बालिका सोनालीको हत्यारालाई पक्राउको माग गर्दै प्रदर्शन, प्रहरी भन्छ : हत्याराको पहिचान भैसक्यो

 भदौ १३, २०७५ बुधबार १९:५९:४९ | धनवीर महतो

महोत्तरी – महोत्तरीको औरहीमा स्थानीय महिलाहरुले अवोध बालिका सोनाली चौधरीको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार दिउँसो प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै प्रर्दशन गरेका छन् । हातहातमा प्लेकार्ड बोकेका महिलाहरुको एक समूहले नगर परिक्रमा गर्दै हत्यारा र अपहरणकारीलाई चाँडै नै पक्राउ गरी कारबाहीको माग गरेका हुन् ।

सीसीटीभीको फुटेजको आधारमा बालिका अपहरण गर्ने व्यक्तिको पहिचान भैसक्दा समेत प्रहरीले पक्राउ नगरेको भन्दै महिलाहरु स्थानीय प्रहरी, प्रशासनको विरोधमा आन्दोलित बनेको स्थानीय सञ्चारकर्मी धर्वेन्द्रकुमार यादवले बताउनुभयो ।

घटनामा संलग्न व्यक्तिको पहिचान भैसक्यो : प्रहरी

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिका अपहरण गर्ने व्यक्तिको पहिचान भैसकेको जनाएको छ । पसलमा रहेको सीसीटीभीकोे अधारमा बालिका अपहरण गर्ने कार्यमा महोत्तरी भंगहा नगरपालिका ६ जमुनियाँका २५ वर्षीय भरत साह रहेको प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिनुभयो ।

घटनामा संलग्न साहको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडका, इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक  नकुल पोखरेल र इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टको नेतृत्वमा अलग–अलग टिम बनाई प्रहरी परिचालन गरिसकेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

स्थानीयले गरे बजार र सडक बन्द 

बालिका सोनालीको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीय नागरिकहरुले बुधबार औरही बजार बन्द गर्दै बर्दिवास–जलेश्वर सडकखण्डमा धर्नामा बसेका छन् । औरही उद्योग वाणिज्य संघका सदस्य राजु चौधरीले घटनामा संलग्नको पहिचान खुले पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै आफूहरु आन्दोलनमा उत्रेको जनाएका छन् ।  

गएको आइतबार औरही –१ मा रहेको सिद्धान्त फेन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई खेलाउने निहुँमा भंगाहा सीतापुर ६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा  अपहरण गरी लगेका थिए । सोमबार बालिकाको शव औरही गाउँभन्दा पूर्वपट्टि खेतमा भेटिएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया