तीनकुनेको झकिझकाउ देखेर मोदीले सोधे – 'कोली जी यह क्या है ?'

 भदौ १६, २०७५ शनिबार ९:८:११ | मिलन तिमिल्सिना
unn.prixa.net

जहाज सिमराबाट छिरेदेखि नै मोदी अचम्ममा परे । आकाशमा अरु जहाजको त के कुरा, चरो समेत देखिंदैन । तल बादल, माथि सूर्य । अरु सबैतिर खुल्ला । खुल्ला आकासको उमंगमा मन तरंगित भएपछि मोदीलाई आकाशबाटै एउटा ट्वीट गरिहालौं जस्तो भयो । तर जहाजमा भएको बेला किन मोबाइल खोल्नु भनेर चुप लागे ।

बादलले छेके पनि उत्तरतिर लोभलाग्दा हिमाल देखेको अनुभव गर्दै मोदीले गालाका ट्रिम गरी मिलाएका बाक्ला दाह्री मुसारे । हेर्दाहेर्दै जहाज बादलभित्र पस्यो र काठमाडौको बिमानस्थलमा उत्रिन थालि हाल्यो । जहाज रोकिएर सीट बेल्ट खोल्न नभ्याउँदै झ्यालबाट हेर्दा आफूलाई स्वागत गर्न ईश्वर नै आइपुगेका रहेछन् । नामै ईश्वर भएका रक्षामन्त्रीको स्वागत सत्कार पाइसकेपछि पशुपति जाउँ कि नजाउँ भन्ने अलमल भयो । 

तर सिंहदरबारका ईश्वर र पशुपतिका ईश्वरबीच आकाश पातालको फरक छ भन्ने बुझेका मोदी विमानबाट निस्केर एउटा ईश्वरसित हात मिलाई अर्को ईश्वरलाई हात जोड्न पशुपति पुगे । त्यहाँबाट आफ्नै सुरक्षाकर्मी अघिपछि लगाएर सोल्टीतिर लागे ।

तीनकुने चोक आईपुगेपछि उनलाई नेपाल अचम्मले फेरिएको देखेर अनौठो लाग्यो । लौ कति छिटो सडक छेउमा यत्रो भव्य कलात्मक र आकर्षक संरचना बनाईवरि पर्खाल लाएर सुरक्षित गरिएछ ? बाहिरको पर्खाल नै यति सुन्दर छ भने पर्खालभित्र झन् कस्तो होला ? एकपटक पर्खालभित्र पसेर हेरौं हेरौं जस्तो लाग्यो । 

तर नेपालमा आफ्नो छवि अझै सफा भैसकेको छैन, त्यसमाथि सोध्दै नसोधी हेर्न जाँदा अझै खराब हुन्छ भन्ने मनमा लाग्यो । तर पर्खाल भित्र के छ भन्ने मनको खसखस मेटिएन ।

गोजीबाट मोबाइल झिके र आफ्ना नेपाल समकक्षीलाई फोन लगाए ।
‘कोली जी यह क्या है? एकबार अन्दर जाकर देख सक्ते हें?’

मोदी तीनकुने आइपुगेछन् भन्ने ओलीले चाल पाइहाले । अनि उनले जवाफ दिए, ‘भित्र पसेर हेर्नको लागि बनाएको होइन, यो त गाडीमा ओहोरदोहोर गर्दा बाहिरबाट मात्रै हेर्न मिल्ने गरी बनाइएको हो ।’
‘ऐसा क्या हे अन्दर?’ मोदीलाई झन् बढी खुल्दुली लाग्यो ।

‘मिल्दैन भनेपछि कुरो बुझ्नुहोस् न, धेरैबेर पनि नहेर्नुहोस्, त्यो एकछिन हेर्न मात्र बनाएको मोहनी हो, मोहिनी रुपको बारेमा त आप बहुत जानकार है !’ ओलीले फेरि भने ।

‘भित्र पस्न पनि नमिल्ने, धेरैबेर बसेर हेर्न पनि नमिल्ने यो मोहनी रुप के को होला र कस्तो होला त ?’ मोदीलाई अचम्म लाग्यो । अचम्म लाग्दा उनले मनमनै सोचे जे होस् अब नेपाल बनेछ, पहिले सार्क र त्यसपछि अस्तिताका तीर्थ गर्न आएको बेलामा भन्दा पनि नेपालले फड्को मारेछ । उनलाई लाग्यो ओलीले भारतमा आफूले गरेको भन्दा धेरै चमत्कार देखाउन थालेछन् ।

मोदीलाई मात्र होइन, यसपटक नेपाल आएका सबै विदेशी पाहुनालाई लाग्यो, नेपालले पहिलेभन्दा धेरै प्रगति गरिसकेको रहेछ । सडक हेर्‍यो सुन्दर छन् । सडक छेउ आकर्षक बर्गैंचा, सडकको छेउछाउमा कलात्मक संरचना । न धुलो, न हिलो । न ट्राफिक जाम, न मान्छेको घुईंचो । मान्छे सडकमा होइन, काममा व्यस्त हुन थालेछन् । सडकमा मान्छे त के मुसो समेत देखिंदैन । आहा हामीले आफ्नो सडक कहिले यस्तै शान्त, सुग्घर र स्निग्ध बनाउने होला ? अब नेपाललाई त केही सहयोगकै खाँचो रहेनछ । आफैँ सक्षम भैसकेछ । उल्टै सहयोग पो लिएर जानुपर्छ कि भन्ने पनि लाग्यो ।

अझ स्वागतगेट देखेर सबै चित खाए । कस्तो मिलेको अंग्रेजी ! अंग्रेजी पनि नेपाली स्वाद मिसिएको, ममचालाई मःम बनाए जस्तै, बेग्लै पाराको अंग्रेजी । यसै नेपाल देखेर सारा दुनियाँ अचम्ममा परेका होइनन् । रातारात विकास गर्ने, आफ्नै मौलिक पाराको स्वागत र सत्कार गर्ने अचम्मको बानी ! बाटामा पाहुना दंग परे !

विदेशी पाहुनाका के कुरा, काठमाडौंले रातारात रुप फेरेको देखेर सारा नेपाली नै छक्क परे । विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक झकिझकाउ । पाहुनाको आँखा पुग्ने ठाउँ सबैतिर चिटिक्क सिँगारिएकी बेहुली जस्तो । भित्रपट्टीका टोल र सडक चाहिँ दाह्रीजुंगा नकाटेको र हारेको जुवाडेले लाउने स्टाईलमा टोपी लाएर जन्तीका बीचमा हिडेको बेहुलो जस्तो । 

भित्री सडकमा हिँडी नसक्नुको हिलो र चिप्लो भएर के भो त ? पाहुना ओहोरदोहोर गर्ने मुख्य सडकका खाल्डाखुल्डी पुरेर चिल्लो पारियो । बौद्ध जोरपाटी सडकमा त खाल्डो पुरिएको ठाउँमा बस नै फस्यो । यस्तै होला भनेर त पाहुनालाई त्यता लैजाने कार्यक्रम रद्द गरियो । धन्न पाहुनाले बस फसेको देख्न परेन, उनीहरुको आफ्नै गाडी फसेन । कसो कसो गाईंगुईं त सुनि पनि हालेछन् एकजनाले । पछि खासखुस देखेर ओलीले अनुमान गरे । रिट्रिटको कार्यक्रम अन्तै सारे । 

तर पाहुनको सत्कारका लागि दर्कने पानीमा पनि सडक सिँगार्न छाडिएन । हिलो हिलोमै रंग दलियो । पानी पानीमै अत्तर छरियो । 

पहिले सार्क सम्मेलनमा जस्तै तीनकुने चौरको वरपर कागजको पर्खाल बनाइयो । कागजको पर्खाल बनाउन अहिलेसम्म खर्च गरिएको पैसाले पक्की पर्खाल नै बन्थ्यो । तर सधैंभरी काम लाग्ने संरचना किन बनाउने ? एकैपटक बनाइसकेपछि फेरि के काम गर्ने ? सबै काम अहिल्यै सकिएपछि पछि काम पाईंदैन । हात बाँधेर बस्नुपर्छ । हात बाँधेर बस्दा नागरिकले गाली गर्छन् । त्यसैले काम भनेको सधैं गरिरहनुपर्छ । एउटै काम, उस्तै काम, पहिलेदेखि जानिरहेकै काम गर्नु पो महानता हो त ।

पाहुनालाई देखाउनुपर्ने सुन्दरता हो । तर धुलो र धुवाले नेपालीका सुन्दर अनुहारमा कहिल्यै चमक देखिंदैन । धेरै अनहुार छोपेर हिँड्छन्, अनुहार नछोपि हिँड्ने नेपाली जतिबेला पनि डिप्रेसनको विरामी जस्ता देखिन्छन् । अनुहार छोपेका र डिप्रेस्ड भएका नेपाली देख्दा पाहुनालाई मन नपर्न सक्छ । त्यसैले नेपालीले पाहुना हेर्न हुँदैन भन्ने सरकारलाई लाग्यो ।

विदेशबाट आएका पाहुनालाई कसैले नदेखुन् भनेर बाटोमा मान्छे छेकियो ।  गाडीमा जोर बिजोर प्रणाली लागू भयो । जोर दिन जोर नम्बरको गाडी मात्रै चल्ने, बिजोर दिन बिजोर नम्बरको गाडी मात्रै चल्ने । विशिष्ट पाहुना ओहोरदोहोर गरेको बेला सडकमा मुखै नदेखाउने । गुड्दैछ भने गल्लीभित्र पस्नुपर्ने वा लुक्ने ठाउँमा फर्किनुपर्ने, हिँड्दैछ भने रोकिनुपर्ने ।

बाइमिस्टेकमा भएका काम र नियमले पाहुनाबाहेक सबै हैरानीमा परे । तर पाहुनालाई नेपालीले पाएको हैरानी र दुःख के थाहा ? उनीहरुको आँखामा सबै राम्रो । सगरमाथाको देश, बुद्धको देश । सफा, सुन्दर र हराभरा काठमाडौं । कला र फूलबारीले सिँगारिएका सडक । बाटो छेउछाउको हिलो पनि सुन्दर, ढल र नालीमा पनि बासना । सडकमा हिँड्ने फुर्सद समेत नपाएर काममा व्यस्त नेपाली । नेपाल साँच्चै समृद्ध भएछ, नेपाली साँच्चै रोजगार र सुखी भएछन् । 

सोच्दासोच्दै रिट्रिटको बेला एकजना बाहेक अरु पाहुना जिल खाए । रिट्रिटको लागि गोकर्ण रिसोर्ट लैजाने भन्ने कार्यक्रम थियो । त्यसकै लागि त्यतातिरको सडक पनि झकिझकाउ बनाइएको थियो । एकपटक त्यताको झकिझकाउ पनि हेरौं जस्तो सबैलाई लागेको थियो । तर त्यतातिरको झकिझकाउ धेरै नक्कली छ भन्ने कुरा एकजनाले कानेखुसी गर्दा छेउमा बसेका सुरक्षाकर्मीको कानमा परेछ । सुरक्षाकर्मीको कानले थाहा पाएको यो कुरा एक कान, दुई कान हुँदै ओलीका कानसम्म पुगेछ । 

‘मैले नै त्यस्तो खाल्डे सडकबाट नजाउँ भनेको, सडक मात्र सिंगारेर के गर्नु, ठूलो बस नै फसेको ठाउँमा हाम्रा साना गाडी कसरी पार गर्छन् ? अस्ति त पछाडिको सुरक्षाकर्मी मात्रै ढल्यो, अगाडिको ढल्यो भने हाम्रो के गति हुन्छ भन्ने लागेर म त गोकर्ण जान्न भने !’ थाइल्याण्डका प्रधानमन्त्रीले मोदीका कानसित कानेखुसी गरे ।

‘त्यसो भए तीनकुनेदेखि सोल्टीमोडसम्म देखिएको झकिझकाउ पनि नक्कली हो त ?’ मोदीले शंका गरे । ओलीजीसित बिदा भएर एयरपोर्ट जाँदाजाँदै उनले तीनकुनेको पर्खाल नियालेर हेरे । एकछिन गाडी रोकाएरै छामछुम गरे । के को पर्खाल हुनु ? कागजको खोस्टो । बाहिर झिलिमिली कागज, भित्र फोहोर र हिलो । 
बिमस्टेकको भेलामा ओलीको चमत्कारी काम बाइमिस्टेक रहेछ भन्ने थाहा पाएपछि मोदीले ट्रिम गरेका दाह्री फेरि सुम्सुम्याए । दाह्री सुम्सुम्याएर मुसुक्क हाँस्दा सुरक्षा कार्गेड विमानस्थलमा पुगेको थियो । 

उनलाई बिदाई गर्न तँछाडमछाड गर्दै उभिएका विशिष्ठहरुसित हात मिलाएर मोदी विमानमा पसे । विमान बाहिर विशिष्ठहरुको र विमानभित्रबाट मोदीको हात बाईबाई गर्दै हल्लिरह्यो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

4 Comments

  • Sharada

    Sept. 3, 2018, 10:08 p.m.

    Amazingly satired! 👏

  •  0 Reply
  • shyam

    Sept. 2, 2018, 2:14 p.m.

    अति राम्रो यथार्थलाई कल्पनामा उतारिएको व्यंग्यात्मक संगालो /

  •  0 Reply
  • Madan pathak

    Sept. 1, 2018, 11:27 a.m.

    दामी छ लेख !

  •  0 Reply
  • Nara Dev Rokaya

    Sept. 1, 2018, 10:55 a.m.

    Atti weighy satire! I like it much.. Yesle oli ko aru kaamma pani duplicate huna sakne bhan hunxa.

  •  0 Reply

तपाईको प्रतिक्रिया