लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
डोटी, जेठ १९ – डोटीमा कुनै पनि सवारी चालकले बिना कागजात सवारी चलाएमा मुद्दा चलाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी हेरम्ब शर्माले कुनै पनि सवारी चालकले अनुमतिपत्र नबोकेर सवारी चलाएमा सवारी मुद्दा चलाउने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवारी चालक अनुमतिपत्र नभएर पनि सवारी चलाएको धेरै पाइयो, अब उपरान्त कसैले पनि सवारी चालक अनुमतिपत्र र गाडीको कागजात नबोकी सवारी चलाइएको पाइएमा सिधै सवारी ऐन अन्तरगत मुद्दा चलाइने छ ।’
डोटीमा सवारी चालक अनुमतिपत्र नभएकाले पनि जीप लगायत अन्य सवारी साधन चलाउने गरेको र तिनै व्यक्तिले बढी जसो सवारी दुर्घटना गरेकाले प्रहरीले यो कदम चालेको हो । पछिल्लो समय डोटीमा भएका जीप दुर्घटनामा ठूलो मानविय क्षति भएको भन्दै प्रहरीले दैनिक रुपमा गाडीका कागजात तथा सवारी अनुमतिपत्र (लाइसेन्स) चेक जाँचमा बढी कडाई गरेको छ ।
त्यस्तै गाडीको तोकिएको सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई पनि प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । डोटीमा बिना कागजात गाडी चलाउने तथा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख रुपसिंह थापाले बताउनुभयो ।
ट्राफिक प्रहरी तथा जनपथ प्रहरीले गाडी चेकजाँचमा कडाई गरेपछि अहिले बिना कागजाँतमा गाडी चलाउनेहरु सावधान भएको ईलाका प्रहरी कार्यालय दीपायलका प्रमुख दिलबहादुर कुँवरले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको तथ्यांक अनुसार गएको चार दिन यता डोटीमा ट्राफिक प्रहरीले एक दजनाभन्दा बढी गाडीहरुका चालकलाई कारबाही गरेको छ । त्यस्तै अनुमतिपत्र (लाइसेन्स) बिनाका चालकलाई गाडी चलाउन नदिन डोटी प्रहरीले गाडी धनीहरुलाई आग्रह गरेको छ ।
डोटीमा सबैधन्दा बढी मोटरसाइकल, टयाक्टर तथा केही जीप चालकले अनुमतिपत्र तथा गाडीको काजजात बिना नै गाडी चलाउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।