दश वर्षमा कर्णालीलाई सबैभन्दा धनी प्रदेश बनाउनुहोस् : जनार्दन शर्मा

 जेठ १८, २०७५ शुक्रबार १९:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net


सुर्खेत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले १० वर्षभित्र कर्णालीलाई सबैभन्दा धनी प्रदेश बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न ‘कर्णाली प्रदेशको आर्थिक वर्ष २०७५-७६को नीति तथा कार्यक्रम तयारी छलफल कार्यक्रम’ मा बोल्दै पूर्वमन्त्री शर्माले केन्द्रीय सरकारले दिने अनुदानभन्दा दश गुणा ठूलो आकारको बजेट ल्याउनुपर्ने बताउनुभयो । 

अनुदान रकमले अपुग बजेट ऋण लिई तत्काल प्रतिफल प्राप्त हुने आयोजनामा लगानी गर्नुपर्ने पूर्वमन्त्री शर्माको भनाई छ । क्रमभंगता नगरी कर्णाली प्रदेशको विकास र समृद्धि गर्न नसकिने बताउँदै उहाँले क्रमभंगताको सामना गर्ने इच्छाशक्ति कर्णालीका जनतासँग रहेको धारणा राख्नुभयो । 

समृद्धि र सामाजिक न्यायसहितको समाजवादी व्यवस्था आफूहरुको गन्तव्य भएको भन्दै पूर्वमन्त्री शर्माले जनताका आकांक्षा, आवश्यकता र आवाजमा आधारित वैज्ञानिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । तीव्र भौतिक पूर्वाधारको विकास, उत्पादनमा जोड, सामाजिक न्यायको स्थापना, उत्पादनमूलक ठूला उद्योग तथा परियोजनामा जनताको स्वामित्वको स्थापना गर्नुपर्ने उहाँले वताउनुभयो । 

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका पूर्वमन्त्री शर्माले कर्णाली प्रदेशमा लगानीको वातावरण निर्माणका लागि पनि केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले गर्नुपर्ने कामका लागि आफू लड्न तयार रहेको बताउँदै नेता शर्माले केन्द्रले उपेक्षा गर्ला कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । 

छलफल कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको समग्र विकासका लागि सरकार, संसद र कर्मचारी प्रशासनको साझा बुझाई कायम गरी दीर्घकालीन योजना निर्माण गरेर कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रदेश सरकार तीव्र गतिमा दौडेर मात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताउँदै उहाँले  संघीय सरकार र प्रदेश सरकारका कामकारबाहीमा एकरुपता पैदा हुनुपर्नेमा जोड गर्नुभयो । 
 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया