श्रम नवीकरण गर्न टोकन

भिड घट्यो, अनियमितता घटेन : सेवाग्राही

 भदौ १५, २०७५ शुक्रबार १२:२२:४८ | उमाकान्त पाण्डे
unn.prixa.net

श्रम स्वीकृति नविकरण गर्न श्रमग्राम ताहाचल पुगेका सर्वसाधारण

काठमाडौं – गएको मंगलबार वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय श्रमग्राम ताहाचलमा सेवाग्राहीको भिड थियो । आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको बिदा भएकाले पुनः श्रम स्वीकृति लिने अथवा श्रम नवीकरण गर्ने, व्यक्तिगत र संस्थागत हिसावले श्रम लिनेहरुका कारण भिड बढेको हो । 

घर बिदामा आएका र विदेशिनु अघि श्रम गर्न आउने सेवाग्राहीका कारण काठमाडौं कार्यालय सधैं अस्तव्यस्त र भिडभाड हुने अड्डा हो । सेवाग्राहीलाई समयमै सेवाप्रदान गर्न र भिडलाई व्यवस्थापन गर्न नसक्दा हुने अनियमितताका कारण कार्यालय यसअघि सधैं विवादमा पर्दै आएको छ । 

अब भने कार्यालयलाई सुधार गर्न लागिएको छ । भिडभाड व्यवस्थापन गर्न र स्तरीय सेवा दिन कार्यालयले टोकन प्रणाली लागु गरेको छ । गएको हप्ताबाट लागु गरिएको टोकन सिस्टम पहिलो पटक श्रम नविकरण अथवा पुनः श्रमस्वीकृति दिने शाखामा प्रयोग गरिएको छ । 

बीमा र कल्याणकारी कोषमा रकम बुझाएपछि अनलाइन फारम भरेर सेवाग्राहीले सुरुमै टोकन लिनुपर्छ । टोकनमा उल्लेख भएको क्रम संख्याका आधारमा पालो कुर्नुपर्छ । आफ्नो नम्बर डिजिटल बोर्डमा डिस्प्ले हुन्छ । सँगै सुनाइन्छ पनि ।

त्यसै अनुसार आफूले कुन देशका लागि श्रम नविकरण गर्न लागेको हो त्यही देशका लागि छुट्याइएको शाखाको झ्यालमा गएर कागजपत्र बुझाउनु पर्छ । कागजपत्र बुझाएपछि आँखा स्क्यान गरिन्छ । त्यति गरेपछि आवेदन प्रक्रिया पूरा हुन्छ । 

आवेदन परीक्षण गरेर कम्प्युटरमा अभिलेख राखिन्छ । हरेक १५ जनाका हिसाबले श्रम स्टिकर एक पेजमा प्रिन्ट हुन्छ । र त्यो स्टिकर पासपोर्टमा टाँसेर अधिकृतले हस्ताक्षर गरेपछि १५ देखी २० मिनेटको समयमा नाम बोलाएर पासपोर्ट फिर्ता दिने व्यवस्था गरिएको छ । 

अनियमितता बन्द हुनुपर्छ : सेवाग्राही

विवादित भइरहने काठमाडौं कार्यालयमा टोकन सिस्टम लागु भएसँगै अनियमितता पनि बन्द हुनुपर्ने सेवाग्राहीको भनाइ छ । टोकन नम्बर बाहेक आफन्त वा आर्थिक लेनदेनको प्रलोभनमा भित्र कागजपत्र पुर्‍याएर काम गर्ने सम्भावना अझै पनि बाँकी भएको उनीहरुले बताएका हुन् । 

त्यसको निगरानी गर्दै अनियमितता रोक्नु पर्ने सेवाग्राहीले बताएका हुन । आफू भन्दा पछि रोलक्रम हुनेको काम आफ्नो भन्दा पहिले नै भएकोले भित्री सेटिङ भएको हो कि भन्ने लागेको सुनसरीको इटहरीका भुवनराज घिमिरेले बताउनुभयो । 

मंगलबार मात्रै दुई हजार भन्दा धेरै सेवाग्राही भएको र कागजपत्र तलमाथि भएको हुनसक्ने विभागले जनाएको छ । सबैतिर सिसीटिभी जडान गरेर निगरानीमा राखिएकाले गलत नहुने कार्यालयका प्रमुख भविश्वर पाण्डेले बताउनुभयो । 

थप सुधारका लागि प्रयासरत छौं : महानिर्देशक पाण्डे 

टोकन सिस्टम लागु गरेसँगै भिड व्यवस्थापन गर्न र व्यवस्थित गर्न सहज भएपनि अझै चाहेजस्तो बनाउन नसकिएको कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । 

‘कार्यालय सुधारका लागि प्रयास सुरु गरेका छाैं । पहिले भन्दा धेरै परिवर्तन देख्न सक्नुहुन्छ,’ पाण्डेले भन्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यालयमा सुधारको अपेक्षा सहित पाण्डेलाई तीन महिना अघि कार्यालय प्रमुखको रुपमा पठाएको हो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया