राज कपूरद्वारा निर्माण गरिएको आर.के स्टुडियो बेचिने

 भदौ ११, २०७५ सोमबार ११:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा ७० वर्ष भन्दा बढी सेवा दिइसकेको आर. के स्टुडियो बेच्न लागिएको छ । कपूर खानदान छिट्टै नै राज कपूरद्वारा निर्माण गरिएको आर.के.स्टुडियो बेच्ने तयारीमा छ । कपूर खानदानको यो आर.के.स्टुडियो सन् १९४८ मा राज कपूरद्वारा मुम्बइको चेम्बुरमा करिब २ एकड जमीनमा बनाइएको थियो । कपूरले यो स्टुडियो आर.के.ब्यानरमा फिल्म निर्माण सुरु गरेसँगै निर्माण गरेको थिए । 

सन् १९८८ मा राज कपूरको मृत्युपछि उनको परिवारले यो  स्टुडियो चलाइरहेको थियो । आर.के. स्टुडियो बेच्ने निर्णय कपूर खानदानले मिलेर गरेको हो । स्टुडियो बेच्न राज कपूरकी श्रीमती कृष्णा, उनका छोरा रणधिर कपूर, ऋषि कपूर, राजिव कपूर र छोरीहरु रीमा जैन र ऋतु नन्दाले पनि स्वीकृति दिइसकेका छन् । 

कपूर खानदानले आर.के. स्टुडियोको आधा हिस्सा मात्रै बेचिरहेका छन् । बाँकीको आधा हिस्सा पुनः मर्मत गरिनेछ ।  ऋषि कपूरले सञ्चार माध्यमसँगको कुराकानीमा भने ‘हामी आ.के स्टुडियो बेचिरहेको खबर साँचो हो । यो निर्णय हाम्रो परिवारले मुटुमा ढुंगा राखेर लिनु परिरहेको छ ।’

आर. के स्टुडियोको ब्यानरमा सन् १९९९ मा अन्तिम फिल्म ‘आ अब लौट चले’ बनेको थियो । यस फिल्ममा ऐश्वर्या राय बच्चन र अक्षय खन्नाको मुख्य भूमिका रहेको थियो । यस फिल्ममा राजेश खन्ना पनि अहम भूमिकामा थिए । 

गएकाे वर्ष सेप्टेम्बर १६ मा एक डान्स रियालिटी शो को छायांकनका क्रममा आर.के स्टुडियोमा आगलागी भएको थियो । आगलागीका कारण स्टुडियोमा राखिएका कयौं महत्वपूर्ण वस्तुहरु जलेर नष्ट भएका थिए । फिल्म ‘मेरा नाम जोकर’ का क्रममा राज कपूरले प्रयोग गरेको  मुखौटा पनि जलेर नष्ट भएको थियो ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया