मिनरल वाटरको बोतलभित्र चराको प्वांख भेटिएपछि...

 जेठ १८, २०७५ शुक्रबार १८:२:२७ | किरण लोहनी

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले तनहुँमा उत्पादित २ उद्योगको पानी गोरखामा बिक्री गर्न रोक लगाएको छ । 

आँबुखैरेनी –६, को कृति वेभरेज इण्डष्ट्रिजले उत्पादन गर्ने सञ्जिवनी र आँबुखैरेनी –४, को सुरज मिनरल वाटर नामको कम्पनीले उत्पादन गर्ने छिम्केश्वरी ब्राण्डको पानी गोरखामा बिक्रीका लागि रोक लगाइएको हो । 

दुवै पानीका बोतलमा अखाद्य वस्तु फेला परेको र प्रयोगशाला परीक्षणबाट पनि त्यो प्रमाणित भएकाले गोरखा जिल्लाभर बिक्रीमा रोक लगाउन गोरखा उद्योग बाणिज्य संघलाई भनिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । दुवै कम्पनीले आफूले उत्पादन गर्ने पानीको शुद्धताको सुनिश्चितता नगरेसम्म जिल्लाभित्र बिक्रीमा रोक लगाउने निर्णय भएको उहाँको भनाई छ । गएको चैत ८ गते गोरखाको १२ किलो वजारमा सञ्जिवनी नामको पानीको बोतलभित्र चराको सिंगो प्वाँख तैरिरहेको भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च ार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । 

त्यही दिन छिम्केश्वरी ब्राण्डकोे त्यस्तै पानीको बोतलमा पनि अखाद्य सेता कणहरु भेटिएका थिए । प्रशासनले दुवै कम्पनीको बोतलको पानीको गुणस्तर परीक्षणका लागि पठाएको थियो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको नमुना परीक्षण गरी जिल्ला प्रशासन कार्यालय गोरखालाई प्रतिवेदन पठाएको हो । 

प्रतिवेदनमा प्रशोधित पिउने पानीमा बाह्य अखाद्य वस्तु भेटिनु नेपाल सरकारको अनिवार्य मापदण्ड विपरीत हुने भनिएको छ । अब दुवै कम्पनीले आफूले उत्पादन गर्ने पानी शुद्ध छ भन्ने आधिकारिक निकायबाट प्रमाणित नगरेसम्म गोरखा जिल्लाभर बिक्री गर्न नपाउने भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया