निर्मला हत्या प्रकरण : साथी रोशनी र उनकी दिदी बबिता पक्राउ

 भदौ ९, २०७५ शनिबार १३:५:१६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको छानबिनको क्रममा शंकाको घेरामा रहेका दुई दिदी बहिनी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निर्मलाकी साथी १८ वर्षीया रोशनी बम र उनकी दिदी बबिता बम छन् ।

रोशनी र उनको परिवार किन छ शंकाको घेरामा ?

गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएकी निर्मलाको ११ गते बलात्कार गरी हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । स्थानीयले तत्काल घटनामा संलग्न दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए भने स्थानीयको अवरोधका कारण तीन दिनसम्म बालिकाको अत्येष्टि समेत हुन सकेको थिएन । 

साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला घर नफर्किएपछि सबैको ध्यान रोशनीको परिवारमाथि गएको छ । 

निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म नफर्किएपछि छोरी खोज्न रोशनीको घरमा जानुभएको थियो । छोरीको बारेमा रोशनीसँग साथीसँग सोधखोज गर्दा उनकी दिदीले आफूलाई हकारेको दुर्गाको भनाई छ । 

‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छौँ’ दुर्गाले भन्नुभयो ‘कतै पोइला गई कि ? आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’

छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उहाँले बताउनुभयो । 

‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भन्नुभयो, ‘भित्र हेर्न त मन थियो तर  बबिताले हकारेपछि त्यसै फर्किएँ ।’ फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उहाँ फेरि छिमेकीसँग रोशनीको घर पुग्नुभयो । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उहाँले रोशनीको घरमा निर्मला भएरनभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा गुहार माग्न गएको बताउनुभयो । 

‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उहाँले भन्नुभयो, ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् । 

उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी (साथी) र बबिता (साथीकी दिदी) घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।

निर्मलाको घटनाको प्रकृति र रोशनी (साथी) र बबिता (साथीकी दिदी) को प्रतिक्रिया पछि परिवार तथा स्थानीय बासिन्दाले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने माग गर्दै आएका थिए ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • भिम हमाल ठकुरी

    Aug. 25, 2018, 2:58 p.m.

    यो कर्तुत तिनै दिदीबहिनी र एसएसपीको छोराको हुनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया