभएको हो । 

‘हामीले घटनाको बारेमा बुझ्न र छानबिन गर्न पाँच दिन जति लाग्छ’, छानबिन समितिका संयोजक मैनालीले भन्नुभयो, ‘त्यसपछि आम नागरिकाको कुरा सुनेर त्यसैअनुसार अनुसन्धानलाई अगाडि बढाउछौ ।’ 

उहाँले छानबिन तथा अनुसन्धानका लागि कसरी अगाडि जाने भन्ने टुङ्गो नलागेको बताउँदै जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पीडित पक्षसँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो । 

‘हामी महेन्द्रनगर पुगेको केही घण्टा मात्रै भएको छ । घटनाका बारेमा सुरक्षा निकाय र सीडीओसाबसँग बुझ्दैछौँ’, मैनालीले भन्नुभयो, ‘आज सबै पक्षसँग छलफल गरेर भोलिबाट काम थाल्छाैँ ।’

अबको अनुसन्धान शून्यबाट हुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै मैनालीले यसअघिको अनुसन्धान पनि सरकारकै आधिकारिक निकायले गरेकाले शून्यबाट नभै भएको अनुसन्धानको कमी–कमजोरीलाई सच्याएर सबैको सुझाव अनुसार काम गरिने बताउनुभयो । 

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्या प्रकरणमा भएको अनुसन्धानको अध्ययन गर्ने र आवश्यक परे सुरुबाटै अनुसन्धान थालिने बताउनुभयो । 

शुक्रबार प्रहरी  प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका कडायतले अध्ययन नै नगरी घटनाको वास्तविकता थाहा नहुने भन्दै पहिले पुरानो फाइल अध्ययन गर्ने र आवश्यक परे सुरुबाटै अनुसन्धान अगाडि बढाउने बताउनुभएको हो । 

घटनाको छानबिनका लागि उच्चस्तरिय टोली महेन्द्रनगर पुगिसकेको भन्दै उहाँले  वातावरण तयार गरेपछि मात्रै अनुसन्धानलाई अगाढी बढाउन सहज हुने बताउनुभयो । 

निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीलाई कारबाहीको लागि माग गर्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि हिंसा भड्किएको थियो । 

शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले दमन गरेपछि स्थानीयले सीडीओ र प्रहरी प्रमुखको सरुवाको माग गरेका थिए । स्थनीयको चर्को विरोधका बीच गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई सरुवा गरेसँग प्रमुख जिल्ला अधिकारीमा तारानाथ अधिकारी, प्रहरी प्रमुखमा कुबेर कडायत र डिएसपीमा कृष्णराज ओझाले जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया