बलात्कारीलाई सजाय : मृत्युदण्डको विकल्प छैन, तर अहिल्यै असम्भव

 भदौ १४, २०७५ बिहिवार ९:२०:४२ | डा. विमला राई पौडेल
unn.prixa.net

दिनमा तीनदेखि चार जनासम्म बलात्कृत भइरहेका घटनाले मलाई निकै दुःख लागिरहेको छ । यो महिलाको मात्रै सवाल होइन, यो पुरै समाज र देशको  सवाल हो । हामी दुःखी छौँ । तर दुःख मानेर मात्रै हुँदैन । एउटा सभ्य समाजमा बलात्कार हुनु हुँदैन । यसका पछाडि हाम्रो समाज बिरामी छ । 

सभ्य समाज, स्वस्थ्य समाजमा यस्तो हुँदै हुँदैन । एउटा त गरिबी, पछौटोपन पनि कारण हुन सक्छ ।  हाम्रो समाजमा गरिबी, विभेद, पछौटोपन अहिले पनि उत्तिकै छ । विकास गर्ने प्रक्रियामा त्रुटि छ । बेरोजगारी युवाको ठूलो जमात छ । 

अर्कातिर हामीसँग मानसिक रोगी पनि धेरै छन । मनोसामाजिक पक्षलाई हामीले त्यति राम्रोसँग ध्यान दिएका छैनांै । मानिसहरुमा नकारात्मक सोच हाबी छ । यसले आफ्नो कमजोरी लुकाउन अरुलाई बलात्कार जस्ता घटना गराएर शक्तिशाली ठान्ने गलत होडबाजी छ । 

यसअघि पनि बलात्कारका घटना हुन्थे । तर सार्वजनिक हुँदैनथे । तर अहिले बलात्कार मात्रै हँुदैन, बलात्कारपछि हत्या हुने क्रम बढेको छ । यो निकै डरलाग्दो छ । 

हामीसँग अहिले भएको कानुन कार्यान्वयन हुन सकेन । पहिलो कुरा कानुन नै कमजोर छ । दोश्रोमा भएको कानुन पनि कसैले कार्यान्वयन गर्दैन । तेश्रो चाहिँ हाम्रो सामाजिक सोच कस्तो छ भने बलात्कार कुनै घटना नै होइन भन्ने प्रवृत्ति छ । बलात्कार जस्तो जघन्य अपराधमा पनि मिलापत्र हुन्छ ।
 
अझ त्यही बलात्कारीसँग विवाह गरिदिने चलन छ । यसले गर्दा बलात्कारीहरु प्रोत्साहित भएका हुन की जस्तो पनि लाग्छ । एकातिर समाज अस्वस्थ्य छ । आक्रामक घटनाहरु बढेका छन । अर्कातिर आक्रामक घटनालाई रोक्ने कानुन बलियो हुनुको साटो कमजोर छ । जसले गर्दा बलात्कारका घटनाहरु बढिरहेका छन् । 

हामीले राष्ट्रियसभामा यसबारेमा बेलाबेला प्रश्न उठाएका छौं । सरकारको ध्यानाकर्षण गराएका छौं । अहिले डरलाग्दो कुरा के छ भने पहिला बलात्कार गरेर मानिसहरु भाग्थे । तर अहिले बलात्कारपछि हत्या गर्ने गरेका छन । त्यो भनेको चिनेजानेको मान्छेले नै बलात्कार गर्ने गरेका घटना बढिरहेका छन् । कञ्चनपुरकी निर्मला पन्तको घटना पनि यस्तै प्रकृतिको देखिन्छ । 

हामीले पटक पटक संसदमा कुरा उठाएका छांै कि घटना हुने बित्तिकै तत्काल उच्चस्तरीय छानबिन होस् । त्यसमा एकपक्षीय नभई स्थानीय नागरिक समाज, महिला अधिकारकर्मी, स्थानीय जनप्रतिनिधिलाई समेटौं । तर सरकारले शुरुमा सुनेन । अहिले छानबिन समिति बनाइएको छ । तर त्यो पनि एकपक्षीय छ । यसैलाई कमजोरी बनाएर प्रहरीले अर्कै व्यक्तिलाई दोषी देखाएर सार्वजनिक गर्‍याे ।
 
वास्तविक बलात्कारी र हत्यारा को थियो ? पत्ता लाग्न सकेको छैन । अनि दोषीलाई पक्राउ गर भनेर प्रदर्शन गर्दा सरकारले गोली बर्षाउँछ । यो राम्रो होइन । मैले यसबारेमा राष्ट्रियसभामा पटक पटक कुरा उठाएको पनि छु । 

अनुसन्धान समितिमा स्थानीयहरुसँगै केही विशेषज्ञ व्यक्तिहरु पनि हुनुपर्छ भनेर भनिरहेकी छु । किनकी यो निर्मला पन्तको विषय मात्रै होइन । अहिले जर्जर बनिरहेको बलात्कारका घटना न्युनिकरण गर्न पनि यसले ठूलो सहयोग गर्छ । 

कमजोर कानुन र फितलो कार्यान्वयन  

संविधानभन्दा बाहिर गएर बलात्कारीलाई मृत्युदण्ड दिन सकिने व्यवस्था छैन । हाम्रो संविधानले त्यो परिकल्पना गरेको छैन । तर बलात्कारीलाई मृत्युदण्ड दिनुको विकल्प छैन । बलात्कारका घटना यसरी बढ्नु, बलात्कारपछि विभत्स हत्या गर्नु, तर पनि बलात्कारी समाजमा टाउको उठाएर हिँड्नुले मृत्युदण्डको विकल्प छैन । तर अहिल्यै सकिंदैन । यसको विकल्पमा मृत्युदण्ड जत्तिकै सजाय हुने गरी आजीवन काराबासको सजाय हुनुपर्छ । 

सर्वस्वसहित आजीवन काराबास र श्रम शिविरमा राखेर काममा लगाउनुपर्छ भनेर हामीले माग गरेका छौं । संविधानमा यो व्यवस्था गर्न पनि हामीले राष्ट्रियसभामा संशोधन हालेका छौ ।   

तर यो महिलाको मात्रै सवाल होइन । बलात्कारका घटना बढ्नु भनेको हाम्रो समाज बिरामी भयो । यसलाई स्वस्थ्य पार्नुपर्छ । हाम्रा छोरीचेली असुरक्षित भए । यिनलाई सुरक्षित बनाउनुपर्छ । हाम्रा छोरा भाई पनि असुरक्षित भए । बलात्कार गर्दै हिँड्छन भने सुरक्षित छन् ती उनीहरु ? उनीहरुलाई पनि सुरक्षित राख्नुपर्छ । यो मुद्दा महिला सांसदले मात्रै उठाउने होइन । उठाएका पनि छौं । 

तर सबैले यो मुद्दामा गम्भिरता देखाउनुपर्छ । अर्को कुरा बलात्कारका घटना वा बलात्कारीलाई संरक्षण दिने कुरा सबैभन्दा ठूलो टाउको दुखाई बनेको छ । राजनीतिक संरक्षण, प्रहरी प्रशासनको संरक्षण, सामाजिक संघ संस्था र व्यक्तिका नजिकको मान्छेको संरक्षणका कारण बलात्कार गर्नेमाथि कारवाही हुन सकेको छैन । जबसम्म बलात्कार गर्ने दोषीलाई संरक्षण हुन छाड्छ, त्यो दिन दोषीलाई कारवाही हुन्छ । यो ‘पावर सेन्टर’नजिकका व्यक्तिले जब अपराधी र बलात्कारीलाई संरक्षण दिन छाड्छन्, तब मात्रै यो समस्याको समाधान हुन्छ । 

तर त्यसका लागि राजनीतिले पहिला कदम चाल्नुपर्छ । अहिले धेरै नागरिकका खासगरी सोझा नागरिकका र गरीब नागरिकका छोरी चेली बलात्कृत भएका होलान् । तर कुनै दिन आफ्नै छोरीलाई बलात्कार भयो भने हाम्रा नेताजीले के सोच्नुहुन्छ ? त्यो दिन आएपछि वा मेरी छोरी चेली ठिक छ भनेर चुप लागेर बस्ने बेला यो होइन । 

हामी सबै बस्ने समाज फोहोरी भयो । अस्वस्थ्य भयो । मानसिक रोगी भयो । यस्तो समाजमा बसेर राजनीतिकर्मी कसरी स्वस्थ्य हुन सक्छ ? त्यसैले हरेक नेताले, हरेक प्रशासकले, हरेक व्यक्ति र नागरिकले सोच्नुपर्छ । बलात्कारका घटना बढ्नुमा हामी सबै दोषी छौ । यसका लागि बलात्कारका दोषीलाई कारबाही गर्नुको विकल्प छैन । यसको शुरुवात राजनीतिककर्मीको प्रतिबद्धता र कानूनको कार्यान्वयन वा नयाँ कानून बनाएर गर्नुपर्छ । 

बलात्कार कसरी रोक्ने ?  

अब छोरीलाई साँझमा नहिँड, घुँडाभन्दा मुनिको लुगा लगाउ भनेर समाजले बलात्कार रोक्न सक्दैन । छोरीचेलीको कसुरभन्दा पनि छोराहरुको कसुरले गर्दा बलात्कारका घटना बढेका छन । हाम्रो समाज चाहिँ कस्तो छ भने छोरी चेली छाडा भए, छोरीहरुले आकर्षण बढाए अनि बलात्कृत भए भन्ने भ्रम छ । यसबाट बाहिर आउनुपर्छ । 

छोरीचेली र छोराहरुलाई अहिलेको जर्जर अवस्थाबाट बाहिर ल्याउनुपर्छ । अहिले कस्तो भएको छ भने बलात्कार एक ठाउँमा मात्र होइन, ठाउँ ठाउँमा भइरहेको छ । यो सरुवा रोग नै बनेको छ । बलात्कारको घटना एक ठाउँमा भयो भने त्यस्ता प्रवृत्तिका व्यक्तिले अर्को ठाउँमा पनि घटना गराउँछन् । अहिले त्यस्तै भइरहेको छ । कुनै समय भारतमा थियो । अहिले हाम्रो देशमा भयावह भएको छ । पहिला मिडियाबाट त्यति बाहिर आउँदैनथे बलात्कारका घटना । अहिले मिडियाको सक्रियताका कारण बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । 

अर्कोतिर नकारात्मक कुरामा धेरैको ध्यान गयो । एकातिर सामाजिक सञ्जालको बढ्दो प्रयोग, बिना रोकटोक इन्टरनेटमा पोर्न भिडियोहरु छ्याप्छ्याप्ती छन । त्यसको प्रयोगमा कसले रोक लगाउने ? यसका कारण पनि बलात्कारका घटना बढिरहेका छन् । 

बलात्कारका घटना रोक्नका लागि जनचेतनाका कार्यक्रम त्यति भएनन् कि ? कानुन कार्यान्वयन गर्न सकिएन कि ? कानुन कार्यान्वयन गर्ने निकाय नै जिम्मेवारीबाट पन्छिए कि ? कानुन कार्यान्वयन गर्ने व्यक्तिहरु नै बलात्कारीलाई संरक्षण गर्नतिर लागे कि ? यी विविध कारणले गर्दा बलात्कारका घटना बढेका हुन । 

यसको अवस्थालाई सुधार नगर्ने हो भने त भारतलाई नै नेपालले जित्छ कि बलात्कारका घटनामा भन्ने डर पनि बढ्यो । किनकी भारतमा बलात्कारीलाई मृत्युदण्डको सजाय ल्याएपछि यस्ता घटना कम भएको देखिन्छ । तर हाम्रो कडा हुनुपर्ने कानुन झन् नरम भएको छ । 

अहिलेको नयाँ मुलुकी ऐनको अपराध संहितामा ८ वर्षभन्दा मुनि उमेर समुहको बालिकालाई बलात्कार गरेमा बढीमा १५ वर्षसम्मको मात्रै जेल सजाय तोकिएको छ । २५ वर्षको महिला बलात्कार गर्नेलाई बढीमा ७ बर्षको जेल सजाय छ । कानुन कमजोर भएकाले पनि बलात्कारका घटना बढे । त्यसमाथि कानुनको कार्यान्वयन नै निकै फितलो भैदियो । जसकारण बलात्कारका घटना घट्नुको साटो झन् झन् बढ्न थालेका छन् । 

कम्तीमा पनि बालिका बलात्कार गर्नेलाई आजीवन जेल सजायको व्यवस्था भए बलात्कार गर्ने मानसिकता भएका व्यक्ति डराउँथे कि ? अथवा बलात्कारीलाई हदैसम्मको कारवाही गर्ने कुरामा सबैले जोड दिए, थप बलियो कानुन बन्थ्यो की ? तर यी कुरामा जोड दिइएको छैन । हामीले संशोधन हालेका छौं । त्यो कहिले संशोधन हुने हो टुंगो छैन । 

अर्को कुरा भएको कानुन पालना हुँदै भएन । हाम्रो कानुन कागजको खोस्टो जस्तै छ । वर्षौं लगाएर बनाइएका हाम्रा धेरै कानुन कार्यान्वयन भएका छैनन् । जसकारण कानुन कागजको खोस्टो सरह भएका छन् । बलात्कारका घटना दिनदिनै बढिरहँदा पनि कानुनको पालना नगर्ने हो भने हाम्रो देशले बलात्कारका घटनामा भारतलाई पनि जित्न सक्ने अवस्था आउन सक्छ ।

समाधान मृत्युदण्ड मात्रै हो त ? 

अहिले धेरैले बलात्कारीलाई मृत्युदण्ड दिए मात्रै बलात्कारका घटना रोकिन्छन् भनेका छन । यो नै सत्य होइन । मृत्युदण्ड जत्तिकै आजीवन काराबासको सजाय दिनुपर्छ । संविधानमा भएको व्यवस्था अनुसार मृत्युदण्ड होइन, मृत्युदण्ड जत्तिकै सर्वस्व हरण गरेर आजीवन काराबासको सजाय हुनुपर्छ । जसलाई छुट, माफी हुनुहुँदैन । अनि बलात्कारीलाई सरकारले पक्डेर जेलमा लिएर पाल्ने होइन । श्रमशिविरमा राख्नुपर्छ र पुरै काममा खटाउनुपर्छ ।  

अहिले संसदले नै खासगरी प्रतिनिधिसभाले महिला हिंसा, बलात्कारविरुद्ध जुन संकल्प प्रस्ताव पारित गरेको छ । यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । खाली सदनमा सांसदले छातीमा हात राख्दैमा यो संकल्प प्रस्तावले बलात्कार घट्दैन । यो सबैले मनन गर्नुपर्छ । आफ्ना छोरीचेलीलाई सुरक्षित राख्न स–साना कुरामा ध्यान दिनुपर्छ ।

यसबाहेक विद्यालयको पाठ्यक्रममै जनचेतना फैलाउने व्यवस्था गर्नुपर्छ । अब बालबालिकालाई बलात्कार गर्नु हुँदैन भन्ने कुरा सिकाउनु पर्दैन । यो सबैलाई थाहा छ । अब भने बलात्कार गर्ने व्यक्ति मानिस होइन पशु हो, बलात्कार गर्दा यति वर्ष वा आजीवन जेल सजाय हुन्छ भन्ने कुरा उल्लेख गर्नुपर्छ । संकल्प प्रस्तावले यो कुरालाई सहयोग गरेको छ । अब यसको कार्यान्वयन आवश्यक छ । 

हामी सबै इमान्दार हुन जरुरी छ । हामी संवेदनशिल भएपछि अहिलेको जर्जर अवस्थाबाट अलिकति भएपनि मुक्ति पाइन्छ । 

यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको फेरि राजनीति नै हो । किनकी अहिलेको सरकार इतिहासकै सबैभन्दा बलियो र स्थायी सरकार हो । कम्तीमा पाँच वर्षसम्म यो सरकार ढल्दैन । 

पाँच वर्षे स्थायी सरकारले एक दुई वटा बलात्कारका घटनामा गम्भीर भएर छानबिन गरेर दोषीलाई हदैसम्मको कारवाही गर्ने हो पनि धेरै परिवर्तन ल्याउन सक्छ । अहिलेका बेथिती हटाउन सरकारले कडा कदम चाल्न सक्छ । त्यसमध्ये बलात्कारको बेथिती पनि एक हो । सरकार अलिकति कडा भएर काम गर्न थाल्यो भनेपनि धेरैको मानसिकतामा प्रभाव पर्छ । 

त्यसैले सरकार अहिलेको अवस्थामा बलात्कारीमाथि कडा रुपमा प्रस्तुत हुनुपर्छ । ता कि बलात्कार भएर हत्या हुँदा पनि आन्दोलन गर्नुपर्ने, प्रदर्शन गर्नुपर्ने, एक दुई जनाले ज्यान गुमाउनुपर्ने अवस्थाले घटनामा कमी आउँदैनन् । बलात्कार हुनै नदिन र भएका घटनामा दोषीलाई कारवाही गरिदिने हो भने अहिले भैरहेका घटनामा धेरै फरक आउँछ ।

अन्तिममा  

मेरो छोरी अहिले १३ वर्षकी भइन् । निर्मला पन्त पनि १३ वर्षकी हुन् । उनको बलात्कारपछि हत्या भएको समाचार मेरो छोरीले पनि पढिन् । उनले समाचार पढ्दै गर्दा मैले सम्झाए, अलि बचेर हिँड्नु है । कसैको विश्वास गर्नु हुँदैन । कसैले स्कुलमा ल घर जाउँ भन्यो भने तुरुन्तै हिँडी नहाल्नु ।
 
अनि उसले के जिज्ञासा राख्यो भने, अनि यो दादासँग जाने कि नजाने ? स्कुलमा को आउँदा सँगै घर फर्किने ? को आउँदा उसँग घर नफर्किने वा स्कुल जाने ? मलाई लिन अब को आउँछ ? भनेर यति धेरै डरायो मेरो छोरी नै । भनेको घरमा पनि अब मैले कसको विश्वास गर्ने ? कोसँग म बचेर हिँड्ने घरपरिवारमा पनि । कोसँग नजिक हुने ? कोसँग टाढा हुने ? 

यो मेरो घरमा मात्रै होइन । धेरैको घर परिवारमा यस्तै त्रासहरु फैलिरहेका छन । किनकी आफन्तबाटै बलात्कृत भएका बालिकाको हत्या पनि भइरहेको छ । त्यसैले सबैभन्दा सचेत हुनुपर्ने बेला भनेको बालबालिका नै हो । 

अब बालबालिकालाई सिकाउनुपर्ने सम्झाउनुपर्ने बेला पनि भएको छ । अनि सबैभन्दा बढी त घरका बुवा, हजुरबुवा, दाजु, भाइ, छोरा, नातीसम्मलाई पनि राम्रोसँग सम्झाई बुझाई गर्नुपर्ने देखिएको छ । छोरीलाई भन्दा छोरालाई सम्झाउन अति आवश्यक भइसकेको छ । 

अर्को कुरा बलात्कारका घटनालाई लुकाउन हुँदैन । जो जसले बलात्कार भएको वा हुन लागेको देख्छ । तत्काल प्रहरीलाई खबर गरौं । दोषीलाई कारवाही गर्न अलिकति पनि नहिच्किचाऔं । पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न पछि नपरौं । 

बलात्कारी आफन्त र आफ्नो मान्छे हो भने पनि हामी रोकिनु हुँदैन । दोषीलाई कारवाही गर्नैपर्छ । मेरो परिवार हो, मेरो आफन्त हो, भनेर कसैलाई छुट दिनतिर लाग्यो भने हामीले एक दिन आफ्नै छोरी चेली बलात्कृत भएको वा हत्या भएको सुन्नुपर्ने हुनसक्छ । 

यसका लागि सामाजिक रुपान्तरण र मानसिक रुपमा पनि हामी तयार हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको मनोसामाजिक परामर्श र रोजगारी हो । रोजगारी भए पनि परामर्श चाहिएको छ । यौन मनोविज्ञानबारे सबैलाई चेतना दिन आवश्यक छ ।  

(राष्ट्रियसभाकी सांसद राई राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य राईसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: भदौ २९, २०७५

डा. विमला राई पौडेल

राष्ट्रियसभाकी सांसद राई राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया