पीडित परिवारका घरमै पुगेर कर्णाली प्रदेश सरकारको राहत

 भदौ १५, २०७५ शुक्रबार १९:२१:२४ | पुरुषोत्तम गिरी

सल्यान –सल्यानको वागचौर नगरपालिका –४, सेतोगुराँसमा घर भत्किँदा पाँच जनाले ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले आज राहत वितरण गरेको छ ।  

बागचौर नगरपालिका वडा नम्बर –४, सेतोगुराँसमा गएको मंगलबार राति घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको थियो । कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका हुन् । 

कर्णाली प्रदेश सरकारको तर्फबाट पीडितहरुलाई एक लाख पचास हजार रुपैयाँ प्रदान गरिएको हो । उनीहरुलाई प्रदान गरिएको रकम खाता खोलेर बैंकमा राखेर काम अघि बढाउँदा उपयुक्त हुने आर्थिक मामिला मन्त्री ज्वालाले बताउनुभयो । 

‘बैंकमा रकम नराख्दा रकम चाँडै खर्च हुन्छ’, उहाँले भन्नुभयोे, ‘बैंकमा राख्दा भोलिसम्म पनि उनीहरुको जीवन निर्वाहमा सजिलो हुन्छ ।’ उहाँले बैंक खाता खोलेर अन्य सहयोगी दाताहरुको तर्फबाट पनि पीडितलाई सहयोग गर्न अपिल गर्नुभयो । 

यस्तैे पीडित परिवारलाई अार्थिक मामिला मन्त्री ज्वालाले व्यक्तिगत ४ हजार र भौतिक पूर्वाधार मन्त्री खत्रीले ६ हजार गरी १० हजार थप रकम सहयोग गर्नुभयो । राहत वितरण कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र प्रहरी प्रमुख डीएसपी विरेन्द्रबहादुर शाही, पत्रकार लगायतको सहभागिता थियो । 

पीडितका परिवार अझै जोखिममा

पीडित परिवारका तीन जना अझै जोखिमपूर्ण रुपमा बस्न बाध्य छन् । घर पहिरोले बगाएपछि अर्को घरमा बस्दै आएका उनीहरु मध्ये ५ जनाको गएको मंलबार ज्यान गएको थियो ।

राहत वितरण समारोहमा घटनामा बाँच्न सफल १३ वर्षीया कमला विकले भन्नुभयो, ‘हाम्रो तलको घर पहिरोले लग्यो अनि माथिको पुरानो घरमा बस्न आएको । आमाबुवा, बहिनी, भाई सबै गुमायौँ ।’ 

आफूहरु अहिले पनि भत्किएको घरमा बस्दै आएको उहाँले बताउनुभयो । ‘अहिले पनि हामी भत्केकै घरमा बसेका छौँ’ उहाँले भन्नुभयो, ‘भएका दुवै घर पहिरोले लग्यो के गर्नु ?’ अब कहाँ बस्ने भन्ने चिन्ताले सताउने गरेको घटनामा बाँच्न सफल १० वर्षकी पुतलाले बताउनुभयो । 

पीडित तीनै जनालाई निःशुल्क पढाउने एक विद्यालयको घोषणा

यसैबीच जिल्लाको एक निजी विद्यालयले पीडित तीनै जना बालिकालाई कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा गरेको छ । 

जिल्ला सदरमुकाममा रहेको एकएक एकेडेमीले उनीहरु तीनै जनालाई निःशुल्क पढाउने घोषणा गरेको हो । ‘हामीले उनीहरुलाई निःशुल्क रुपमा पढाउने घोषणा गरेका छौँ’, एकेडेमीका सञ्चालक महेश देवकोटाले भन्नुभयो, ‘सबै पक्ष मिलेर यसका लागी वातावरण बनाइदिनुहोस् ।’ 

बाँच्न सफल ३ बालिकाहरुमध्ये १३ वर्षीया कमला ८ कक्षामा, १० वर्षीया पुतला ५ कक्षा र ९ वर्षीया सुनिता कक्षा ३ मा स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।  

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया