चीनको गरिबी निवारण कार्यक्रम र सञ्चार माध्यमको नेपाली पत्रकारद्वारा अवलोकन

 भदौ १७, २०७५ आइतबार १५:७:१० | राजु लामिछाने

काठमाडौं – चीनको गरिबी निवारण कार्यक्रम र सञ्चार माध्यमको विकासबारे अवलोकन गरी नेपाली मिडिया दल शनिबार नेपाल फर्केको छ । 

एक साताअघि चीन गएको १४ जना नेपाली पत्रकारहरुको टोलीले चीनको गरिबी निवारण कार्यक्रमको अवलोकन भ्रमण, विभिन्न छलफल, विभिन्न सञ्चार माध्यमहरुसँग अन्तरक्रिया गरेको थियो । 

पत्रकारहरुको भ्रमण टोलीले चीनको सिचुवान प्रान्तस्थित पावोसिङ काउन्टीको हिमपहाडमा भएको गरिबी निवारण कार्यक्रमको अवलोकन गरेको छ । सन् २०१३ अप्रिल २० तारिख गएको भूकम्पबाट हिमपहाड गाउँका अधिकांश घरहरु भत्किएका थिए । मानवीय क्षति नभए पनि ६० घरहरु भत्किएकाले त्यसपछि पुनर्निर्माण गरी नयाँ बस्ती बसाइएको हिमपहाड गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिनुभयो ।

त्यसैगरी, सिचुवान प्रान्तकै मिन्साङ जिल्लास्थित प्रशिद्ध चिया खेती र किवी खेतीको अवलोकन गरी गरिबी निवारण कोषको कार्यक्रमको प्रभावकारिताबारे समेत अवलोकन गरिएको छ । पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारले अगाडि सारेको गरिबी निवारण कार्यक्रम सफल रहेको जनाइएको छ ।

पत्रकारहरुको टोलीले सिचुवान राज्यको छेन्दु शहरमा रहेको सिचुवान समाचार ग्रुपसँग अन्तरक्रिया तथा अवलोकन गरेको छ । उक्त समाचार ग्रुपबाट प्रकाशित, प्रशारित समाचार पत्र, रेडियो र टेलिभिजनको छुट्टाछुट्टै अवलोकन गरिएको थियो ।

मिडिया दलद्धारा छेन्दु शहरमा रहेको साघुँरो र फराकिलो गल्लीको समेत अवलोकन गरिएको थियो । 

चीनको राजधानी बेइजिङ्ग शहरमा रहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) को कार्यालय अवलोकन तथा अन्तरक्रिया, सीआरआई अनलाइनसँग अन्तरक्रिया तथा अवलोकन गरिएको छ । 

त्यहाँस्थित गरिबी निवारणका लागि चिनियाँ फाउन्डेशन र चिनियाँ गरिबी निवारण कोषको कार्यालयमा छुट्टाछुट्टै अवलोकन तथा अन्तरक्रिया गरेर नेपाली मिडिया दलले जानकारी हासिल गरेको छ । 

भ्रमण टोलीले चीनका  लागि नेपाली राजदूत लिलामणि पौडेलसँग भेटघाट गरी चीनमा नेपालीहरुको लागि भैरहेका गतिविधिबारे जानकारी लिएको थियो । पत्रकारहरुको टोलीले संसारकै सबैभन्दा लामो पर्खाल ग्रेटवालको समेत अवलोकन गरेको थियो । 

चीनको गरिबी निवारण कोषको आमन्त्रणमा भएको नेपाली मिडिया दलको भ्रमण टोलीमा रुकुमका उज्यालो सहकर्मी राजु लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कान्तिपुर दैनिकका कर्णाली ब्यूरो प्रमुख कलेन्द्र सेजुवाल, जनआस्था साप्ताहिकका नमस्कार शाह, अन्नपूर्ण पोष्टका नविन कुइँकेल, कान्तिपुर दैनिकका मनोज पौडेल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शम्भु झा, फास्ट टाइम्सका केशव घिमिरे, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिं बि.क., सेतोपाटी अनलाइनका भानुभक्त जैसी, रातोपाटी अनलाइनका शम्भु दंगाल लगायत १४ जना पत्रकारहरुको सहभागिता रहेको थियो । 

गरिबी निवारण कार्यक्रमका लागि चीन सरकारको गरिबी निवारण कोष र प्रान्तीय सरकारले स्थानीयलाई विशेष अनुदान दिनुका साथै बैंकबाट सहुलियत दरमा ऋणको व्यवस्था पनि गरिदिएको सीआरआई नेपाली सेवाका चेतनाथ आचार्यले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया