भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा क्रान्तिकारी लेखक राव पक्राउ

 भदौ १३, २०७५ बुधबार ९:३४:२२ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई महाराष्ट्र प्रहरीले गिरफ्तार गरेको छ ।

प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको र महाराष्ट्रको भिमा कोरेगावँ हिंसामा संलग्नता भएको आरोपमा रावलाई हैदराबादबाट पक्राउ गरिएको हो । हैदराबादमा रहेका रावका दुई जना छोरीको घरमा पनि महाराष्ट्र प्रहरीले छापा मारेको छ । 

मंगलबार नै अन्य ठाउँबाट समेत सामाजिक कार्यकर्ताहरुलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ । मुम्बईबाट वेरनोन जोञ्जालुइस र अरुण फरेरा, दिल्लीबाट गौतम नौलखा, फरिदाबादबाट सुधा भारद्वाजलाई गिरफ्तार गरिएको छ ।

सन्  २०१८ को सुरुवातमा महाराष्ट्रको भीमा कोरेगांवमा दुई समुदायबीच भएको साम्प्रदायिक हिंसाको अनुसन्धानका लागि भन्दै पुणे प्रहरीले यो कारबाही थालेको हो । 

सामाजिक कार्यकर्ताको गिरफ्तारीपछि यसको सर्वत्र विरोध भएको छ । चर्चित लेखक अरुन्धती रोय भन्छिन, ‘यो संकटकाल घोषणा गर्न लागिएजस्तै हो ।’ खुलेआम नागरिकको हत्या गर्ने, भिडतन्त्र मच्चाउनेहरुलाई पक्राउ गर्नुको साटो वकील, कवि, लेखक, दलित चिन्तक तथा बुद्धिजीविहरुलाई पक्राउ गरिनु भारत कुन बाटोतर्फ गैरहेको छ भन्ने कुराको स्पष्ट संकेत भएको रोय बताउँछिन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया