यस वर्षको मदन पुरस्कार निलमको ‘योगमाया’ लाई, मानन्धरलाई जगदम्बाश्री पुरस्कार

 भदौ ११, २०७५ सोमबार १७:३३:३१ | उज्यालो सहकर्मी

काठमाडौं –  यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ लाई दिइने भएको छ ।

त्यस्तै पाँच दशकदेखि ‘बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धन’ मा समर्पित शान्तदास मानन्धरलाई २०७४ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने सोमबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले निर्णय गरेको छ । 

२०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियने । यीनै आठवटा पुस्तकमध्येबाट याेगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएकाे हाे । 

गुठीले घोषणा गरेका श्रेष्ठ आठ पुस्तकहरुमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका थिए । 

‘योगमाया’ १९२० मा भोजपुरमा जन्मेर तात्कालीन सामाजिक व्यवस्थाको विरुद्ध विद्रोह गर्ने सामाजिक अभियन्ता योगमाया न्यौपानेको जीवनमा आधारित कृति हो । उनले सुरु गरेको समाज सुधार अभियानले पूर्वी नेपालमा मात्रै होइन, राजधानीमा रहेको राणा सरकारमा समेत ठूलो हलचल ल्याएकी थिइन् ।

दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ । दुवै जनालाई दशैको घटनस्थापनाको अर्को दिन काठमाडौंमा विशेष कार्यक्रम गरी सम्मानित गरिने गुठीले जनाएको छ । 

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएकाे थियो । 

२०४५ सालमा मदनशम्शेरकी पत्नी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरुप जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया