पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेल र विभागबीच सहकार्य

 भदौ १०, २०७५ आइतबार ५:४७:५९ | उज्यालो सहकर्मी

काठमाडौं - बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत बनाउँदै पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र  विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गर्नुभएको हो ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र विभागले २०७३ देखि नै पूर्वसूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुदेखि नै एनसेलले  बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलार्इ न्युन गर्न मद्दत पुर्याउँदै आएको छ । 

‘‘एनसेलमा हामीले विपत पूर्वतयारी तथा प्रतिकार्यलाई हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वको एक प्रमुख स्तम्भको रुपमा अंगिकार गरेका छौं । यसै पहल अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको  आफ्नो सहकार्यलाइ थप मजबुत बनाउन पाउँदा हामी हर्षित छौं । यो सहकार्यले हामी अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना ग्राहकसँगै छौं र उहाँहरुलाई सेवा प्रदान गरिरहन कटिबद्ध छौं भन्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । पूर्वसूचना प्रणाली सम्बन्धित यस पहलले आपतकालिन अवस्थामा पनि प्रविधिको प्रयोग गरी कसरी सामाजिक लाभ लिन सकिन्छ भन्ने तथ्य पनि उजागर गरेको छ,’’ एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले भन्नुभयो ।

यो नयाँ समझदारीले बाढी तथा पहिरो पूर्वसूचना प्रणालीका लागि एनसेल र जल तथा मौसम विज्ञान विभागको सहकार्यलाई थप पाँच वर्षका लागि औपचारिकता प्रदान गरेको छ । यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएसमार्फत प्रदान गर्दै आएको बाढीपहिरो सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ । 

यसका साथै, कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत रु १५ लाख सहयोग गर्नेछ । यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ ।  
 
यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् ।

पानीको सहत खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी ग्राहकले एसएमएस मार्फत पाउँछन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया