दशौं सन्तानसम्म कुरेर छोरो !

 भदौ १०, २०७५ आइतबार १८:२८:३२ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानमा एक आमाले दशौं सन्तानमा छोरो जन्माउनुभएको छ ।

छोराकै आशमा सन्तान जन्माउँदा नवौं सन्तान पनि छोरी भएपछि ती आमा फेरि गर्भवती हुनुभएको थियो । दशौं सन्तानमा रुपमा उहाँले छोरो जन्माउनुभएको हो ।

छोरा पाउने आशमा नौ छोरीलाई जन्म दिइसकेका कुमाख गाउ“पालिका–२, डा“डाकटेरीका ५० वर्षीय डिल्लीबहादुर शाही र उहाँकी ४० वर्षीया पत्नी डिल्ली शाहीले १० औँ सन्तान छोरा जन्माएका हुन् ।

नौ छोरी घरमै जन्माउँदा डिल्लीको शारीरिक अवस्था एकदमै कमजोर भएको थियो । रक्तश्राबका कारण ज्यानै जोखिममा परेपछि उनीहरु सुत्केरीका लागि जिल्ला अस्पताल सल्यानमा आएका हुन् । 

छोरी मात्रै जन्माउँदा सामाजिक अपहेलनामा परेँ : श्रीमती शाही

आफूले छोरीमात्रै लगातार जन्माउँदा सामाजिक अवहेलनामा परेको शाहीले बताउनुभयो ।

‘मेरो स्वास्थ्य अवस्था पनि निकै कमजोर भैसकेको थियो’, उहाँले भन्नुभयो, ‘तीन वटा छोरी जन्मिसकेपछि स्थानीय स्वास्थ्यकर्मीहरुले ‘अब तपाईँले स्थायी बन्ध्याकरण गर्नुहोस’ भनेका थिए तर श्रीमानले मान्नुभएन । पछि मलाई पनि सबैले अपहेलना गर्न थालेपछि छोरो जन्माउने भनेर बच्चा जन्माउदा नौ छोरी जन्माएँ ।’

उहाँले अघि भन्नुभयो, ‘दुई मात्र सन्तान इश्वरका बरदान भन्ने गरिन्छ तर यो मेरो बाध्यता जस्तै बन्यो । पहिला छोरा जन्मेको भए यति धेरै सन्तान जन्माउन मलाई पनि रहर थिएन ।’

छोराकै आशैमा बर्सेनि बच्चा

छोराकै आशमा आफूले बर्सेनि बच्चा जन्माएको उहाँले बताउनुभयो । उहाँका १० सन्तान मध्ये ४ सन्तानको जन्मान्तर एक वर्ष मात्रै छ ।

‘म जस्ता अरु पनि छन्’, उहाँले भन्नुभयो, ‘सबैले छोरा त चाहिन्छ भन्छन्, अनि छोराकै आशमा बर्सेनि गर्भ बोकेर बच्चा जन्माउनुपर्छ । परिवार नियोजनका साधनको प्रयोगबारे खासै थाहा पनि छैन । थाहा पाएकाले पनि झ्याउ छ, कमजोर भइन्छ भनेर प्रयोग गर्दैनन् ।’

सन्तान नजन्माउनका लागि जिल्ला अस्पतालमा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट लगाएको उहाँले जानकारी गराउनुभयो । ‘श्रीमानलाई भ्यासेकटोमी गराउनु भन्दा कमजोर भइन्छ भनेर मान्नुभएन । पछि आफैले परिवार नियोजनको साधन प्रयोग गरेँ’, चार दिनको छोरा खेलाउदै मुसुक्क हाँस्दै उहाँले भन्नुभयो, ‘अब रहर पूरा भयो ।’

१६ वर्षको उमेरमा गाउ“कै डिल्लीबहादुर शाहीसँग विवाह गरेकी श्रीमती शाहीका नौ छोरी मध्ये अहिले तीन छोरीको विवाह भैसकेको छ भने ६ वटी घरमै छन् ।
नौ छोरीपछि छोरा पाउदा खुशी भएकी शाहीले भन्नुभयो, ‘गाउ“मा गएर आफन्त, छिमेकी तथा आसपासका गाउ“लेलाई भोज खुवाउछु, अब बच्चा जन्माउँदिन ।’

छोरा नभएका कारण गाउ“लेले विभिन्न कुरा सुनाउने गरेको र त्यही कुराले आफूहरुले लगातार सन्तान जन्माएको डिल्लीबहादुर शाहीले बताउनुभयो । खेतीपाती र मजदुरीबाट परिवार पाल्दै आएको उहाँले बताउनुभयो । 

छोराछोरी बराबरी भन्दै विभिन्न निकायहरुल चेतनामुलक कार्यक्रम गर्दै आए पनि छोराछोरीमा भेदभाव उल्लेखनीक रुपमा घट्न नसकेको जिल्ला अस्पतालका महिला स्वास्थ्यकमीहरुले बताएका छन् । छोराको आशमा नौ छोरीपछि अर्को सन्तान जन्माएको जिल्लामा यो पहिलो घटना हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया