‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’का गीतकारसँग खरेलले तीन पटक त परिचय नै गरे

 भदौ १६, २०७५ शनिवार १४:४:१ | दीपा तिमल्सिना
unn.prixa.net

उमेर ६० नाघ्यो । अनुहारमा उमेरका धर्साहरु प्रष्ट बन्दै गएका छन् । तर संगत गर्दा लाग्दैन उहाँले उमेरको उकालोमा यति लामो हिँडिसक्नुभयो । रहरलाग्दो वैँशमै छ जाँगर अनि मन पनि । गायकी र संगीतसँगको लगाव पुरानो हो, तर मैलो र बुढो भएको छैन । 

गायक, संगीतकार एवम् गीतकार दुर्गा खरेलको नित्य कर्म अहिले पनि उस्तै छ, जस्तो दशक अघि थियो ।

घाम र जुन डुबेर पुरानो कहिल्यै हुँदैन
जन्मन्छ बोकी लालीमा आकाश धर्ती च्यातेर
बाँचेर सँधै जो मर्दछ, मरेर कहिल्यै बाँच्दैन 
बाँचरे बाँच्न जो खोज्छ मारेर कहिल्यै मर्दैन ।।

कवि धरणीधरको कोइरालाले कवितामा अभिव्यक्त गरेजस्तै, खरेल पनि कर्म गर्न हच्किनु हुन्न । खरेल जीवन र कलालाई पनि उत्तिकै सन्तुलनमा राख्नु हुन्छ, जति न्यायका लागि खटाइलाई राख्नुहुन्छ । न्याय र अन्यायको भेद नजान्दा भोग्नु पर्ने कष्टबारे अन्जान नभएकै कारण आफ्ना हरेक पाटालाई असन्तुलित हुन दिनुहुन्न । 

अदालतमा न्याय दिलाउने उहाँको पेशा । उद्घोषण र कार्यक्रम सञ्चालन गर्ने रुची । ‘उहाँ यस अर्थमा भाग्यमानी कि उहाँले उद्घोषण गर्ने कार्यक्रममा अम्बर गुरुङसमेत पर्खनुहुन्थ्यो’, खरेलका समकालीन साथीहरु भन्छन् । 

कलाकारिताका लागि मुम्बई 

सांगीतिक क्षेत्रमा अझै निखारता ल्याउन दुर्गा खरेल भारतको मुम्बई जानुभयो । तर त्यहाँ आफ्नो भविष्य पाए पनि अपनत्व पाउनुभएन । जेनतेन ५–६ महिनाको बसाई रह्यो, तर सकसपूर्ण । परिवारको याद, काठमाडौंले दिएको माया र दार्जीलिङको सम्मानले मुम्बईमा टिक्नै दिएन । मुम्बईमा बस्न मन नलाग्नु प्रमुख कारण– ‘क्लब’मा गीत गाउनु पर्ने । गीत गाउँदा कसैले ध्यानपूर्वक सुनिदियोस् भन्ने खरेलको ‘नेचर’ क्बलको घेरामा मात्रै कैद हुनै सकेन ।
उहाँ फर्किनुभयो ।

दार्जीलिङ फर्किएपछि उहाँले अदालतको जागिरलाई नै निरन्तरता दिनुभयो । 

बुवालाई हराउँदाको सम्झना

बाल्यकालमा फुटबलमा साह्रै सौख थियो । तर बुवाले फुटबलमा चोटपटक लाग्ने र कुनै एक समयको  लागि मात्रै हुने भन्दै अन्य क्षेत्र रोज्न आग्रह गर्नुभयो । ‘कक्षा ८ मा पढ्दा हो’, उहाँले सम्झँदै भन्नुभयो, ‘दार्जीलिङमा ठूलो सांगीतिक प्रतियोगिता हुने भयो । प्रतियोगितामा भाग लिने ईच्छा भयो । तर सिक्ने कोसँग ? रुमल्लिँदा रुमल्लिँदै बुवा र उहाँको उमेरका दिग्गज व्यक्तिको साथ पाइयो । उहाँहरुले गायन र संगीत सिकाउनुभयो ।’  

खरेलले सिक्नुभयो, प्रस्तुति पनि गर्नुभयो । तर प्रतियोगिताको नतिजाले सबैलाई अचम्ममा पार्‍यो । प्रतियोगितामा उहाँहरुको टोलीसँगै बुवाको टोलीले पनि भाग लिएको थियो । तर सिकाउने गुरु अर्थात बुवाहरुको टोलीलाई हराउँदै खरेलको टोली प्रथम भयो । 

‘पछि बुवाहरुले गनगन गर्नु भो अरे के तिमेरु कसरी फर्स्ट भयौ ? हामीले सिकायौँ तिमेरुलाई, हामी चैँ थर्ड, तिमेरु चैँ फर्स्ट कसरी हुन सक्छ’,  उहाँले पुराना दिन सम्झँदै भन्नुभयो । 

हिमालय कला मन्दिर : कलाकै मन्दिर

हिमालय कला मन्दिर, दार्जीलिङ भन्ने बित्तिकै हाम्रो मानसपटलमा गोपाल योञ्जन, अम्बर गुरुङ, बद्री खरेल, दिलमाया खाती, दुर्गा खरेलको नाम घुमिहाल्छ । नेपाली गीतसंगीत क्षेत्रमा उहाँहरुको योगदानले दार्जीलिङसँग काठमाडौंको बिछट्टै माया गाँसिएको छ ।  जन्म दार्जीलिङ भए पनि उहाँहरुको सांगीतिक कर्म क्षेत्र काठमाडौं नै रह्यो । 

कला मन्दिर, सांगीतिक क्षेत्रमा रुची भएकाहरु भेला हुने, संगीतका विभिन्न पाटाका बारेमा छलफल गर्ने थलो । जहाँ दुर्गा खरेलले आफूमा रहेको प्रतिभालाई पनि तिखार्ने अवसर पाउनुभयो । नियमित साधना हुन्थ्यो । ‘जान अन्जानमा मैले कला मन्दिरमा ठूलै रुखको छायाँ पाए । अनि मेहनतले हाँगाबिँगामा चढ्न सकें’ पुराना दिन कोट्याउँदै खरेल भन्नुहुन्छ ।  

घरमा बुबा र आमाको गायकीबाट प्रभावित भएका खरेल दाजु बद्री खरेलकै औँला समाउँदै कला मन्दिर पुग्नुभयो । कला मन्दिरमा उहाँले ‘साक्षात देवता’ पाउनुभयो – गोपाल योञ्जन । जो खरेलका हरेक राग र भाकामा अझै पनि जीवित नै हुनुहुन्छ । 

‘कला मन्दिरमा मैले आफ्नो ‘देवता’ पाएँ, ‘जीवित देवता’ ।’गोपाल योञ्जन स्मृति सम्मान थाप्न काठमाडौं आएका बेला खरेलले भन्नुभयो –‘गोपाल योञ्जन देवतासँगै मेरो गुरु । म हर दिन हार्मोनियम समाउनु अघि उहाँको सम्झना गर्छु ।’  गोपाल योञ्जनले दिएको प्रथम मन्त्र ‘मरेर पनि बाँचिरह’ लाई बचाइरहन खरेलले कुनै कन्जुस्याईं गर्नु भएन र गर्नुहुन्न ।

‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर ’का गीतकारसँग खरेलले तीन पटक त परिचय नै गरे 

दार्जीलिङ गभर्मेन्ट कलेजमा खरेलको ब्याचमा ‘डल्लै’ एउटा सांगीतिक माहोल थियो । दुई जना साथीहरु जस योञ्जन प्यासी र कमल गुरुङलाई सम्झदै उहाँ भन्नुहुन्छ, ‘म भुलक्कड । जस योञ्जन प्यासीसँग त मैले तीन–तीन पटक परिचय गरें । बद्री दाजुले मलाई तीनै पटक परिचय गराउनुभयो । साह्रै भुलक्कड के म’ हास्ँदै उहाँले भन्नुभयो । 

‘जस योञ्जन प्यासीले गीत लेख्नुहुन्थ्यो । हामी (कमल गुरुङ र खरेल) संगीत भर्थ्यौँ । हामी यसो कतै जादा पनि बाजा भेटिए गीत पनि घन्काइहाल्थ्यौं’ उहाँले सम्झनुभयो ।

‘एक दिन जस योञ्जनले “बोलाउँ भने तिमिलाई बात लाग्ने डर” गीत लिएर आउनुभयो । शब्द सुनेँ । सुन्ने बित्तिकै साह्रै मिठो लाग्यो । यो गीतमा के मिठो भने नि, मायालाई कसैले हृदयमा सजाएर राख्छ, कसैले मनमा सजाउँछ । उहाँले लेखेको माया ओड्नु नि मिल्ने, ल्याउनु पनि सक्ने, मनमा सजाउनु नि सक्ने । साह्रै मन पर्‍यो । यो गीत औधी मन परेपछि दार्जिलिङ गाएँ’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘सन् १९७७ तिर काठमाडौंमा आए । विश्ववल्लव दाइले रेडियोमा गाउने भन्नुभयो । तर अडिसन नगरिकन रेडियो नेपालमा गीत गाउन पाइँदैन  भनियो । खुशीको कुरा के भने  मेरो र दावा ग्लाल्मोको गीत पहिले नै रेडियो नेपालमा बजिसकेको रहेछ । यो थाहा पाएपछि अडिसनको तनाव अन्त्य भयो । मैले गीत गाएँ– इशाराले बोलाउनु पर्दैन...।’

गायनसँगै त्यतिबेला रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्ने पाण्डव सुनुवारले यो गीत बजाउनुभयो । त्यसपछि लगातार यो गीत लोकप्रिय र सदावहार छ ।

काठमाडौंले दियो चिनारी 

गीत रेकर्डिङ र कार्यक्रमका लागि दार्जीलिङबाट काठमाडौं आउनु कसैका लागि नौलो होइन । नौलो त यो हो जब आएर गीत रेकर्डिङ सकेको दुई चार दिनमा नै मायाको पहाड थुप्रिन्छ । दुर्गा खरेललाई पनि लागेको थिएन । काठमाडौंमा गीत रेकर्डिङ गराउनासाथ मायाको ओइरो लाग्ला भन्ने । उहाँ काठमाडौंमा गीत रेकर्ड गराएको एक हप्ता भित्रै सेलिब्रेटी बन्नुभयो । 

बोलाउँ भने तिमिलाई बात लाग्ने डर 

नबाेलाउँदा तिम्राे प्रितकाे पाप लाग्ने डर...

यसपछि उहाँलाई काठमाडौं आइरहने दैलो उघ्रियो । सबैको स्नेह र ममताले कुनै डर बिना काठमाडौंले उहाँलाई स्वागत गरिरह्यो । 

एकपटक पैसाको निकै अभाव भयो बसाइका क्रममा । मायाले भरिएको काठमाडौंले उहाँलाई अभाव हुन दिएन । त्यो क्षण सम्झँदै खरेल भन्नुहुन्छ, ‘तुरुन्तै सांगीतिक कार्यक्रम पाएँ, पैसोको जोहो भैगो ।’ 

काठमाडौंले उहाँलाई धेरै माया दिएको छ । जब काठमाडौंको झल्को उल्कै आउँछ । अनि उहाँ निस्कनुहुन्छ घरको बार्दलीमा अनि सम्झदै काठमाडौंलाई गीत गाउनुहुन्छ । ‘काठमाडौंलाई मैले उँभो हेर्छु’ दार्जीलिङे ‘टोन’ मा खरेलले भन्नुभयो, ‘काठमाडौं सधैँ हाम्रो शीरमा छ ।’

काठमाडौंसँगको मायाकै कारण खरेलको साइनो पनि यहाँ जोडियो । काठमाडौं भाटभटेनीकी चेली (संगीता खरेल)सँग सन् १९८७ मा जीवन गाँसियो ।  छोरा २८ वर्षका भए । लगाव संगीतमा नै छ । खरेलले बुवाको सिको गर्दै गायन अंगाल्नुभयो । छोरो पनि त्यहि लयलाई पछ्याइरहेका छन् ।  

खरेलले जीविका चलाएको र नागरिकको परिचय लिएको माटो सीमापारिको हो । तर उहाँमा बाँचेको जीवन, अनुहारमा फुलेको मुस्कानमा नेपाली पन छन् । र त उहाँका हरेक गीतमा नेपाली माया छन्, यतै उतैका नेपाली जनजीविकाहरु बाँचेका छन् । 


 

अन्तिम अपडेट: भदौ २८, २०७५

1 Comments

  • Geeta Kharel Sapkota

    Sept. 2, 2018, 11:53 a.m.

    मेरा दाईहरु बद्री खरेल र दुर्गा खरेल दुई शरीर भएपनि एउटै आत्माका हुनुहुन्छ / दाईहरुले संगीत रचना गर्न बस्दा मेरो कान्छा दाई संजय र बहिनी गायत्री पनि संगै बसेर गीत सुन्ने गर्थ्यौं / दाईहरुको सही मुल्यांकन हुँदा आत्मविभोर भएकी छु /

तपाईको प्रतिक्रिया