हेटौंडामा बैंक लुट्ने प्रयास, वडा कार्यालय र साथीको मनी ट्रान्सफरमा चोरी

 भदौ १४, २०७५ बिहिबार १३:३६:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छ । बुधबार राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टीसीएनमा रहेको एसबीआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । तीनै स्थानमा भएको चोरीका बिषयमा छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले बताउनुभयो । 

बैँकबाट रकम समेत चोरी भएको आशंका गरिए पनि अहिलेसम्म कति चोरी भयो भन्ने खुल्न सकेको छैन । राति एक युवकले बैंकको सटरको ताला फुटाएको सीसीटीभी फुटेजबाट पत्ता लागेको छ । 

बैंकको सेफलगायत अन्यको अवस्थाबारे अहिले केही खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी नरेशकुमार सिंहले प्रहरी घटनास्थलमा पुगेको र अन्य विवरणहरु आइनसकेको बताउनुभएको छ । 

त्यस्तै, बुधबार राति नै हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फुटाइ रकम लुटिएको छ । मनी ट्रान्सफरमा ७० हजार नगद र रिचार्ज कार्डहरु समेत १ लाख २५ हजारभन्दा बढी रकम लुटिएको प्रहरीले जनाएको छ । 

हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनि ट्रान्सफरमा ताला फुटाई रकम लुट्ने र एसबिआई बैँकको सटरको ताला फुटाउने लुटेरा एउटै व्यक्ति भएको आशंका गरिएको छ । साथीको मनि ट्रान्सफरमा सीसीटीभीमा रेकर्ड भएको फुटेजका अनुसार लुटेराले बिहीबार बिहान २ बजेर ३८ मिनेटमा पसलमा प्रवेश गरेको र २ बजेर ४५ मिनेट जाँदा लुटेर फरार भएको देखिएको छ । 

हेटौँडाको वडा नंबर १ चाइनाक्वाटरमा रहेको वडा कार्यलयमा पनि तोडफोट तथा चोरी भएको छ । वडा कार्यालय तोडफोड गरेर फाइललगायत अन्य सामाग्री चोरिएको छ । कार्यालयको महत्वपूर्ण कागजातसमेत चोरी भएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया