कर तिर्नुहोस, रेल चढ्नुहोस् !

 भदौ ११, २०७५ सोमबार ९:४०:५० | मिलन तिमिल्सिना
unn.prixa.net

दुई तिहाईको सरकार, चारैतिर करको करकर । प्रधानमन्त्रीमा केपी ओली, कामभन्दा धेरै बोली । 

सडकमा बाढी र भेल । गफ चाहिँ दिनहुँ पानीजहाज र रेल । नागरिकको भान्सामा छैन नुन र तेल । खाली जालझेल र खेल । के के न गर्छु भन्ने ओलीको काम गराईमा मिलेन तालमेल । 

तर तपैंले भनेर हुन्छ ? आइसक्यो रेल । छोड्नुहोस् बाटो, पन्छाउनुहोस् भेल । न घुईंचो, न ठेलम्ठेल । पूर्व, पश्चिम, उत्तर, दक्षिण कता जाने चढ्नुहोस् अब रेल ।

गाडी र हिलोको बाढीले भरिने काठमाडौं शहरका सडकमा एकाएक बाढी र गाडीभन्दा धेरै आए रेल ! चक्रपथमा मेट्रो रेल, असन, इन्द्रचोक, न्यूरोड, भेडासिंहदेखि पाटनका भित्री शहर गावहाल र छावहाल, मंगलबजार जताततै मोनो रेल ।

हे दैव के हुन लाग्यो भनेर हेर्दा रिंगरोडको बालाजु नजिक चीनबाट केरुङ हुँदै हुईंकिएर आएको अक्सिजनयुक्त उत्तरी रेल । लौ सपना साकार भएछ भन्ने ठानेर सातदोबाटोतिर हेर्दा भारतको रक्सौल हुँदै दक्षिणबाट आएको बिजुली रेल ! हेर्दाहेर्दै देखियो उत्तर र दक्षिणबाट छुटेका अत्याधुनिक रेलको काठमाडौंमा मेल । सुरु भैसकेछ यो जात्राको शहरमा जताततै रेलको जात्रा ! रेल जात्राको अवसरमा मन्त्री, सांसद र मेयरहरु लाखे जसरी नाचेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली भाले जसरी बासेका छन् । 

दुई चार वर्षमा यो के भयो हजुर ! नेपालमा त जताततै कि खानेपानीको भेल कि त जताततै रेलै रेल ! पूर्व पश्चिम रेल, उत्तर दक्षिण रेल । सडकमुनी सुरुङ भित्र पस्दै फुत्त बाहिर निस्कने छुकछुके रेल । सडकमाथि आकाश छुँदै झुण्डिने स्काई रेल । सिमेण्टका पिलरमा हिँड्ने मोनोरेल । फलामका पातामा चरा झै माथि तल गर्ने मेट्रोरेल । यता पनि रेल, उता पनि रेल । 

चुनावको बेला घोषणापत्रमा देखिएको थियो रेल । घोषणा पत्र बमोजिम नै कांग्रेसको छुट्टै रेल, वाम पार्टीको छुट्टै रेल । ओली रेल, महासेठ रेल, बिद्यासुन्दर रेल, चिरिबाबु रेल । कति हो कति हजुर, शहरमा मोटर साईकलभन्दा धेरै रेल !

पहिला पहिला यो देशमा तेलका कुरा हुन्थे । तरकारीमा हाल्ने तेल, गाडीमा हाल्ने तेल । कपालमा दल्ने, जीउमा घस्ने थरिथरिका तेल । भान्सादेखि सडकसम्म नभई नहुने भएकाले तेलकै चिन्ता हुन्थ्यो । तर नयाँ संविधान आएपछि सबै कुरा नयाँ भएको छ । संविधान जारी भएका दिनदेखि तेलको संकट के सुरु भएको थियो, रेलको कुरा शुरु भैहाल्यो । त्यो दिनदेखि आजका मितिसम्म तेललाई रेलले जितेको छ । रेलकै कुरा र रेलकै चिन्ता धेरै हुन्छ । 

रेल नदेख्ने नेपाली कमै होलान् । रेल चढ्ने त कति छन् कति । हाम्रा पुर्खाहरुले पनि रेल चढेकै हुन् । २०२३ सालसम्म अमलेखगञ्जबाट वीरगंजसम्म रेल चल्थ्यो । केही वर्ष अघिसम्म जयनगरबाट जनकपुरसम्म पनि रेल गुडेकै थियो । काठमाडौंको भृकुटीमण्डपमा अहिले पनि बालरेल चल्छ । प्रत्यक्ष हेर्न नपाउनेले पनि फिल्म, टिभी र पत्रपत्रिकामा रेल देखेकै छन् ।  

त्यसमाथि चुनावको बेला सबै दलहरुका घोषणापत्रमा रेल कुदे । पूर्वदेखि पश्चिमसम्म, काठमाडौंदेखि पोखरासम्म, उत्तरदेखि दक्षिणसम्म जताततै रेलका कुरा । अहिले प्रधानमन्त्री र मन्त्रीहरुका मुखबाट प्रति घण्टा २ सय ५० किलोमिटरको गतिमा रेल कुद्छन् । 

कुरा सुन्दै हेटौडा पुग्यो, मुख्यमन्त्री डोरमणि पौडेलसित चिया खायो । कुरा सुन्दै पूर्ब लाग्यो, एक नम्बरका मुख्यमन्त्री शेरधन राईसित लञ्च खायो । कुरा सुन्दै ७ नंवरका मुख्यमन्त्रीसित बसेर डिनर खायो । अनि ५ नंवरका मुख्यमन्त्रीसित दुई चार चुस्की लाउँदै आएर काठमाडौंमा सुत्यो । सपनामा रेल चढ्यो, सपनामै कुद्यो, सपनामै खायो, सपनामै रमायो, सपना मै मात्यो, सपना मै हाँस्यो । हजुर रेलले पहिले सपना देख्न सिकायो, अहिले सपनामा रेलले त्रसित हुनेगरि कुदाएको कुदायै छ ।   

अहिलेका प्रधानमन्त्रीले पहिले प्रधानमन्त्री भएकै बेला रेल ल्याउँछु भनेका । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रेलकै कुरा गरेर चुनाव जितेका । काठमाडौंमा त मेट्रो र मोनो रेल चलाउनेबारे विस्तृत अध्ययन प्रतिवेदन नै सुरु भैसक्यो रे । अब ढिलोमा ५ वर्षभित्र काठमाडौंमा रेल चल्छ रे । तर मनमा कुदेको आफ्नो रेलमा ब्रेक लागेको छैन । न ईञ्जिन, न लिग, न चालक । तर कुद्न छाडे पो ।  

सडकमा रेल चल्न नभ्याउँदै मनमा रेल चल्न थालिसक्यो । दिमागमा रेलका रेखा कोरिन थालिसके । यसैपनि वर्षामा हिलो र चिप्लोले गाडी चलाउन मुस्किल पर्छ । त्यसमाथि यसपाली काठमाडौंमा मेलम्चीको भेल बग्ने भएको छ । मेलम्चीको भेल र छुकछुके रेल एकैपटक काठमाडौं पसे भने सडक अस्तव्यस्त हुन्छ । 

पहिलेदेखि नै सडक कब्जा गरेर बसेका गाडीलाई कहाँ लैजाने ? मेलम्चीको भेललाई कता तर्काउने ? लामो न लामो रेललाई कहाँ पार्किङ गर्ने ? उसै पनि तेल भर्न बेलाबेला पेट्रोलपम्पमा गाडीको लामो लाइन लाग्छ । त्यति लामा रेल आफैं तेल भर्न लाइन बसे भने के होला ? 

एउटा रेल पार्किङ गर्ने ठाउँ भेट्याउन त मुश्किल पर्छ । झन् यहीँ चल्ने मेट्रो र मोनोरेल अनि उत्तर र दक्षिणबाट आउने रेल एकैपटक काठमाडौंमा भेट भए भने त आपतै पर्छ । रेल र रेल जुध्न सक्छन् । रेलले गाडी पेल्न सक्छन् । गाडीको पो भनेको ठाउँमा ब्रेक लाग्छ । रेलको त भन्ने बित्तिकै ब्रेक लाग्दैन रे । 

सम्झेर, सुनेर आमाबाबु डराइसके । ‘ए रेल आउँदैछ रे बाटोमा खेल्न नजानु है’ भनेर छोराछोरीलाई सम्झाउन थालिसके ।

रेल चल्न नथाल्दै मनमा चिन्ता बढ्न थालेको छ । मोनोरेल चलाउने नेताहरुका मनो सपनाले मनचिन्ते रोग बढेको छ । थानकोटको थुम्कोजस्तै मनको टाकुरामा अर्को थुम्को थपिएको छ, मनचिन्ते थुम्को । मनचिन्ते थुम्कोमा रेलकै मात्र चिन्ता हुन थालेको छ । 

काठमाडौंमा कुद्ने लोकल रेल, अनि उत्तर र दक्षिणबाट आउने सुपर रेल मनचिन्ते थुम्कोमा जुधेको सपनाले तर्साउन थालेको छ । रेल नआउँदै रेलको डरले तर्साउन थालेको छ !

नपत्याउनेलाई पनि पत्याउनै पर्नेगरी रेलका कुरा सुन्दा कानमा रेलको सिट्ठी लाग्न थालिसक्यो । सिठी धेरै बजेर होला, आजभोलि त कान दुखेर खपिनसक्नु भैसक्यो । धन्न अहिलेसम्म कानमात्रै दुखेको छ । अझै सिन्को नभाँचि रेलको कुरा गरिरहने हो भने दिमाग रन्कन्छ । त्यस्तो बेलाका लागि अबदेखि मानसिक अस्पतालको ढोका चौविसै घण्टा खुला राख्नु पर्ने भो ।

अवस्था यस्तो आउन लाग्यो, अब केही दिनपछि त्यो अस्पतालमा कि त मन्त्री र मेयरहरुलाई जाँच्नुपर्छ, कि त हामी जस्ता रेलका कुरा सुनेर कुनै पनि बेला बौलाहा हुने मनस्थितिमा पुग्न लागेका रेलमा यात्रुहरु त्यहाँ पुगेर बौलाहाको हाँसो हास्नुपर्छ !

करको करकर 

चुनावअघि नेताले धेरै गरे करकर ! नागरिकले पनि सोचे अब त चाहिने नै भो बलियो सरकार । तर सरकार बनेपछि बल्ल थाहा भो सरकारको ठाउँमा बनेछ करको सर अथवा कर मास्टर । अर्थात सरकारसँगै कर उठाउने सर, करका दर र क्षेत्र बढे । 

सरकार नभनेर अब सरकर भन्दा पनि भयो । गाउँगाउँमा सिंहदरबार पुगेसँगै सरकार थपियो । सरकारसँगै कर पनि थपिने नै भयो । कर थपिनुको मुख्य कारण कर खाने सर बढेको पनि बुझियो ।

जन्मनु अघिदेखि मरेर जाँदासम्म करैकर । ओछ्यानबाट उठ्दा कर । उठेर हाई काढ्दा कर । हाई सकेर आङ बटार्दा कर । मोबाइल खोलेर फेसबुकमा बाइ गर्दा कर । चर्पी बस्दा कर । हातमुख धुँदा कर । दाँत माझ्दा कर । भात पकाउँदा कर । खाँदा कर । खाएर चुठ्दा कर । 

घरबाट हिँड्दा कर । गाडी चढ्दा कर । खोलो तर्दा कर । जन्मिदा कर । मर्दा कर । जिउँदै छु भनेर देखाउन कर । जिउन सकिन भनेर हात पसार्दा नि कर । जागिर खाँदा कर । बेरोजगार भएर डुली हिँड्दा पनि कर । कमाउँदा कर, नकमाउँदा पनि कर । रमाउँदा कर, नरमाउँदा पनि कर ।

माछा मार्नेलाई कर, मान्छे मार्नेलाई छैन डर । सडकमा बसेर भिख माग्नेलाई कर, सरकारमा बसेर भिख माग्नेलाई छैन कर ।

बसे कर, उठे कर । हिँडे कर, सुते कर । यता फर्के कर, उता फर्के कर । झोक्राएर बसे कर, टोलाएर हिँडे कर । जताततै कर । चुनाव अघि भोटको करकर, चुनाव पछि हरेक कुरामा कर !

गाउँगाउँमा सिंहदरबार पुगेपछि करैकर । दरबारसँगै गाउँ पसेको सिंह देखेर पाइलैपिच्छे डरैडर । 

गरिखानेलाई डर देखाएर कर उठाउने सिंहरुपी सरकारहरुको करको भोक अझै मेटिएको छैन । कहाँ के निहुँ बनाएर कर थप्न सकिन्छ भनेर दाउ हेर्दै बसेका छन् ।

अब धमाधम चाडपर्व सुरु हुँदैछन् । श्रीकृष्ण जन्माष्टमी र गौरापर्व आउँदैछ । कृष्ण जन्माष्टमीमा मन्दिरमा लाइन लागेर मयुरको प्वाँख हातमा बोक्ने चलन छ । त्यसरी मयुरको प्वाँख बोक्नेलाई प्वाँख कर लाग्नेछ । गौरापर्वमा नाचगान गर्ने महिलाले डान्स कर तिर्नुपर्नेछ ।

कुशे औंसीमा कुशको छुट्टै कर तिर्नुपर्छ । त्यही दिन बाबुको मुख हेर्ने चलन छ । अरु दिन बाबुको वास्ता नगर्ने छोराछोरीलाई कुशे औंसीको दिन चाहिँ सित्तैमा किन बाबुको मुख हेर्न दिने रु कुशे औंसीमा बाबुलाई खुशी पार्न खोज्ने छोराछोरीले मुख हेर्ने कर तिर्नुपर्छ । यो करलाई ऐना हेरेको वार्षिक कर भनेर करका सरहरुले आफ्नो तीक्ष्ण बुध्दि प्रयोग गर्ने अवसर पाउनेछन् ।  

त्यसपछि आउँछ तीज । तीजको अघिल्लो दिन दर खाने चलन छ । नामै दर । दर त भन्नु मात्रै हो, खासमा खाने त दुधको तर हो । तर पनि उच्चारण गर्दा नयाँ कर जस्तै र कर उठाउने सर जस्तै सुनिन्छ । तर, कर र दर उस्तै उस्तै शब्द हुन्, हात्ती र हात्ती छाप चपपल जस्तै । त्यसैले, कसैको डर नमानि तर पनि खाने, दर पनि खानेले कर नतिरी दर पच्ने कुरा भएन । दूधको तर हालेर घिउ हालेको भातसहितको दर खानेसँग सकेजति कर लिन किन डर मान्नु ? त्यसैले यस्लाई करका सरहरुले दरको तर कर भनेर सकेजति असुल्न सक्छन् ।

दर खाएको भोलिपल्ट महिलाहरु सबथोक बिर्सेर नाचगानमा भुल्छन् । त्योबेला खर्चको हिसाब हुँदैन । हुनेले मात्र होइन, नहुनेले पनि खर्च गर्छन् । खर्च गर्न नडराउनेसँग कर लिन किन डराउनु ? त्यसैले तीजमा छमछमी नाच्ने महिलाहरुबाट नाचगान कर लिनुपर्छ ।

तीजको पर्सिपल्ट ऋषिपञ्चमी । त्यो दिन दतिवन टोक्ने महिलाहरुबाट दतिवन कर उठाउनुपर्छ । 

तीजपछि सोह्रश्राद्ध आउँछ । श्राद्धको बेला पिण्डमा कर लगाउनुपर्छ । सिदा दान दिएर मरेका पितृलाई बैकुण्ठसम्म तार्न सक्ने पण्डित र पितृ तार्न खोज्ने जजमानले सरकारलाई कर तिर्न सक्दैन भनेर त कल्पना पनि गर्न सकिंदैन । त्यसमाथि एकैदिन ५० ठाउँमा श्राद्ध गर्न पुग्ने, पोकाका पोका सिदा बटुलेर ल्याउने पण्डितले थोरै कर तिर्दा के हुन्छ ? सोहश्राद्धमा पण्डित र जजमान दुवैलाई सोह्र दिने कर भनेर हरेक दिन १६ वटा करको व्यवस्था गर्नुपर्छ ।

सोह्र श्राद्धपछि दसैँ आउँछ । दसैँमा त झन् सबैका गोजीमा पैसा हुन्छ । नयाँ नयाँ कटकट परेका नोट खेलाउने सबैलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मै लगातार कर लगाउँदा पनि केही फरक पर्दैन । जमरा कर, अक्षता कर, आशीष कर, खसीबोका र हाँसकुखुरा कर, नयाँ लुगा कर, ससुराली जाँदा ससुराली कर, मावल जाँदा मावली कर लाउँदा मावली र ससुरालीमा पाएको दक्षिणाको सार्थकता बढ्छ । मावली र ससुराली जाँदा बाटो कर, खोला तरेको कर, सासु ससुरा र मामामाइजूले ढोगेको कर, कोसेली र दानदक्षिणा कर सबै उठाउनुपर्छ ।

तिहारमा पनि थप कर तिर्ने हैसियत सबैमा हुन्छ । फूल कर, माला कर, कुभिण्डो कर, गोबर, भाइटीका कर, भाइमसला कर, झिलिमिली बत्तिमा कर तिर्न सरकारले कर गर्नुपर्छ । देउसीभैली भट्याउनेसँग पनि कर उठाउनुपर्छ ।

छठ, ल्होसार, माघी सबै पर्वमा उसैगरी कर लिने र दिने बानीको विकास गर्नुपर्छ । अझ स्वस्थानी व्रतको बेला बेलपत्र र धतुरोमा कर थप्नुपर्छ । अनि बिहेको लगनमा लिंगाचौका कर, जन्तीबाख्रा कर, सम्धी ढोगभेट कर, मुख हेराहेर कर र हनिमुन कर थप्नुपर्छ ।

यी त कर लिन पल्केका गाउँगाउँका सरकारलाई केही सजिलो उपाय मात्र भयो । अझै कर लिने बाटो खोज्नुपर्छ । जताततै करको दर बढाएर मान्छेको दिमागमा डर भर्नुपर्छ । करको डर बढेपछि मान्छेलाई आफ्नै भर लाग्दैन । गर या मरको अवस्थामा पुग्छ । नागरिक र सरकारको दूरी वर वर हैन, झन् पर पर हुन्छ । त्यसपछि त गाउँको सिंहदरबार केन्द्रमा सर, भत्किन के बेर संघीयताको घर ।

याे पनि पढ्नुहाेस् । 

गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले

अन्तिम अपडेट: असोज २८, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया