दिदी मलाई बचाउनुस् भन्दा पनि भाइलाई बचाउन सकिन:  सुनिता

रहरमै सीमित भयो किनेको नयाँ लुगा र चप्पल लाउने दलित परिवारको सपना

 भदौ १३, २०७५ बुधबार १५:५४:९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको बागचौर नगरपालिका -४, सेतोगुराँसमा घर भत्किएर दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ । 

बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसमा घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा घरमुली ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकली कामी, छोरीहरु ७ वर्षीया गंगा विक, ६ वर्षीया प्रमिला र छोरा ४ वर्षीय रुपलाल रहेका छन् । 

अर्की छोरी ९ वर्षीया काईंली छोरी सुनिता भने सामान्य घाइते भइन् । रामलालका ६ छोरी र एक छोरामध्ये जेठी छोरीको भने बिहे भैसकेको थियो । 

लगातारको वर्षाका कारण घरको भित्ता कमजोर भएर भत्किँदा घरको दलिनसमेत भाँच्चिएपछि घरको माथिल्लो तलामा सुतिरहेका उनीहरु तल्लो तलामा खसेका थिए । 

भत्किएको भित्ताले मुख र टाउको च्यापिँदा निसास्सिएर मृत्यु भएको हुन सक्ने घटनास्थल पुगेका सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयो । 

घटना भएको घर जंगलको छेउमा एकलास ठाउँमा रहेको र समयमै खबर थाहा हुन नसक्दा उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । खबर पाउनेबित्तिकै राति नै प्रहरी घटनास्थल पुगेको थियो । 

दिदी मलाई बचाउनुस् भन्दा पनि भाइलाई बचाउन सकिनँ: दिदी सुनिता 

‘हामी सबेरै सबै जना सुतिसकेका थियौँ । मेरो टाउको र चिउँडोमा चोट लागेपछि थाहा पाएँ हाम्रो घर भत्किएको रहेछ । भाइ चिच्याइरहेको थियो । दिदी मलाई बचाउनुस् भनेर बेस्सरी भाइ कराइरहेको थियो ।’

‘आमा बुवालाई बोलाएँ तर नबाेलेपछि मलाई बिहान भैसकेको जस्तो लागेकोे थियो । बुवा आमा सधैं झैं बिहानै उठेर घाँस दाउरा गर्न गैसक्नुभएको होला र नबोल्नुभएको होला जस्तो लाग्यो । म भाइ कराएको ठाँउतिर गएँ । भाइ च्याप्पिएको थियो । निकाल्न खोजेँ तर सकिनँ । जताजतै अँध्यारो थियो ।’

‘नजिकैबाट हँसिया र कुटोले माटो कोट्याएर भाइलाई निकाल्न प्रयास गरेँ तर सकिनँ । भाइ निकै चिच्याइरहेको थियो । कसैगरी नसकेपछि म १५ मिनेट लाग्ने हजुरबुवाको घर दौडेर गएँ अनि सबैलाई बोलाएर ल्याएँ । पछि हेर्दा त आमा बुवा र बहिनीहरु समेत पुरिएर मरिसकेका रहेछन् ।’ 

रहरमै सीमित भयो किनेको नयाँ लुगा र चप्पल लाउने दलित परिवारको सपना 

स्थानीय भिम बहादुर विकका अनुसार मृतक विकको परिवार दिनभर काम गरेर दुई छाक टार्ने परिवार हुन् । मंगलबार मात्रै रामकलीले पाँच छोरी, एक छोरा र श्रीमान श्रीमतीको लागि भनेर नयाँ लुगाकपडा र चप्पल किनेर ल्याएकी थिइन् ।

‘वर्षमा एकपटक फेरिने नयाँ लुगा लगाउने उनीहरुको धोको कहिल्यै पूरा भएन’ स्थानीय विकले भने, ‘नयाँ लुगा लगाएर स्कुल जाने सानी नानीहरुको सपना थियो होला । हिजो मात्रै बांगेलाकुरीबाट किनेर ल्याएकी थिइन् तर सपना पूरा हुन पाएन ।’

 छिमेकीको घरमा सुत्न गएकाले बाँचे पुतला र कमला 

पुरिएर पाँचजनाको ज्यान गए पनि माइली छोरी १३ वर्षिया पुतला र सार्इ‌ंली छोरी १० वर्षिया कमला भने बाँच्न सफल भए । उनीहरु बेलुकी नै साथिको घरमा उतै सुत्न भनेर गएका कारण बाँच्न सफल भएका हुन् ।

माइली छोरी पुतलाले भनिन्, ‘हामी साथीको घरमा उतै सुत्न भनेर गएका थियौँ, राति एक्कासी घर भत्किएर भाइ च्याप्पिएको खबर सुनेपछि घरमा आएका हौँ ।’

उनका अनुसार घरको दलान पहिले पनि सामान्य हिँड्दा समेत हल्लिने गरेको थियो । ‘घर पुरानो छ भनेर बुवाले भन्नु त हुन्थ्यो तर हामीसँग पैसा थिएन, उनले रुँदै भनिन् ।’

 जिल्ला प्रशासनको एक लाख सहयोग 

घटनास्थल पुगेका वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी, प्रमुख जिल्ला अघिकारी कमल राज ढकाल, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले पीडित परिवारको लागि सहयोग हस्तान्तरण गरे ।

प्रजिअ ढकालले पीडित परिवारको लागि राहत र किरिया खर्च बापत् एक लाख सहयोग रकम मृतक रामलाल कामीका बुवा देवीलाल विकलाई हस्तान्तरण गर्नुभयाे । यस्तै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले पनि पीडित परिवारलाई राहत सहयोग गर्ने बताउनुभयाे ।

उहाँले पीडित परिवारमा बाँच्न सफल १३ वर्षीया कमला, १० वर्षीया पुतला र ९ वर्षीया सुनिताको पालनपोषण र शिक्षादीक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया