शोकमा डुब्यो पूरै तानसेन बजार

दुई पटक स्थगित गरिएको थियो भ्रमण

 जेठ १८, २०७५ शुक्रबार १६:५८:२४ | देव पचभैया

पाल्पा, जेठ १८ – १३ जनाको ज्यान जानेगरी पाल्पामा भएको बस दुर्घटनापछि पूरै तानसेन बजार शोकमा डुबेको छ । 

ज्यान गुमाउने अधिकांश स्थानीय व्यापारी भएकाले बजारहरु बन्द भएका छन् । अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारीसहित अन्य अतिथि चढेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

दुई पटक स्थगित भएपछि तेस्रो पटक तय भएको थियो भ्रमणको । बिहीबारदेखि अविरल वर्षा भएपछि भ्रमणमा नाम टिपाएका ७ जना नगएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हरि रायमाझीले जानकारी दिनुभयो । रायमाझी स्वयम् भ्रमणमा निस्किए पनि अविरल वर्षा भएकाले नगएको बताउनुभयो । 

दुर्घटनामा एकै घरका दुई दाजुभाइको समेत ज्यान गएको छ । सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाका भाइ सचिनसँगै १३ जनाको ज्यान गएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहोरा, कृष्ण मान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोक प्रसाद ढकाल, दुर्गा बहादुर सारु, सुशिल श्रेष्ठ, देबेन्द्र प्रधान, वसन्ती खाँड र दुर्गादेवी श्रेष्ठ छन् । 

घाइतेमध्ये तानसेन –२, का ३४ वर्षीय प्रफुल शर्मा, तानसेन –३, का २७ वर्षीय बिमल रन्जन, तानसेन –२ का, ५८ वर्षीय उत्तम बज्राचार्य,  ५८ वर्षीय ओम मलेगु, तानसेन –९, की ३७ वर्षीया मिना खाम्चा, तानसेन –६, का ४० वर्षीय अर्जुन थापा, २० वर्षीय शान्त बज्राचार्य, तानसेन –६, की ८१ वर्षीया पूर्णमाया महर्जनको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको छ ।

अन्य दुई घाइतेहरु तानसेन –३, का प्रबिन बज्राचार्य र तानसेन –३, की मुना सारुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । तानसेनका पाहुनालाई स्वागत गर्न रामपुरको अन्धकार मुक्ति सहकारी संस्थाका पदाधिकारी तयारीमा रहेका थिए । 

जमिन भासिएर दुर्घटना :  प्रहरी

१३ जनाको ज्यान जाने गरी भएको पाल्पाको बस दुर्घटना जमिन भासिएर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनबाट जाँदै गरेको दुर्घटनामा परेको लु २ ख ९७५ नम्बरको बस र रामपुरबाट तानसेन आउँदै गएको जीप रम्भा गाउँपालिका –६, हुमिन निरको बीच जंङ्गलमा भेट भएका थिए । बसले ब्याक गरेर साइड दिन खोज्दा जमिन भासिएर सडकदेखि झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया