लाखेजात्रा संस्कृतिको जगेर्नामा जुटे युवा

 भदौ ११, २०७५ सोमबार ११:२७:३७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी र आसपासका नेवार समुदायका युवाहरु लाखेजात्रा संस्कृतिको जगेर्नामा जुटेका छन् ।

नेवार सामुदायमा भित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रुपमा मनाइने लाखेजात्रा जोगाउन जुटेका हुन् । संखुवासभामा पुस्तौ पुस्ता अगाडि देखि लाखे जात्रा निकाल्दै आए पनि पछिल्लो समय युवाहरुको आकर्षण नहुदाँ लोप हुँदै जान थालेका थिए । तर केही वर्षदेखि खाँदबारी र आसपास क्षेत्रका नेवार समुदायका युवाहरु जुटेका हुन् । नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा लाखेनाच सुरु भई कृष्ण जन्मअष्टमीका दिन अन्त्य हुने गर्दछ ।

लाखे नाच अर्थात गाईजात्रा, हिलेजात्रा मनाउने क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङग प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिन लाखेजात्रा मनाईने गरेको खाँदबारीका अस्मिन बज्राचार्यले बताउनुभयो । 

स्थानीय युवाहरु मौलिक संस्कृति र परम्परा संरक्षणको अभियान स्वरुप कृष्णशुक्ल पक्षको नाग पञ्चमीदेखि सदरमुकाम खाँदबारी बजारमा रहेको खाँदबारी युथ क्लबको अगुवाईमा लाखे जात्रा प्रदर्शन गरिरहेको युथ क्लबका सदस्य सुगन श्रेष्ठले बताउनुभयो । 

नेवार समुदायमा प्रचलित लाखे नाच संखुवासभाका विभिन्न क्षेत्रमा निकै लोकप्रिय छन् । लाखे नाचका बेला राक्षस कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाईंका प्रतिकका रूपमा विभिन्न काला, सेता र अन्य रगंका मुखुण्डो लगाएका ढटुवारे र अन्य हाँस्य पात्रका रुपमा प्रदर्शन गरिन्छ । उनीहरुको मनोरञ्जनात्मक गतिविधिले स्थानीयबस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ । 

खाँदबारीको लाखेजात्रा हेर्नको लागि जिल्लाका कुनाकन्दरा भोटखोला, मकालु, सभापोखरी र सिलिचोङ्ग लगायतका गाउँहरुबाट समेत आउने गर्दछ ।

त्यसका साथै छिमेकी जिल्ला भोजपुरका दिङ्ला, नेपालेडाँडा र सोमबारे लगायतका सर्वसाधरणको समेत भीड लाग्ने गरेको छ । सदरमुकाम खाँदबारीका साथै मानेभञ्जाङ्ग, गोलाबजार, पोखरी सिद्धकाली, बाह्रबिसे, सिभुवा स्याबुन, चैनपुर र तुम्लिङ्गटार लगायतका स्थानमा लाखे नचाउने गरिन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया