सल्यानमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दो, दर्ता गर्नेमा महिलाभन्दा पुरुष बढी

एकैदिन तीन पुरुषका सम्बन्ध विच्छेदका मुद्धा

 भदौ १२, २०७५ मंगलबार १८:२४:२८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालत सल्यानमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । 

जिल्ला अदालत सल्यानको मंगलबारसम्मको रेकर्ड अनुसार सम्बन्ध विच्छेदका मुद्धा दर्तामा महिला भन्दा पुरुष बढी  देखिएका छन् । 

जिल्ला अदालत सल्यानमा भदौ १ गते यता  सातवटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा चारवटा सम्बन्ध विच्छेदको मुद्दा पुरुषले दायर गरेको अदालतले जनाएको छ । 

चारवटामध्ये तीनवटा मुद्धा भदौ ५ गते एकै दिनमा अदालतमा दर्ता भएको निमित्त श्रेस्तेदार हरि बहादुर राम्जाले जानकारी दिनुभयो । 

‘मुद्धा दर्ता गर्नेमा महिला भन्दा पुरुष बढी छन्,’ राम्जाले भन्नुभयो, ‘५ गते एकैदिन ३ वटा मुद्धा दर्ता भए भने अर्को मुद्धा ७ गते दर्ता भयो । गत वर्षको रेकर्ड अनुसार जिल्ला अदालत सल्यानमा दर्ता भएका कुल मुद्धामा ३८ प्रतिशत मुद्धा दर्ता भएका थिए । तर अहिलेको यो आँकडाले बढ्दो सम्वन्ध विच्छेदका मुद्धामा महिलाहरुलाई पुरुषले उछिन्न सक्ने देखिन्छ ।’ 

सम्बन्ध विच्छेदको मुख्य कारण घरझगडा 

पुरुषहरुले दर्ता गरेका सम्बन्ध विच्छेदका मुद्धाहरुको मुख्य कारण घरझगडा देखिएको छ । शारदा नगरपालिका वडा नम्बर ६ बरला निवासी २८ वर्षीय ईन्द्र बहादुर कामीले श्रीमती ३० वर्षीया मनि कुमारी विकसँग सम्बन्ध विच्ेछद गरी पाउँ भनी जिल्ला अदालतमा भदौ ५ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउनुभयो । 

श्रीमतीसँग केही विषयमा झै झगडा भएपछि उनी माईतीमा गएको र लिन जाँदा पनि घर आउन नमानेकोले घर व्यवहार चलाउन गाह्रो भएपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नुपरेको उनले दिएको निवेदनमा उल्लेख छ ।  

यस्तै त्यसैदिन जिल्लाको शिद्द कुमाख गाउँपालिकाका २६ वर्षीय तलिकराज वलीले आप्mनी श्रीमती आस्था भुजेल वलीसँग घर झगडा तथा विभिन्न कारणहरुले गर्दा सँगै बस्ने वातावरण नभएपछि जिल्ला अदालत सल्यानमा भदौ ५ गते सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभयो । 

यस्तै भदौ ५ गते अर्को पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता भयो । शारदा नगरपालिका वडा नम्बर १४ निवासी २६ वर्षीय सन्तोष घर्ती मगरले २३ वर्षीया निर्मला बस्नेतसँग सम्बन्ध विच्छेद गरी पाउँ भनि अदालतमा मुद्दा दायर गर्नुभयो । 

०७१ सालमा बिहे भएको र केही वर्षसम्म सम्बन्ध राम्रै रहे पनि  सामान्य झगडापछि ४ वर्षीय छोरासहित लिएर माइतीमा बस्दै आएको बेला आफूलिन जाँदा ज्यान मार्ने धम्की दिँदै फर्काएको बताउँदै उनले अब सम्बन्ध विच्छेद गर्नेतर्फ सोचेको बताउनुभयो । 

शिद्द कुमाख गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय मिन प्रसाद रेउले श्रीमती ३० वर्षीया शारदा कुमारी बुढाले आफूलाई कुनै जानकारी नै नगराएर माइतीमा गएको बेला वैदेशिक रोजगारीका लागि कुवेत गएको र फर्किएर आएपछि माइतीमा लिन जाँदा ‘मैले अरुसँगै बिहे गरिसकेँ, तँ सँग जान्न’ भनेर घर फर्काएको बताउनुभयो । 

अहिले आफुलाई एक्लै जीवन बिताउन असहज भएपछि भदौ ७ गते सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभयो । 

अदालतको पनि सकेसम्म मेलमिलापको नीति

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राम्जाका अनुसार भदौ १ गतेदेखि नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको छ ।

विभिन्न कारणहरु देखाउँदै  सम्बन्ध विच्छेदका मुद्दाहरु आएको अदालतका निमित्त श्रेस्तेदार हरि बहादुर राम्जाले जानकारी दिनुभयो । अहिले भदौदेखि नयाँ संहिता लागू भएपछि नयाँ नयाँ प्रकृतिका मुद्दा आउन थालेको उहाँले बताउनुभयो । 

‘अदालतले २१ दिने म्याद जारी गर्छ’, उहाँले भन्नुभयोे, ‘यस अवधिमा प्रतिवादीले पनि प्रतिउत्तर लाउने र आप्mनो दावी राख्न सक्ने छन् ।’

अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए पनि एकवर्षपछि सम्बन्ध विच्छेदको फैसला गरिने राम्जाको  भनाइ छ ।

‘यसअघि सम्बन्ध विच्छेदका लागि महिला सोझै अदालत जानसक्ने व्यवस्था भए पनि  पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन ।’ सरकारी वकीलको कार्यालय सल्यानका प्रमुख बासुदेव शर्माले भन्नुभयोे ।

‘पहिले सम्बन्ध विच्छेदका लागि महिला सोझै अदालत जाने व्यवस्था थियो उहाँले भन्नुभयो’, पुरुषले गाउँ विकास समिति तथा गाउँपालिका, नगरपालिका लगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो, तर अहिले सिधै अदालतमा आएर मुद्दा दर्ता गर्न मिल्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न थालेका छन ।’

सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गइरहेको बताउँदै उहाँले अब नयाँ कानुनबारे सर्वसाधारणलाई सबै कुराको ज्ञान नभएकाले स्थानीय जनप्रतिनिधिले यसतर्फ विशेष ध्यान दिनु पर्ने बताउनुभयो । 

‘नयाँ ऐन कानुनका बारेमा गाउँपालिका र नगरपालिकाले स्थानीयस्तरमा जनचेतना फैलाउनु जरुरी देखिएको छ,’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया