आवासीय विद्यालय प्रभावकारी, गोरखामा ६० हजारभन्दा बढी विद्यार्थी विद्यालय भर्ना

 जेठ १९, २०७५ शनिबार ८:२:४८ | किरण लोहनी

गोरखा, जेठ १८ – सरकारले आवासीय विद्यालय सञ्चालनलाई प्राथमिकता दिएपछि विकट क्षेत्रमा धेरै विद्यार्थीहरु विद्यालय भर्ना भएका छन् ।

विद्यार्थी भर्ना अभियानका क्रममा गोरखामा यो वर्ष ६० हजारभन्दा बढी विद्यार्थी भर्ना भएका हुन् । वैशाखभर चलेको अभियानका क्रममा ६० हजार २ सय ८४ जनालाई विद्यालय भर्ना गरिएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

यी मध्ये नयाँ भर्ना हुने विद्यार्थीको संख्या भने ६ हजार ८ सय २५ रहेको छ । उनीहरु सबै प्रारम्भीक बाल विकास कक्षा अर्थात इसीडीमा भर्ना भएका हुन् । सरकारले विद्यालय जाने उमेर भएका सबैलाई अनिवार्य रुपमा विद्यालय शिक्षामा समेट्ने उदेश्यसहित हरेक वर्ष शैक्षिक सत्रको पहिलो महिनामा विद्यार्थी भर्ना अभियान चलाउने गरेको छ । यो क्रममा घरदैलो, अभिभावक भेटघाट लगायतका कार्यक्रम हुँदै आएका छन् । 

अब विद्यालय आएका बालबालिकाहरुलाई निःशुल्क र गुणस्तरिय शिक्षा दिँदै विद्यालयमा टिकाइराख्न सम्बन्धित विद्यालयहरुले पहल गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख दीपेन्द्र सुवेदीले बताउनुभयो । भर्ना अभियान सकिए पनि गोरखामा कति बालबालिका अझै विद्यालय बाहिर छन् भन्ने यकिन तथ्याङ्क भने प्राप्त भैसकेको छैन ।

११ वटै स्थानीय तहबाट त्यो विवरण संकलन गरी छुटेकाहरुलाई पनि विद्यालय शिक्षामा समावेश गराउनका लागि पहल गरिने सुवेदीको भनाई छ । गएको वर्षको तथ्याङ्क अनुसार गोरखामा विद्यालय जाने उमेरका शून्य दशमलव ५ प्रतिशत अर्थात करिब ८ सय बालबालिका विद्यालय बाहिर थिए । 

आवासीय विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्यो

गोरखाको चुमनुब्री गाउँपालिकामा विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउनु र विद्यालयमा टिकाइ राख्नु चुनौतीपूर्ण रहने शिक्षाकर्मीहरुले बताउँदै आएका छन् ।

कठिन भौगौलिक बनावटका कारण विद्यालयसम्मको दूरी टाढा भएका कारण विद्यार्थीहरुलाई विद्यालय शिक्षातर्फ आकर्षित गर्न नसकिएपछि सरकारले योे क्षेत्रमा आवासीय विद्यालय स्थापनामा जोड दिँदै आएको थियो । चुमनुब्रीका विभिन्न वडामा अहिले ५ वटा आवासीय विद्यालय सञ्चालनमा रहेका छन् ।  त्यस्तै खालको अर्को एउटा विद्यालय भने आरुघाट गाउँपालिकामा रहेको छ । 

चुमनुब्रीको गौरीशंकर आधारभूत विद्यालय सामागाउँ, ल्हो आधारभूत विद्यालय, नुब्री आधारभूत विद्यालय गप, बुद्ध आधारभूत विद्यालय छेकम्पार र बुद्ध मावि सिर्दिवासमा आवासीय सुविधासहित पढाई हुँदै आएको छ । ती सबै विद्यालयमा ३ सय ८० विद्यार्थीका लागि आवासीय कोटा उपलब्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । मान्बुका भवानी माविमा भने १ सय कोटा उपलब्ध छ ।

आवासीय कोटा अन्तर्गत छात्रावासमै बसेर पढ्ने विद्यार्थीका लागि सरकारले मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यस्तै विद्यालयका लागि प्रति विद्यार्थी १५ हजार रुपैयाँका दरले वार्षिक रुपमा ब्यवस्थापन खर्च उपलब्ध भैरहेको इकाईका प्रमुख सुवेदीले बताउनुभयो । अर्को शैक्षिक सत्रबाट हिमाली र उच्च पहाडी क्षेत्रका थप विद्यालयमा आवासीय कोटा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।

केरौंजा मावि, मणिकामदेवी मावि लाप्राक र सिद्धिगणेश प्रावि चुम्चेतमा १ सय आवासीय कोटा उपलब्ध गराउन शिक्षा विभागलाई आग्रह गरिएको सुवेदीले बताउनुभयो । दुर्गम क्षेत्र, आर्थिक विपन्नता लगायतका कारण हिमाली र उच्च पहाडी क्षेत्रका बालबालिका विद्यालय शिक्षाप्रति खासै आकर्षित नभएपछि सरकारले आवासीय रुपमै पठनपाठनको अवधारणा ल्याएको हो ।

गाउँ नजिकैको गुम्बामा खानेबस्ने सुविधासहित पढ्न पाइने भएपछि चुमनुब्री गाउँपालिकाका अधिकांश बालबालिका गुम्बामा बौद्ध शिक्षा अध्ययनका लागि जाने गरेका थिए । तर त्यहाँ पनि केही वर्ष पढेपछि उनीहरुको पढाई अलपत्र पर्ने गरेको थियो ।

सामुदायिक विद्यालयहरुमा आवासीय सुविधासहित पढ्न पाइने भएपछि विद्यालय शिक्षाप्रति त्यहाँका बालबालिकाको आकर्षण बढेको छ । तर विद्यार्थी संख्याको तुलनामा आवासीय कोटा निकै कम भएकाले त्यसलाई बढाउनका लागि अभिभावकहरुले माग गर्दै आएका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया