स्वास्थ्यकर्मी ड्युटीमा नबस्दा तीन महिने शिशुको इमर्जेन्सी वार्डमा ज्यान गयो

 भदौ ९, २०७५ शनिबार १८:५५:४५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु –इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मी नहुँदा कपिलवस्तुको तौलिहवामा रहेको जिल्ला अस्पतालमा एक शिशुको शनिबार ज्यान गएको छ ।

झाडापखाला र ज्वरो आएपछि जिल्ला अस्पताल तौलिहवामा उपचारको ल्याइएका तीन महिनाका बच्चाको उपचार गर्ने डाक्टर वार्डमा नबस्दा बच्चाको ज्यान गएको पीडित परिवारले जनाएका छन् । 

यशोधरा गाउँपालिका वडा नं. ५ सुल्तनवापुर गाउँका बलबहादुर तेलीको ३ महिनाको बच्चाको अस्पतालको इमर्जेन्सी वार्डमा ज्यान गएको हो । आफ्नो ३ महिनाको छोराको मृत्यु स्वास्थ्यकर्मी इमरजेन्सी वार्डमा नबस्दा चेकअपको अभावका कारण भएको पीडितले गुनासो गर्नुभयो । 

इमर्जेन्सी वार्डमा ओजेटीका लागि आएका विद्यार्थी बाहेक जिम्मेवार स्वास्थ्यकर्मी कोही नभएका कारण बालकको ज्यान गएको अस्पतालमा चेकअपका लागि आएका अन्य सर्वसाधारणले पनि बताएका छन् ।

इमर्जेन्सी वार्डबाट आफूलाई खबर आउन साथ आफू चेकअपका लागि पुगे पनि त्यस बेला बच्चाको ज्यान गइसकेको अस्पतालकी मेडिकल अधिकृत डाक्टर कत्यायनी पाण्डेले बताउनुभयो ।

इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका अहेव बृजेशकुमार पाण्डेयले त्यो समयमा आफू शौच गर्न गएको बताउनुभयो । अहेव पाण्डेय शौच गएका गर्न गएका बेला इमर्जेन्सी वार्डमा स्वास्थ्य उपचारको सेवा अभावका कारण आफ्नो छोराको ज्यान गएको मृतकका पिता दलबहादुरले बताउनुभयो ।

‘घटना निकै दुखद भयो’, डा. पाण्डेयले भन्नुभयो, ‘तर इमर्जेन्सी वार्डमा २ जना स्वास्थ्यकर्मीको ड्युटी हुनु पर्नेमा एक जनाको मात्रै भएका कारण यस्तो समस्या देखिएको हो । एक जना शौच गर्न जाँदा त्यसै समयमा घटना हुन गयो ।’

‘तर पनि त्यस समयमा ओजेटीमा रहेका भाइबैनीहरुले मलाई खबर गरेको भए पनि हुन्थ्यो तर मैले खबर नै पाइन’, डा. पाण्डेयले भन्नुभयो । जिल्ला अस्पतालमा हुने यस्तो लापरबाहीबाट सर्वधारणहरु दैनिक रुपमा प्रभावकारी स्वास्थ्य सेवाबाट पाउनबाट बञ्चित भए पनि सरोकारवाला निकायको अझै ध्यान पुग्न सकेको छैन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Bashanta rai

    Aug. 25, 2018, 7:39 p.m.

    यो जिल्ला अस्पतालको लापरवाही चाहिँ होइन , सबैले बुझ्नुपर्ने कुरा छ / इमर्जेन्सीमा एउटा स्वास्थ्यकर्मीको ड्युटी अनि डाक्टरलाई खबर गर्नुपर्ने अवस्था , बिरामे अस्पताल ल्याएको केहिबेरमा बित्छ / कपिलवस्तु जस्तो सुगम ठाउँमा त एक शिफ्टमा २ जना स्टाफ राख्न नसक्ने सरकारी दरवन्दी / डाक्टर त परको कुरा अनि हाम्रा जनता महानुभावलाई वास्ता नगर्यो, गरे पनि नजिकै मेडिकलवाट दबाई किनेर दियो , अनि गम्भीर अवस्था भए पछि जिल्ला अस्पताल कुद्यो , केहि बेरमा छैन त्यसैले स्वास्थ्यकर्मीको लापरवाही मात्र नभनौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया