भीअार्इपी सवारीका कारण कार्यालयबाट बेलुका घण्टाैं हिँडेर घर फर्कनुपर्दा

 भदौ १४, २०७५ बिहिबार १५:०:२७ | विना न्याैपाने
unn.prixa.net

सधैं झैं बुधबार बेलुकी ६ बजेतिर कार्यस्थलबाट निस्किएँ । जावलाखेलबाट सुन्धारासम्म माइक्रोबसमा जानुपर्ने, तर आधा घण्टासम्म माइक्रोबस नै पाइएन । बल्लबल्ल जावलाखेलबाट एनएसी जाने माइक्रोबस चढें । पछाडि त टेक्ने ठाउँसम्म पनि थिएन । 

बरु अगाडि नै बस्छु भनेको, ड्राइभरले प्रहरीले समात्छ भन्यो । समात्यो भने म कुरा गर्छु तपाईंलाई केही हुन्न भनेर अगाडि तीनजना खाँदिएर बस्यौं ।  तर पुल्चोक कट्नेबित्तिकै जाम सुरु भयो । बल्लतल्ल माइतीघर पुगियो । तर पहिलेजस्तो माइक्रोबस भद्रकालीतिर जान पाएन । प्रहरीले सिंहदरबार हुँदै पुतलीसडकतिर पठायो । 

बागबजार पुग्दा बेलुकीको ८ बज्न लागेको थियो । ड्राइभरले अब गाडी अगाडि जाँदैन, यहीँ झर्नुहोस् भन्यो । सबैजना त्यहीँ झर्न बाध्य भए । म पनि त्यही ओर्लिएँ । 
त्यहाँबाट म बस्ने ठाउँ म्हैपीसम्म गाडी पाउने आश थिएन । तर पनि गाडी खोज्दै रत्नपार्क पुगें । म्हैपी जाने नपाइएपनि नजिकैको सरकारीधारासम्म पुग्ने गाडी पाइन्छ भन्ने लागेको थियो । तर त्यहाँ त गाडी नै थिएन । गाडी पर्खेर बसेका मान्छेको ताँती मात्र । 

सडकको दुवैैतिर टनाटन मान्छे उभिएका । अनि बीच सडकमा गाडी पर्खनेहरुको उत्तिकै घुईंचो । उनीहरुले एकघण्टा अघिदेखि गाडी पर्खेको, तर प्रहरीले भीआइपीको सवारी भन्दै बाटो बन्द गरेकाले एउटै गाडी नआएको बताए । मसँग अरु उपाय थिएन । कि गाडीको आशमा लाइन बस्ने कि हिँडेरै जाने । लाइनमा बस्नुभन्दा हिँडेरै जान्छु भन्ने लाग्यो, अनि हिँड्न थालें । 

जमलमा पुगेर ट्राफिक प्रहरीलाई सोधें, ‘कति समय लाग्छ बाटो खुल्न ?’ जवाफ आयो ‘१२ बजे ।’ सुनेर मुटुले ठाउँ छोडेजस्तै भयो । म हिँड्नु परेकाले होइन कि वैसाखी टेकेर हिँडेका, अनि काखमा दुधे बच्चा बोकेर हिँडेका आमाहरुको पीडा देखेर । मजस्तै गाडी नपाएर हिँड्ने धेरै थिए । अपांगता भएका, केटाकेटी च्यापेका महिलाहरु पनि रातिको बेला सकीनसकी हिँड्दै थिए ।

दुःखी हुनुबाहेक मैले त के नै गर्न सक्थें र ? हिँडेर बल्लबल्ल लैनचौर पुगें । मभन्दा अघिल्तिर सानो बच्चा डोहोर्याएर हिँडेकी एक महिला थिइन् । 
बच्चाले सोध्यो, ‘ममी किन गाडी चल्न नदिएको पुलिस अंकलले ?’ महिलाले भनिन्, ‘तिमी सानै छौ केही बुझ्दैनौं । देशमा यस्तै भएर तिम्रो बाबा नेपालमा तिमीसँगै नबसेर विदेश जानु भएको ।’

यो सुनेर मेरो मन खिन्न भयो । मैले सोधें, ‘कहाँ पुग्नुपर्ने हो र दिदी ?’

महिलाले भनिन्, ‘बानियाँटार ।’

त्यतिबेला बेलुकीको ८ बजिसकेका थियो । बानियाँटार पुग्न त्यहाँबाट एकघण्टा लाग्थ्यो । सानो बच्चा डोहोर्याएर ती महिला कहिले घर पुग्लिन् जस्तो लाग्यो  । तर मैले के नै गर्न सक्थें र । नेपालको हालत यस्तै छ भन्दै म उनीसँग छुट्टिएर घरतिर नै लागें । 

ती महिलासँग छुट्टिएपछि म एक्लै भएँ । अमृत साइन्स क्याम्पस अगाडि ४, ५ जना केटाहरु गफ गर्दै थिए । वरपर अरु मान्छे थिएनन् । डरले मुटु ढक्क फुल्यो । यताउता नहेरी फटाफट हिँडे । ठमेलको पिपलमोड पुगेपछि झोला छामें । सिमेन्टको डल्लो फेला पर्यो । डराईडराई हिँड्दा सिमेन्टको डल्लो कसरी झोलामा पर्यो भनेर झन् डर लाग्यो ।

ठमेलको ओरालो झन् सुनसान थियो । मनमा डर भए पनि नहिँडी सुख थिएन । बल्लतल्ल बेलुकी ९ बज्ने बेला कोठामा पुगें । 

हिजोको दुःख र पीडा त भुल्न सकेको छैन । आज त चाँडै निस्कन्छु भनेर बिहान साढे ९ बजे नै घरबाट निस्किएँ । भृकुटीमण्डपसम्म आउँदा त खासै जाम परेन । तर त्यसपछि जावलाखेलको गाडी पाउनै मुश्किल पर्यो । गाडी चढ्ने ठाउँदेखि त्यहाँसम्म गाडी पर्खनेको लामो लाइन थियो । सडक पेटीमा हिँड्ने ठाउँसम्म थिएन । जसोतसो मान्छेको भिड छिचोल्दै भद्रकालीको पुलसम्म पुगें ।

त्यहाँबाट गाडी चल्न रोक लगाइएको रहेछ । त्यसपछि सहिदगेट पुगें । त्यहाँको अवस्था पनि उस्तै रहेछ । रोकिएका गाडीमा उभिने ठाउँसम्म पनि थिएन । सडकपेटीमा गाडी कुर्नेहरु रुल्लटुल्ल भएर बसिरहेका थिए ।

भीआइपीलाई देखाउन गाडी गुड्न र मान्छे हिँड्नसमेत नदिएको भन्दै धेरै आक्रोशित देखिन्थे । ‘बरु नेपाल बन्द भनेर तिनीहरुको आफ्ना मान्छेहरुलाई बोलाएको भए हुने नि, हामीलाई किन यस्तो दुःख दिएको होला’ भन्दै हिँड्नेहरु पनि धेरै थिए । अस्पताल जान हिँडेका बिरामी रुँदै थिए ।

बिमस्टेक सम्मेलनमा आएका भीआइपीको सवारीका कारण गाडी नचल्दा धेरैले यसैगरी दुःख पाउनुपर्यो । गाडीमा जोर बिजोर प्रणाली लागू भए पनि नियमअनुसार हिँडेका गाडी गुड्न पाएनन् । भीआइपीको सवारी भन्दै पैदल हिँड्न पनि दिइएन ।

त्यति हतार नहुनेलाई त सास्ती मात्र भयो । तर भनेको बेला गन्तव्यमा पुग्नुपर्ने, बिरामी र अशक्तहरुले सास्ती मात्र होइन, पीडा र वेदना पनि खेप्नुपर्यो । भीआइपीको सवारीमा नागरिकले यस्तो सास्ती र पीडा कहिलेसम्म भोग्नुपर्ने होला ? 

अन्तिम अपडेट: असोज २२, २०७५

तपाईको प्रतिक्रिया