पूर्व नक्सलवादी तथा रिक्साचालक चर्चामा : १४ पुस्तकको ‘कपीराइट’ बेचे महंगोमा

 भदौ १७, २०७५ आइतबार १६:२७:३० | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

काठमाडौं – पछिल्लो समय लेखकहरुलाई प्रकाशकले आकर्षक रकम दिएर आफ्नो प्रकाशन गृहमा भित्र्याउने लहर नै चलेको छ । 

नेपालजस्तो सानो साहित्यिक बजार भएको देशमा पनि लेखकहरुलाई एउटै पुस्तकका लागि लाखौँ रकममा सम्झौता गरिएको प्रकाशकहरु बताउँछन् । 

अझ अहिले दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश तथा अफ्रिकी देशहरु नाइजेरिया, केन्या, युगान्डालगायतका देशहरुका लेखकसँग प्रतिष्ठित प्रकाशन गृहहरुले लोभलाग्दो रकममा सम्झौता गरेका छन् । खासगरी पछिल्लो समय अंग्रेजीमा लेख्ने लेखकहरुले राम्रो ‘बुक डिल’ पाइरहेका छन् ।

तर पछिल्लो समय भारतको एक प्रतिष्ठित प्रकाशन गृह वेस्टल्याण्ड पब्लिकेसनले अंग्रेजी इतरका भाषाका लेखकसँग १४ पुस्तकका लागि ठूलो रकममा सम्झौता गरेको छ । भारतमा गैरअंग्रेजीभाषी लेखकका लागि प्रकाशन गृहले गरेको यो सम्झौता सम्भवतः अहिलेसम्मकै ठूलो भएको बताइएको छ ।

वेस्टल्याण्ड पब्लिकेसनले बंगाली लेखक मनोरञ्जन ब्यापारीका विभिन्न १४ कृतिको अधिकार(कपीराइट)  किनेको छ । प्रकाशन गृहले कति रकममा सम्झौता भयो भन्ने खुलाएको छैन । सम्झौताका बारेमा मनोरञ्जन ब्यापारीले प्रकाशकले खुलासा गर्न रोक लगाएको उज्यालोलाई जानकारी दिए । 

तर यो सम्झौताले कोलकाताका दलित लेखक ब्यापारीको जीवनमा ठूलो परिवर्तन आउने भने देखिएको छ । 

ब्यापारी कोलकातामा रहेको श्रवणशक्ति नभएकाहरुका लागि स्थापना गरिएको हेलेन केलर विद्यालयमा कुकको रुपमा काम गरिरहेका छन् । लेखनबाट खासै पैसा नकमाएका ब्यापारीले जीवनयापनका लागि नै विद्यालयमा खाना पकाउने काम गर्दै आएका छन् । 

सन् २०१८ को जयपुर साहित्य उत्सवपछि मनोरञ्जन ब्यापारीको चर्चा एकाएक भएको थियो । जयपुर साहित्य उत्सवमा उनका कुरा सुनेपछि उनी भारतीय तथा विदेशी सञ्चारमाध्यममा छाएका थिए । 

कुनै समय नक्सलवादी आन्दोलनमा समेत सहभागी ब्यापारी लामो समय कोलकाताको सडकमा रिक्सा पनि चलाएका थिए । पछिल्लो समय मुम्बई फिल्म फेस्टिभलबाट शनिबारमात्रै कोलकाता फर्किएका ब्यापारी मंगलबारदेखि पुनः कुककै काममा फर्कने बताउँछन् । सुगरको समस्याका कारण उनको दुवै घुँडाको अपरेसन गरिएको छ । त्यसैका कारण पछिल्लो समय आफूले गह्रौँ खालका काम गर्न नसक्ने ब्यापारी बताउँछन् । देशमा सबैले आफूलाई चिने पनि आफ्नै राज्यको मुख्यमन्त्री नचिन्दा आफूलाई दुःख लागेको ब्यापारी बताउँछन् । 

ब्यापारीको जीवन आरोह–अवरोहका बीच अगाडि बढिरहेको छ । तर पछिल्लो सम्भौताले उनी उत्साहित छन् । ब्यापारीको पहिलो पुस्तक ‘बताशे बारुदेर गोंधो’ को अंग्रेजीमा ‘देयर इज गनपाउडर इन द एयर’ का रुपमा अनुवाद गर्ने अरुनाव सिन्हा जयपुर साहित्य उत्सव मनोरञ्जन ब्यापारीका लागि टर्निङ प्वाइन्ट भएको बताउँछन् ।

सिन्हाले टाइम्स अफ् इन्डियासँगको कुराकानीमा बताउँछन्, ‘साहित्य उत्सवपछि थुप्रै प्रकाशकले उनीसँग सम्झौता गर्ने प्रयास गरे । यहाँसम्म कि कैयौँ बलिउड निर्देशकको नजरमा पनि उनी परे । त्यति बेला ब्यापारी बंगालमा पनि चीरपरिचित नाम भैसकेका थिएनन् ।  मुख्यधाराका सञ्चारमाध्यमले पनि उनलाई ध्यान दिएका थिएनन् ।’

चर्चित लेखिका महाश्वेता देवीसँगको एउटा भेटले मनोरञ्जन ब्यापारीको जीवनको बाटो नै परिवर्तन गरेको हो । गर्मीको मौसममा ब्यापारीले एक जना प्रोफेसर(महाश्वेता देवी) लाई आफ्नो रिक्सामा राखेर कतै लैजाँदै थिए । त्यति बेला ब्यापारीलाई जिजीविषाको अर्थ थाहा पाउन मन लाग्यो र महाश्वेता देवीलाई सोधे । महाश्वेता देवीले मनोरञ्जन ब्यापारीको साहित्यिक चेतलाई बुझेर बंगालीमा जर्नल लेख्ने मौका नै दिइन् । ‘रिक्सा चलाय’(म रिक्सा चलाउँछु) ब्यापारीको पहिलो प्रकाशित कृति बन्यो । 

ब्यापारीले अहिलेसम्म दर्जनौँ उपन्यास, लघुकथा तथा एउटा आत्मकथा लेखेका छन् । उनको आत्मकथा‘इन्टेरोगेटिङ माइ चन्डाल लाइफ : एन अटोबायोग्राफी अफ् अ दलित’ मा काठमाडौंमा रहेको मार्टिन चौतारीमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमका लागि आफ्नो सन्देश पठाउँदै भारतमा व्यवस्थाका कारण दलितहरु थिचोमिचोमा परेको ब्यापारीले बताएका थिए । 

पीडादायी जीवन जिएका ब्यापारी आफूलै सधैँ आफूजस्तै दमित वर्गका पक्षमा कलम चलाएको बताउँछन् । उनी भन्छन्, ‘धनीका पनि समस्या त होलान् तर उनीहरु कहिल्यै अत्याचार सहेका छैनन् होला । भोकै सुतेका छैनन् होला ।’ 

ब्यापारीलाई आफ्नो जन्ममिति पनि ठ्याक्कै थाहा छैन । उनलाई थाहा छ त केवल सन् १९५० को दशकमा उनको जन्म बंगलादेशमा भएको थियो । उनको परिवार शरणार्थीका रुपमा भारत आएको थियो । 

उनका कृतिहरु धेरैजसो उनकै जीवनमा आधारित छन् । ब्यापारीले जेलमै अक्षर चिनेका हुन् ।

लामो समय कम्युनिष्टहरुले शासन गरेको पश्चिम बंगाल राज्यमा जाति व्यवस्था नभएको बताइए पनि ‘छोटोलोक’ र ‘भद्रलोक’ जस्ता शब्द प्रचलित हुनु जाति व्यवस्थाकै निरन्तरता भएको ब्यापारी बताउँछन् । 
 

अन्तिम अपडेट: असोज २८, २०७५

उपेन्द्रराज पाण्डेय

कला, साहित्य र संस्कृतिमा कलम चलाउने उपेन्द्रराज पाण्डेयलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया