निर्मला हत्या प्रकरण : उच्चस्तरीय टोलीले सुरु गर्‍याे छानबिनको काम

 भदौ १०, २०७५ आइतबार १५:१०:२६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – गृहमन्त्रालयबाट गठित उच्चस्तरीय छानबिन टोलीले आइतबारबाट छानबिनको काम थालेको छ ।

गृहका वरिष्ठ सह सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन टोलीले आइतबार बम  परिवारको घर र घटनास्थलको अनुगमन र पीडित परिवारसँग घटनाका बारेमा सोधबुझ गरेकोे छ । निर्मला साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएका बेला हराएकी थिइन । उनको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा तदारुकता नदेखाएपछि स्थानीयले त्यसको विरोध गर्दै आन्दोलन र प्रदर्शनलाई चर्काएका थिए । स्थानीय र निर्मलाका परिवारले बम दिदी बहिनीमाथी अनुसन्धान हुनुपर्ने माग राख्दै आए पनि तत्कालीन एसपी डिल्लीराज विष्टले आनाकानी गर्दै मानसिक अवस्था ठिक नभएका दीलिप विष्टलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा सार्वजनिक गरेपछि स्थानीयले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । 

स्थानीयले प्रहरीको अनुसन्धानमा नै शंका गरेपछि गृहमन्त्रालयले प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको छानबिनका लागि उच्चस्तरिय छानबिन टोली गठन गरी कञ्चनपुर पठाएको छ । टोलीले १५ दिनभित्र घटनाको छानबिन तथा अनुसन्धान गरेर गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया