वर पीपलको माझमा यो लक्ष्मीनारायणको मन्दिर (फोटोफिचर)

 भदौ १६, २०७५ शनिबार १०:४७:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हरियाली जंगलले घेरिएको । विभिन्न चराचुरुङ्गीको मधुर चिरबिरचिरबिर । शीतल पवन । त्यही पवन सँगसँगै ‘बयली’ खेल्दै टहलिन पाउँदा को पो खुशी नहोला र ? शान्त अनि मनोरम प्राकृतिक वातावरणमा रहेको धार्मिक एवम् ऐतिहासिक महत्वको लक्ष्मीनारायण मन्दिरको दर्शन गर्न पाउँदा जोकोहीले ‘स्वर्गकै अनुभूति’ गर्छन् ।     

सिउँडीबार–खत्रीठाँटी सडकको आडैमा पर्छ, लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर । सिँढी बिच्छ्याइएको उकालो बाटो हिँडेपछि केही मिनेटमै वरपीपलको माझमा रहेको ऐतिहासिक लक्ष्मीनारायण मन्दिर आइपुगिहाल्छ । थोरै उकालो बाटो चढ्दै गर्दा दायाँबायाँ विभिन्न देउताका मूर्ति र मन्दिर पनि देख्न सकिन्छ । यहाँ नागको थान, हनुमानको मूर्ति समेत देख्न सकिन्छ ।

मनले चिताएको पुग्ने विश्वास 

प्रत्येक साँझबिहान यस मन्दिरमा स्थानीयले पूजाआजा गर्छन् । निकै पुरानो मानिने यस मन्दिरमा पूजाआजा गर्दा घरपरिवारमा सुख शान्ति छाउने, मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको मन्दिरमै भेटिनुभएका संस्कृतिप्रेमी दिनानाथ कोइरालाले बताउनुभयो ।   ‘यो पुरानो मन्दिर हो । यहाँ पूजा गरेमा सुखशान्ति छाउने, मनले चिताएको पुग्ने विश्वास रहेको छ’, उहाँले भन्नुभयो ।  

मन्दिरको ५२ रोपनी जग्गा रहेको छ । मन्दिर परिसरमैै पिकनिक स्थल, बाल उद्यानका साथै विभिन्न खेल मैदान बनाईएको छ । ठाडोभाका शिरोमणि स्व. भेँडीखर्के साहिँलाको शालिक बन्दै छ । 

प्रकृतिमा हराउन खोज्नेका लागि राम्रो गन्तव्य 

अहिले प्राकृतिक सुन्दरतामा लट्ठिन चाहने, साथीभाइसँग भेटघाट गर्ने, पिकनिक खान चाहनेहरुको राम्रो गन्तव्य बनेको छ, लक्ष्मीनारायण मन्दिर । 

पिकनिकका लागि आवश्यक पुर्वाधार पनि खडा गरिएको छ । पानी बिजुलीको राम्रो प्रबन्ध गरिएको छ । यस मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । 

मन्दिरको संरक्षण÷संवद्र्धन र प्रवद्र्धनका लागि विभिन्न निकायसँग पहल भैरहेको लक्ष्मीनारायण मन्दिर संरक्षण विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताउनुभयो ।   

‘यो ऐतिहासिक महत्वको धार्मिक मन्दिर हो । हामीले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई यसको महत्व बुझाएर मन्दिरको प्रवर्द्धनमा सहयोग जुटाउने पहल गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।     

धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना 

नगरपालिकाको समृद्धि र पहिचानका लागि नगरभित्र रहेको धार्मिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षणमा नगरपालिकाले काम गरिरहेको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले बताउनुभयो ।‘हाम्रो नगरभित्र ऐतिहासिक एवम् धार्मिक महत्वका थुप्रै सम्पदा छन् ।

ती सम्पदाको संरक्षण÷संवर्द्धन र प्रवर्द्धनका लागि हामीले काम गरिरहेका छौँ । यहाँ धार्मिक पर्यटन, साँस्कृतिक पर्यटनको विकास गरी युवालाई यहीँ स्वरोजगार बनाउन सक्ने सम्भावना छ । त्यसैले हामी यसको क्षेत्रको विकासमा अवश्य जुट्छौँ’, उहाँले थप्नुभयो । 

आवश्यक विभिन्न संरचना बनाई उचित प्रचारप्रसार हुन सके लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छ । यस मन्दिरको संरक्षण संवद्र्धनमा स्थानीयसंगै स्थानीय सरकारले दिल खोलेर सहयोग गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया