जनैपूर्णिमामा यस कारण पुग्छन् तीर्थालु लमजुङको दूधपोखरी !

 भदौ १०, २०७५ आइतबार १४:०:२८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध छ, लमजुङको सुदूरपूर्वमा पर्ने दूधपोखरी कुण्ड । जनैपूर्णिमाको अवसरमा यस कुण्डमा नुहाउन आउनेहरुको भीड नै लाग्ने गर्दछ । प्रत्येक जनैपूर्णिमामा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । 
   
जनैपूर्णिमाको दिन यस पोखरीमा नुहाए वर्षौंदेखिको रोगव्याधी निको हुने, बोली नआउनेहरु बोल्न थाल्ने, र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसो त दूधपोखरी कुण्ड पुग्न भने त्यति सजिलो छैन । 

हिमालको काखैमा रहेको दूधपोखरी पुग्न तीन/चार दिनको कठिन यात्रा गर्नुपर्ने हुन्छ । लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने दूधपोखरी कुण्ड समुद्री तहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।

काशी जानु नपर्ने विश्वास

मनास्लु र हिमालचुली हिमालको काखैमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनै पूर्णिमामा भक्तजनहरुको ठूलो घुइँचो नै लाग्ने गर्दछ ।

सर्वोदय सेवा आश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाका अनुसार लमजुङका साथै छिमेकी जिल्लाहरु गोरखा, तनहूँ, कास्कीलगायत चितवन र काठमाडौंदेखि तीर्थालु भक्तजनहरु यस पोखरीमा नुहाउन आउने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जानु नपर्ने विश्वास रहेको छ । 

त्यस ठाउँमा पुग्न तीर्थयात्रीहरुलाई सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नुपर्ने बाध्यता छ । बाटो हिँड्नको लागि निकै अफ्ठ्यारो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तीर्थयात्री अथवा स्थानीय बासिन्दाको सहयोग आवश्यक हुन्छ । 

कहालीलाग्दो भीर–जंगल–खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने हुँदा केही असजिलो भए पनि यात्रा भने निकै रमाइलो हुने त्यहाँ पुगेर फर्कनेहरु बताउँछन् । 

‘भीर, जंगल, खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने भएकाले यात्रा केही कठिन त हुन्छ नै । तर दूधपोखरी कुण्डमै पुगेपछि सारा दुःख भुलिन्छ,’ लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठले भन्नुभयो ।

दूधपोखरी पुगी फर्केका पत्रकार परमेश्वर अधिकारीका अनुसार दूधपोखरी कुण्ड जाँदै गर्दा बाटोमा भेटिने÷देखिने लेकाली फूलको सौन्दर्यले जो सुकैको मन लोभ्याउँछ । विभिन्न चराचुरुङ्गीको चिरबिराहट मधूर संगीतले मनमा छुट्टै ऊर्जा थप्ने गर्दछ ।  लोपान्मुख बहुमूल्य जंगली जनावरदेखि जडिबुटीहरु यस भेगका अर्का मूख्य आकर्षण हुन् । 

दूधकै गास : ओडार र भेडीगोठमै बास

लमजुङको जोर्नेभन्दा माथि मानव बस्ती नभएकाले त्यहाँ खानेकुरा र पिउने पानीको अभाव खड्किने गर्दछ । 

यात्राका क्रममा पर्याप्त खानेकुरा र खानेपानीको व्यवस्था तीर्थयात्री आफैँले गर्नुपर्छ । दूधपोखरीको यात्रामा सुरक्षित बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठको सहारा लिनुपर्दछ । 

दूधपोखरी पुग्न ४–५ घण्टाको दूरी बाँकी रहँदा ठाउँठाउँमा भेडीगोठहरु देख्न सकिन्छ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले दिल खोलेरै सहयोग गर्छन् ।

गोठमा दूधका विभिन्न परिकारहरु पाइन्छन् । उकालो यात्राको थकाइले ‘लखतरान’ परेका बेला त्रिपालले छाएको साँघुरो गोठमा आगो ताप्दै थकाई मार्न पाउँदा र दूधका परिकारले भोको पेट भर्न पाउँदा तीर्थयात्रीहरु स्वर्गकै आनन्दी महसुस गर्छन् ।

दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी छँदा बाटैमा ‘धर्म गौँडो’ भन्ने ठाउँ आउछ । स्थानीयका अनुसार जो यो गौँडो कट्न सक्छ, उसको सबै पाप हरण हुन्छ । 

‘दूधपोखरीको संरक्षणमा ध्यान जाओस्’

भेडीगोठबाट झण्डै ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ ।

पोखरीमा नुहाएर पूजा–अर्चना गरी प्रार्थना गर्दा तीर्थयात्रीहरुको मन धेरै हल्का भएको महशुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यस ठाउँमा लेक लाग्ने समस्या पनि त्यतिकै हुन्छ ।

धार्मिक तथा पर्यटकीय महत्वको दूूधपोखरी कुण्डको संरक्षणमा सम्बन्धित पक्षले चासो नदिएको सरोकारवालाहरु बताउँछन् । यसको संरक्षण हुन नसके भावी पुस्तालाई दूधपोखरीको धार्मिक महत्व ‘एकादेशको कथा’ हुन सक्ने दूधपोखरीका बासिन्दाहरु बताउँछन् ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी कुण्डको संरक्षण सम्बद्र्धन र प्रचारप्रसार हुन सकेको खण्डमा सिंगो लमजुङकै पर्यटकीय एवम् आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा सम्बन्धित सबैको ध्यान दिन आवश्यक छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया