लमहीका बाढी पीडितहरुलाई लमही नगरपालिकाले बनाइदियाे २२ वटा पक्की घर

 भदौ ८, २०७५ शुक्रबार २०:२८:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लमही नगरपालिका–९, अमेलियाका बाढीपीडितलाई लमही नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको छ । 

२०७४ साउन २७ गतेको बाढीले लमही ९ अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्किएपछि स्थानीय तहले बाढीपिडित बस्तीको पुनर्निर्माण अभियान सञ्चालन गरेको थियो । 

एक वर्षपछि नयाँ घर पाउँदा अमेलियाका बाढीपिडितहरु खुसी भएका छन् । बाढीको कारण घरविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँघरमा पुनस्र्थापित हुनुभएको छ । 

लमही–९ मैनेका मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुसी हुनुभयो । स्थानीय सरकारले हामीलाई सहयोग गरेको छ । ‘पीडामा मलम बनेको छ खुसी छौ । काठको लागि सहयोग भए राम्रो हुनेथियो’, डाँगीले भन्नुभयो । 

लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि पुनकला र मोहनसहितका २२ घर परिवार पुनस्र्थापित भएका हुन् । 

‘बाढी घरभित्रै पस्दा मुस्किलले बाँचेका थियौं, यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ,’ पुनकलाले भन्नुभयो । लमही नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रति परिवार घर निर्माणका लागि दुई लाख सहयोग गरेको थियोे ।

नगरपालिकाको सहयोग र स्थानीयको सक्रियतामा भान्छा र शौचालयसहितको नयाँ घर निर्माण गरिएको हो । बाढीपीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमिनमा बसोबासको व्यवस्था गरिएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे ।

आवश्यक काठ व्यवस्था गर्न सामुदायिक वनलाई अनुरोध गर्ने र बाढीपीडितलाई सबै सुविधा सहितको पक्की घर निर्माण गरिने केसीले बताउनुभयो । 

लमही–९, का मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र बाङ्गेतालमा नौ वटा पक्की घर निर्माण गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया