रोपेकै वर्ष लटरम्म फल्यो स्याउ

 भदौ ९, २०७५ शनिबार १५:४०:१३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – इटालीमा उत्पादन हुने स्याउ सोलुखुम्बुमा पनि फस्टाउन थालेको छ ।

निकै महंगोे त्यो स्याउ रोपेकै वर्षबाट उत्पादन दिन थाल्ने भएकाले किसान सयउखेतीतर्फ हौसिएका छन् । सोलुदूधकुण्ड नगरपालिका–४, खोलाघारीमा पुग्दा झण्डै ४ फिट जतिको मात्रै बोटमा लटरम्मै स्याउ फलेको देख्दा जो–कोहीलाई पनि अचम्म लाग्न सक्छ ।

उक्त नयाँ प्रजातिको स्याउ अवलोकनका लागि अवलोकन कर्ताहरुको ध्यान समेत केन्द्रीत भएको छ । स्थानीय कृषक दावा तामाङले फलाउनु भएको त्यो स्याउ बगानमा अहिले दिनहु जसो मनिसहरु पुग्ने गर्दछन् ।

स–साना बोटमा लटरम्मै फलेको स्याउ देख्दा स्याउको खानी मानिने जुम्ला नै पुगेजस्तो अनुभूति महसुस हुने अवलोकन कर्ताहरुको भनाई छ ।

जिल्लामा अन्य प्रजातिका स्याउ मासिँदै गइरहेको बेला नयाँ जातको हाइडेनसिटी अर्थात उच्च घनत्व प्रविधिको स्याउ राम्रोसँग उत्पादन हुन थालेकाले किसानहरु पछिल्लो समय आलु–मकैको साटो स्याउ रोप्नतिर बढी केन्द्रीत भएका छन् ।

आलु–मकैलगायतका बालीबाट भन्दा स्याउ खेतीबाट आयआर्जजको सम्भावना बलियो देखिएकाले नयाँ प्रजातिका स्याउ खेती सुरु गरेको कृषक दावा तामाङले बताउनुभयो ।

उच्च घनत्व प्रविधिका फुजी र गोल्डेन नामक प्रजातिका स्याउले अहिले सोलुखुम्बुमा राम्रो उत्पादन दिन सुरु गरेका छन् । समुद्रपार गरेर भारत हुँदै जुम्ला पुगेको स्याउको विरुवा जुम्लाबाट सोलुखुम्बु ल्याइएको हो ।

त्यो स्याउको विरुवा सोलुखुम्बु आइपुग्दा प्रतिबोट १५ सय रुपैयाँ पर्न जाने बागबानी केन्द्र फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो । अहिले सोलुखुम्बुको बेनी, सल्लेरी, फाप्लु लगायतका क्षेत्रका किसानहरुले उच्च घनत्व प्रविधि जातको स्याउ खेती गरेका छन् ।

जुन स्याउले अहिले उत्पादन समेत दिन थालिसकेको छ । सुरुमा आलु र मकै रोप्दै गरेको बारीमा स्याउ रोप्दा हाँसोमा उडाउने व्यक्तिहरु समेत अहिले स्याउ फलेको देखेर चकित भएका छन् ।

स्थानीय स्याउको विरुवा रोपेको ४, ५ वर्षपछि फल दिन सुरु गर्ने भए पनि यो बिरुवा स्याउले रोपेकै वर्ष फल दिने भएकाले यो जातको स्याउ कृषकहरुको रोजाई पर्न थालेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया