लमजुङका किसानलाई अलैँची टिप्ने चटारो

 भदौ १५, २०७५ शुक्रबार १३:५३:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका अलैँची उत्पादक किसान अलैँची टिप्न र सुकाउन जुटेका छन् । 

अलैँची पाकिसकेकाले किसानहरु अहिले अलैँची टिप्न र सुकाउन जुटेका हुन् । किसानहरुले टिपेको अलैँची सुधारिएको अलैँची भट्टीमा सुकाउने गर्दछन् ।   
७ सय मिटरदेखि १२ सय मिटर उचाईमा लगाइएको अलैँची पाकिसकेकाले किसानहरुलाई अलैँची टिप्ने चटारो रहेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो । 

उहाँका अनुसार अहिले मस्र्याङ्दी गाउँपालिकाको शेरा, लाम्पाटा, बेसीशहरको कुप्लिङ, दोर्दीको खिञ्चोकबेसी लगायतका ठाउँका अलैँची उत्पादक किसानलाई अलैँची टिप्ने र अलैँची सुकाउने हतारो भएको हो । 

मुसा र जंगली जनावरको डर !  

तामाङले बताएअनुसार ७ सय देखि १२ सय मिटरसम्मको उचाइमा जिर्मले, डम्बरशाही र साउने जातका अलैँचीको खेती हुन्छ । यी जातका अलैँची भदौमा पाकिसक्छ । भदौको अन्तिमसम्म अलैँची टिपिन्छ । 

१२ सयदेखि १६ सय मिटर उचाइसम्ममा गोलशाही जातको अलैँची खेती हुन्छ । यो जातको अलैँची असोजमा पाक्छ । असोज पहिलो साताबाट मसान्तसम्म अलैँची टिपिन्छ । 

यस्तै, १६ सय मिटरदेखि २४ सय मिटर उचाइसम्ममा रामशाही र भर्लाङ्गे जातका अलैँचीको खेती हुन्छ । यो कार्तिकमा पाक्छ । कार्तिक महिनाभरी अलैँची टिपिन्छ ।    

यतिबेला आफू २० रोपनी क्षेत्रफलमा लगाइएको अलैँची टिप्न र सुकाउन जुटेको व्यवसायिक अलैँची उत्पादक किसान सन्तबहादुर अधिकारीले बताउनुभयो ।  
किसानहरुका अनुसार पाकिसकेको अलैँची समयमै टिप्न नसकिए मुसाले खाने डर हुन्छ । जंगली जनावरले अलैँची सखाप पारिदिन सक्छ । 

गुणस्तरीय अलैँची उत्पादनमा ध्यान 

जिल्लामा गुणस्तरीय अलैँची उत्पादनका लागि आफूहरुले विशेष ध्यान दिएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ । 

‘सिकानको अलैँची टिपाई, सुकाई र भण्डारणसम्म हामीहरुले निगरानी राखेका छौँ । यी कुरामा ध्यान पुर्याउन सके गुणस्तरीय अलैँची उत्पादन गर्न सकिन्छ । किसानले राम्रो मूल्य पाउन सक्छन् । त्यसैले हामीले किसानको बगानका साथै अलैँची भट्टीसम्म पुगेर यसबारे किसानलाई जानकारी गराएका छौँ,’ नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजयले भन्नुभयो । 

उहाँका अनुसार जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । ६ सय ५० हेक्टर क्षेत्रफल जमिनमा लगाईएको अलैँचीले उत्पादन दिइरहेको छ ।


गएको वर्ष जिल्लामा ६ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो । अलैँची बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ आर्जन भएको थियो । 

उत्पादन घट्ने अनुमान    

यसवर्ष अलैँची उत्पादन घट्न सक्ने तामाङले बताउनुभएको छ । उहाँका अनुसार विभिन्न समयमा परेको असिनापानीले अलैँचीलाई क्षति पुर्याएको छ । केही ठाउँमा नयाँ अलैँची रोपिएको छ ।

‘यसवर्ष अलैँची उत्पादन केही कम हुन सक्छ । तर हामीले गुणस्तरीय अलैँची उत्पादन गर्न सके अलैँची बिक्रीबाट राम्रो रकम हात पार्न सक्छौ,’ अलैँची बिरुवा तथा अलैँची उत्पादक किसान समेत रहनुभएका अजयले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया