प्रकृतिले फुर्सदमा सिँगारेको लमजुङ–तार्कुकोट –फोटोफिचर

 जेठ १९, २०७५ शनिबार ११:४:४० | श्यामशितल परियार

लमजुङ, जेठ १६ – आँखै अगाडि ‘बादलुको’ घुम्टो ओढी मुसुक्क मुस्कुराएका हिमाल । सिरसिर चल्ने शीतल पवन । पवनसँगै विभिन्न चराचुरुङ्गीको मिठास आवाज ।

ऐतिहासिक तथा धार्मिक महत्वको चण्डीमाइको मन्दिर, चण्डीगढी । बेसीमा नागबेली, चालमा सलल बगेकी मस्र्याङ्दी, दोर्दी, चेपे, पाउँदी अनि नाउँदी । समथर फाँट । सूर्योदय र सूर्यास्तको प्रत्यक्ष दृश्यवलोकन । यत्ति मात्र होइन, लमजुङसहित तनहुँ, गोरखाका विभिन्न मनोरम दृश्य समेत आँखैले चुम्न पाइन्छ, लमजुङको तार्कुकोटबाट ।

प्रकृतिले तार्कुकोटलाई फुर्सदैमा बनाएझैँ लाग्छ । फुर्सदमै सिँगारेझैँ लाग्छ । तार्कुकोटको प्राकृतिक सौन्दर्यमा जो कोही लट्ठिन्छन् । ‘वाउ ! तार्कुकोट’ शितल हावासँगै साइनो गाँस्दै चण्ढी मन्दिरको आँगन र चण्डीगढीबाट चारैतिर नियाल्न पाउँदा जो कोही तार्कुकोटको बयानमा यी शब्दहरु खर्चन कत्ति पनि कञ्जुस गर्दैनन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–८, मा रहेको तार्कुकोट पुग्नेले स्वर्गकै अनुभूति गर्छन् । उकालो जंगलको बाटो हिँड्दा पसिनाले निथ्रुक्क रुझाउँछ ।
तर ठाउँ–ठाउँमा रहेको वर पिपलको शितल छहारीमा बस्दा ।  वरिपरिका प्राकृतिक सौन्दर्यता नियाल्दा । जंगलबाट आउने चराचुरुङ्गीको मिठो गीतले उकालो चढ्दै गर्दाको थकान पलभरमै भूलिन्छ । झनै उकालो चढ्ने आँट र उत्साह थपिन्छ, मनमा ।

तार्कुकोटको चण्डीमन्दिरका आँगन टेक्दै गर्दा नजिकै रहेका सल्लाघारीबाट आएका शितल पवनहरुले स्वागत गरिहाल्छन् । प्रकृतिमा रमाउँदा उकालो चढ्दाको पीडा कता भाग्छ कता !

छैनन् युवा, भएन पर्यटनको विकास

चण्डीगढीबाट लमजुङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल देख्न सकिने स्थानीय खुशबहादुर गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार यहाँबाट लमजुङको सुन्दरबजार, भोटेओडार, फेदीकुना, अर्चलबोटफाँट, धमिलिकुवा, गोरखाको पालुङटार, तनहुँको मानेचौका, दूधेकुना लगायतका ठाउँ देख्न सकिन्छ ।

चण्डीगढीबाटै लमजुजङको पुरानोकोट, तर्लुङकोट, राइनासकोट, बजारकोट, गोरखाको लिगलिगकोट, तनहुँको मिर्लुङकोटलगायत थुप्रै कोटको पनि अवलोकन गर्न सकिन्छ । गुराँस फुल्ने समयमा यहाँको ऋप सामुदायिक वन रातो र गुलावी गुँरासले रातम्य हुन्छन् ।

तार्कुकोटलाई प्रकृतिले दिनुसम्म दिएको छ । गर्नु माया गरेको छ । यहाँ ग्रामिण पर्यटन विकासको उच्च सम्भावना छ । तर प्रचारप्रसारको अभाव र युवाशक्ति नहुँदा गाउँमा पर्यटनको विकास हुन सकेको छैन ।

गाउँमा विद्युत, खानेपानी, कच्ची भए पनि सडक पुगेको छ । तर गाउँमा मानिसको बसोबास कम छ । उर्वरभूमी जमिनमा पाती, वनमासा फुलेर त्यसै खेर गएको छ ।  

गाउँमा पर्यटनको उच्च सम्भावना भए पनि गाउँमा जनशक्ति नहुँदा पर्यटन व्यावसाय सुरु हुन नसकेको स्थानीय सुरज सुनारले बताउनुभयो ।
उहाँका अनुसार चण्डीगढीमा कटेज बनाइएको छ । पार्क पनि निर्माण गरिएको छ । पछिल्लो समय पिकनिकका लागि यहाँसम्म विभिन्न ठाउँबाट मानिसहरु आउँछन् ।

कृषि र पशुपालनको उच्च सम्भवना

गाउँमा खेतीयोग्य जमिनका साथै पशुपालनका लागि आवश्यक चरण क्षेत्र पनि प्रशस्त छ । गाउँमा पर्यटनसँगै पशुपालन, कृषि विकासको पनि उच्च सम्भावना छ । पर्यटन, कृषि र पशुपालनको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकासिने देखिन्छ । तर यस क्षेत्रमा आशातित काम भएको महसुस गर्न सकिदैँन ।

स्थानीय मंगली सुनारका अनुसार केही वर्षअघि गाउँमा बाक्लो बस्ती थियो । मानिसहरु खेतीपाती गर्थे । पशुपालन गर्थे । तर अहिले गाउँमा अधिकांश मानिसहरु बेसी (भोटेओडार, सुन्दरबजार, फेदीकुना) तिर बसाइँ सरेका छन् । हुनेखानेहरु विभिन्न ठाउँमा बसाइँ सरी गएका छन् । गाउँ दिनप्रतिदिन रित्तिदैँ गएको छ ।

 

गाउँ जंगलमा परिणत होला भन्ने चिन्ता !

गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु मात्रै बाँकी रहेका छन् । भएका युवाशक्ति पनि विदेश भासिएका छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् ।
‘पहिले गाउँमा कोदो, मकै, काउनो, घैय्या लगायतको खेती गर्थे, गाईभैँसी, बाख्रा पाल्थे, टनाटन थिए मानिसहरु गाउँमा । अहिले, अहिले त सबै सुखसुविधाको खोजीमा कता गए कता । गाउँ रित्तिदैँ गयो,’ चण्डीमाईको मन्दिरमा शितल ताप्दै गर्नुभएकी मंगलीलले भन्नुभयो ।

शिक्षा, स्वास्थ्य रोजगारी लगायतको सेवासुविधाको खोजीमा मानिसहरु गाउँ छोडी अन्यत्र गएको स्थानीयहरु बताउँछन् । मानिसहरुले गाउँ छोड्दै गएपछि अब बिस्तारै गाउँ नै जंगलमा परिणत हुने हो कि भन्ने चिन्ता छ, अर्का स्थानीय भीमबहादुर सुनारलाई ।

बाहुनथोक रित्तियो    

तार्कुकोट नजिकै रहेको तामाङ समुदायको बसोबास रहेको बाहुनथोक त रित्तिसकेको धेरै वर्ष भयो । बाहुनथोकमा तामाङहरुको ७ घर थिए । उनीहरु सबै बसाइँ सरी अन्यत्रै गएका छन् । अहिले त गाउँ जंगलमा परिणत भइसकेको छ ।

तार्कुकोटमा पहिले झण्डै ६० घुरधुरी रहेकोमा अहिले जम्माजम्मी २० घरधुरी मात्रै रहेको खुशबहादुरले सुनाउनुभयो । यहाँ गुरुङ, बिक र ब्राह्मण समुदायको बसोबास रहेको छ ।

विकासमा युवा जुट

गाउँघर छोडी छाना, माना र नानाका लागि मुग्लान पसेका युवाहरु गाउँमै फर्की पर्यटन, कृषि र पशुपालनका क्षेत्रमा काम गर्न सके मनग्य कमाउन सकिने सम्भावना पनि उत्तिक्कै देखिन्छ ।

तार्कुकोट पुग्न भोटेओडारबाट पैदल हिँडेर २ घण्टा लाग्छ । गाडीबाट तार्कुकोट पुग्न एक घण्टा लाग्छ । कच्ची र घुमाउरो बाटो भएकाले गाडीमा पनि यात्राको समय केही लम्बिन सक्छ । गाउँमा सडकको स्तरोन्नती गर्नु आवश्यक छ । गाउँको विकासमा युवाशक्ति जुट्नु आवश्यक छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया