सकियो मल्लकालीन भैरव जात्रा (फाेटाे फिचर)

 भदौ १६, २०७५ शनिबार १७:१४:२१ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – चारदिनदेखि प्रर्दशन भएको भैलः अर्थात भैरव जात्रा सम्पन्न भएको छ । मध्यपुरथिमि –५, नासननी टोलबाट निकालेर थिमिको विभिन्न टोलमा नियमित रुपमा सञ्चालित मल्लकालीन लाय्कू भैलः अर्थात भैरव जात्रा आज सम्पन्न भएको हो । 

गएको वर्ष लायकू दरबारबाट प्रर्दशन गरिएको यो नाच यस वर्ष भने लायकू भैलका नाय पमाः श्यामकाजी श्रेष्ठको स्वीकृतिमा मध्यपुरथिमि –५, नासननी टोलका प्रजापतिहरुले संचालन गरेका हुन् । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि पञ्चमीसम्म मनाइने गरिएको लायकू भैल गुरु एवं नाय पमाः अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

भैरव दुई, दाःगी अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी ५ जना देवगण रहने यो नाच तान्त्रिक विधि पूरा गरेर दैवी शक्ति प्राप्त गरी सञ्चालन हुने नाचका मूल गुरु श्रीगोपाल प्रजापतिले जानकारी दिनुभयो । जसमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपासको बिंया, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ । 

नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने व्यवस्थापक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो । शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको उहाँले बताउनुभयो । 

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएपछि तान्त्रिकमार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेतहरु टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको स्थानीय भैरव नाच व्यवस्थापन समितिका सचिव विकास प्रजापतिले बताउनुभयो । 

यसवर्षको नाचमा देवगणको रुपमा ज्यापुंगःको भूमिकामा आकास प्रजापति, प्रथम भैरवको भूमिकामा सुनिल प्रजापति, अन्तिम भैरवको भूमिकामा समीर शंखदेव तथा दुई दागिं (कुमारी)को भूमिकामा सुशन र सुजन प्रजापति रहेको उहाँले बताउनुभयो । 

भैरव नाचमा एक दर्जन दागः (काठ र छालाबाट बनेको बाजा), आठ वटा भुस्याः बाजा, आठ जनाले पोङा बाजा र मुहाली (सनई) बजाउने गरिन्छ । ती सम्पूर्ण कलाकारले भैरव नाचको लागि करिव एक महिना अघिदेखि तयारी थालेका हन्छन् ।

यो नाचका मूल गुरु श्रीगोपाल प्रजापति र अन्य गुरुहरु  कृष्णबहादुर, प्रेमकाजी, चन्द्रभक्त, बालकृष्ण प्रजापतिले तान्त्रिक विधि पूरा गरी सिकाएका थिए । धा बाजाका ३० देखि ३२ तालमा नचाइने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने प्रचलन रहेको सचिव विकासले जानकारी दिनुभयो । 


सुरुको दिनमा मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर, निराहार बस्नुपर्ने कडा नियम छ । 

भैरव नाचमा नाच्ने कलाकारहरुमा साक्षात् देवीदेवता प्रवेश भइ द्यः खाइगु भनी काम्ने गरेको यसरी काम्ने कार्य द्यः खाइगु गर्दा २ मिनेट देखि ३ घण्टासम्म पनि पनि हुने गरेको उदारहणहरु रहेको गुरुहरु बताउँनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया