कलंकी कोटेश्वर सडकखण्डको एक – एक किलोमिटरमा अपाङ्गमैत्री आकाशे पुल

 भदौ १०, २०७५ आइतबार ७:१४:२५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – कोटेश्वर कलंकीको १० किलोमिटर सडक खण्डमा यात्रुहरुको सुविधाको लागि दशवटा आकाशे पुल बन्ने भएका छन् । चिनियाँ सहयोगमा निर्माण भइरहेको चक्रपथ सडक खण्डको कोटेश्वर, बागडोल र ग्वार्कोमा तीनवटा पुल चिनियाँ सरकारले नै बनाइदिएको छ भने बाँकी सातवटा पुल नेपाल सरकारले बनाउने भएको हाे ।

पुल निर्माणको लागि अवाले बिल्डर्स जेभी र पूर्णचण्डी निर्माण कम्पनीलाई ठेक्का दिएकोे छ । २१ करोड रुपैयाँको लागतमा निर्माण गरिने ती पुलमध्ये एक पुलको लागत तीन करोडको हुने चक्रपथ सडक विस्तार योजनाका इञ्जिनियर निरञ्जन अर्यालले बताउनुभयो । 

एक, एक किलोमिटरको दूरीमा आकाशे पुल बनाउने तयारी छ । सडक विभाग अन्तर्गत पुल महाशाखाका महानिर्देशक अर्जुनजंग थापाका अनुसार पुलहरु अपाङ्गमैत्री बन्नेछन् । उहाँले बताउनुभयो, ‘ह्वीलचियर जान मिल्ने गरेर ‘स्लोपीङ र्याम्प’ मोडेलमा पुलहरु बन्नेछन् ।’

चक्रपथ सडक विस्तार आयोजनाका अनुसार यात्रुहरुलाई सहजताको लागि आकासे पुलबाट प्रत्येक २५० मिटरको दूरीमा जेब्रा क्रसिङ र गति नियन्त्रणको लागि ब्रेकर राखिनेछ ।  

वि.सं. २०७४ को साउनदेखि नै थप पुल निर्माणको योजना बने पनि अहिलेसम्म एउटा पुल पनि निर्माण भएको छैन । सडक विस्तारको निर्माण कार्यमा बाधा नपुगोस भनेर यसबीचमा काम नभएको ईञ्जिनियर अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिसेम्बरको अन्तिममा चिनियाँ कम्पनीले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरिसकेपछि पुल निर्माणको काम तीब्र गतिमा अगाडि बढाइनेछ ।’

चिनिया सरकारले त्यतिबेला आफ्नोे डिजाइनमा तीनवटा पुलमात्र पारेको र अहिले थप पुलको आवश्यकता महशुस भएकाले पुल निर्माण गर्न सरकार आफै अग्रसर भएको थापाले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया