मलेसियामा साथीको शवसँग ७ घण्टा

 भदौ ९, २०७५ शनिवार १५:१२:२७

समिताकुमारी तामाङ/धनुषा

धनुषा – गएको फेब्रुअरीको पहिलो हप्ता प्रमोद यादव निक्कै उदास हुनुहुन्थ्यो । प्रमोदको त्यस्तो अवस्था सँगै बस्ने रमेश यादवले ख्याल गरिरहनुभएको थियो । कम्पनीमा काम गर्ने २२ जना सँगै बस्थे । तर प्रमोदका बारेमा रमेशलाई बढी वास्ता थियो । कारण उहाँहरु दुवै जना एउटै गाउँका ।

प्रमोदले त्यो दिन आफूहरुले भनेको काम र तलब नपाएको भन्दै एजेण्टलाई फोन गर्नुभएको थियो । ‘मेरो परिवार छ, बालबच्चा छन् यस्तो काम र यस्तो तलबले कसरी हुन्छ भन्दै थिए एजेण्टसँग’ रमेश भन्नुहुन्छ । 

एक त काम फरक परेको थियो, अनि अर्को खान पुग्ने गरी पनि तलब पाउनुभएको थिएन प्रमोदले । प्रमोदले एजेण्टलाई भनेका कुरा सुनेका रमेशले एजेण्टले के भन्यो भन्ने चाहिँ सुन्नुभएन । 

तनावमा रहेका प्रमोद त्यो दिन काममा जानुभएन । रमेश र साथीहरु त्यो दिनको ड्युटी सकेर फर्किंदा पनि प्रमोद सुतिइरहनुभएको थियो । रमेशसँगै साथीहरुले उहाँलाई खाना खान बोलाए, तर उठ्नुभएन । ‘धेरै कर गर्दा पनि हामीले उनलाई खाना खुवाउन सकेनौं’ रमेश भन्नुभयो ।

राती १२ बजेतिर प्रमोद घररररररर आवाज निकालेर ओछ्यान नै हल्लिने गरि काम्न थाल्नुभयो । प्रमोदले निकालेको आवाजले सुतिरहेका सबै ब्युँझिए । कसैले खाट हल्लाए अनि कसैले प्रमोदलाई नै समाएर हल्लाउँदै के भयो ? भनेर सोधे ।

तर प्रमोदले साथीहरुलाई यसो भयो भन्नै पाउनुभएन । उहाँको सास गइसकेको थियो । रमेश र साथीहरुले कम्पनीमा प्रमोदको ज्यान गएको खबर गरे । तर कम्पनीले चासो दिएन । त्यो रात कोठामा भएका कोही निदाउन सकेनन् । बिहान ऋण र परिवारका बारेमा चिन्ता गरेका, तर १२ घण्टा नबित्दै सधैंका लागि बिदा भएका प्रमोदलाई हेरिरहे । 

बिहान ७ बजेतिर आएको प्रहरीले शव उठायो । मध्यरातदेखि बिहानको ७ बज्दासम्म रमेशले सँगै गएको साथी प्रमोदको शवसँग ७ घण्टा बिताउनुभयो । अहिले पनि रमेशले त्यो दिन बिर्सिन सक्नुभएको छैन । 

सँगै गएका इनरजितको अवस्था पनि उस्तै छ । ‘मेरो ओछ्यान प्रमोदको नजिकै थियो । त्यसपछिका हरेक रात म र साथीहरु निदाउन सकेनौं’ इनरजित भन्नुहुन्छ ‘ हामी सबै सुत्यौं भने हामी पनि प्रमोद जस्तै छटपटाउदै मर्ने पो हौं कि भन्ने डर थियो ।’

त्यो कम्पनीमा काम गरेर सँगै बस्ने २२ जनामध्ये ८ जना मात्रै वैधानिक थिए । बाँकी १४ जना अवैधानिक । त्यसैले प्रमोदको शव लिन प्रहरी आउने भएपछि उनीहरु राती नै त्यहाँबाट भागे ।’

सुन्दा सजिलोे, भोग्दा गाह्रो विदेश   

विदेश जाँदा सजिलो भयो । ऋण लिनुभयो एजेन्टलाई पैसा र पासपोर्ट दिएर विदेश उड्नुभयो । तर नेपाल फर्किन सजिलो भएन । ‘पुरानो ऋण तिर्न नपाउँदै अर्काे ऋण काढेर फर्किएँ ।’ भन्दै गर्दा धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरका २४ वर्षे रमेश यादवले नमिठो पाराले मुख बिगार्नुभयो । लामो सास फेर्नुभयो । 

जाँदाको पीडा भुल्न नसिकिँदै फर्किनुको पीडा पनि थपियो रमेशलाई । २ महिनाकी छोरीलाई खेलाउने धित नमर्दै विदेशिनु भएको थियो रमेश । बनिसकेका बिल्डिङमा सरसफाईको काम भनिएको थियो उहाँलाई । तलब महिनाको १३ सय रिंगिट अनि र ओभरटाइमको ४ सय ८७ रिंगिट । उहाँको हिसाबमा उहाँको एक महिनाको कमाइ १ हजार ७ सय ८७ रिंगिंट पुग्थ्यो । 

त्यसका लागि एजेण्ट एक लाख ५० हजार रुपैयाँ लिए । उहाँले पनि धेरै नसोची पैसा हातमा हाल्दिनुभयो, अनि उड्नुभयो मलेसिया । उहाँ उडेको ८ महिना मात्रै पुग्दैछ । उहाँकै नगरपालिका इनरजितकुमार यादव र शहिदनगर नगरपालिकाका प्रमोद यादव पनि सँगै हुनुहुन्थ्यो । 

एजेण्टले दिएको आस्वाशन जस्तै मिल्दा जुल्दा थिए तिनै जनाका सपना पनि । कम्पनीमा पुगे लगत्तै म्यानेजरले काम लगाए । यहाँ सफा गर्ने अथवा क्लिनरको काम भनिए पनि म्यानेजरले लगाएको काम त्यो थिएन । 

‘जमिन मुनि गएर रड काट्ने, काठ काट्ने, बिग्रेको पर्खाल भत्काउनुपथ्र्याे । यही काम भनेर टुङगो नै नहुँदो रहेछ’ रमेशले भन्नुभयो ‘काम त फरक भयो भयो । पाउने तलब पनि फरक भयो ।’

सम्झौता पत्रमा १ हजार ७ सय ८७ रिंगिट लेखिएको भए पनि ७७५ रिंगिट मात्र पाए रमेशसँगै इनरजितकुमार यादव र प्रमोद यादवले । उहाँहरुले कम्पनीका म्यानेजरलाई आफूहरुलाई नेपालमा भनिएको जति तलब नभएको कुरा पनि राख्नुभयो । तर म्यानेजरले सजिलो उत्तर दिए, ‘आफनै एजेन्टसँग कुरा गर ।’ 

म्यानेजरको जवाफपछि उहाँहरुले म्यानपावर र एजेण्टलाई पनि फोनमा कुरा गर्नुभयो, तर उनीहरुले समस्या बुझिदिएनन् । उनीहरुको जवाफ त म्यानेजरको भन्दा पनि सजिलो थियो । केही समयमा सबै समस्या ठिक हुन्छ भन्ने उत्तर पाएपछि उहाँहरुको उपाय लागेन । 

सम्झौता पत्रमा लेभी र प्रयोग गरिएको पानीको पैसा नकाटिने भनिए पनि प्रत्येक महिना काटिन्थ्यो । रमेशले त्यही कम्पनीमा २ महिना बितानुभयो । तर कहिले पनि सम्झौता अनुसार काम र तलब पाउनुभएन । त्यही तनावले सँगै गएका साथी गुमाइसक्नुभएको थियो रमेश र इनरजितले । 

सुख खोज्दै भाग्दा दुःख थपियो 

कम्पनीले २ महिना बित्दा पनि काम, पाउने सुविधा फेरेन । बिरामी भएर काममा नजाँदा म्यानेजरको कुटाइ पनि खान पर्‍योे । एकातिर काम र तलबको तनाव, अर्कोतिर सँगै सुत्ने साथी गुमाउँदाको पीडा । 

त्यही तनावले रमेश र इनरजितसँगै सबै ८ जनाले नै त्यो कम्पनी छोडेर भाग्ने निर्णय गरे । सँगै रहेका साथीहरुमध्येकै एक जना साथीले नेपाल पठाइदिने दलाल पनि खोजे । उनीहरुले एकपछि अर्को गर्दै कम्पनीबाट बहाना बनाएर भाग्ने योजना बनाएका थिए । 

तर योजना पूरा नहुँदै कम्पनीले ८ जनालाई कामका लागि ३ वटा छुट्टा छुट्टै ठाउँमा पठाइदियो । उनीहरुले कम्पनीसँग झगडा गरेर दुई वटा समूह बनाउन लगाए । एउटा समूहमा ५ जना थिए । अनि अर्कोमा ३ जना । तीन जनाको समूहमा थिए रमेश र इनरजितसँगै धनुषाकै अर्का एक कामदार । एउटै ठाउँको भएकाले उनीहरुको कुरा मिल्यो । उनीहरु कम्पनीको सुरक्षागार्डसँग कुरा मिलाएर त्यहाँबाट भागे । 

उहाँहरुको उद्देश्य एउटै थियो दलाललाई भेट्ने अनि नेपाल फर्किने । तर दलाललाई भेटेपछि थाहा भयो नेपाल फर्किन त २५ सय रिंगिट लाग्ने रहेछ । विदेशिँदा लागेको ऋण तिर्न नसकेका उहाँहरुलाई ऋणमाथि ऋण थप्ने आँट आएन । 

पैसा जुटाउन त्यही अवैधानि रुपमा काम गर्ने अनि पैसा जुटाएर मात्रै घर फर्किने निर्णय गर्नुभयो । रमेश र उहाँका अरु दुई जना साथीहरुले तमिलको कम्पनीमा मासिक ११ सय रिंगिटमा सुरक्षागार्डको काम गर्नुभयो । 

तर त्यहाँ पनि पुरानै समस्या दोहोरियो । काम गरेको डेढ महिना हुँदा पनि कम्पनीले तलब दिएन । पैसा माग्दा कम्पनीले उल्टै प्रहरी बोलाइदिने भन्दै धम्क्यायो । समस्यामाथि समस्या आइपर्ने देखेपछि उहाँहरु त्यो ठाउँ पनि छोडेर चिनियाँ कम्पनीमा काम गर्नुभयो । 

त्यो कम्पनीले मासिक १४ सय रिंगिट दिने भन्यो । ‘कहिले घर पुग्ने होला भन्ने लाग्थ्यो तर खाली हात घर जाँदा सबै हास्ने होलान भन्ने लग्थ्यो’ रमेश भन्नुहुन्छ । तर उहाँलाई सँगै सुतेको साथी गुमाउँदाको पीडाले निदाउन दिँदैनथ्यो । 

घरमा छोडेर गएको २ महिने छोरीलाई सम्झिँदा रमेशलाई बाँचियो भने ऋण तिरिन्छ अनि परिवारका लागि केही गर्न सकिन्छ भन्ने लाग्थ्यो । यही हुटहुटीले उहाँ चिनियाँ कम्पनीमा काम गरेको एक महिनाभन्दा धेरै मलेसियामा टिक्न सक्नुभएन ।

एक महिना काम गरेर पाएको पैसाबाट ९ सय रिंगिट जम्मा पार्नुभयो । नपुगेको १६ सय रिंगिट साथीसँग सापट लिएर रमेश र इनरजितकुमार घर फर्किनुभएको छ । उहाँहरु घर फर्किनु अघि नै प्रमोदको शव नेपाल आयो । 

उहाहरु घर फर्किएको पनि एक महिना कट्यो । तर सँगै गएको साथीलाई गुमाउँदा र उसको शवलाई ७ घण्टा कुरेर बस्दाको पीडा अझै बिर्सिन सक्नुभएको छैन । 

यो पनि पढ्नुहोस् । 

प्रकाशको बाकसको यात्रा : विमानस्थलदेखि आर्यघाटसम्म (भिडियो सहित)

अन्तिम अपडेट: भदौ २०, २०७५

तपाईको प्रतिक्रिया