अंग्रेजलाई युद्धमा हराएको सम्झनामा २००औँ विजय उत्सव मनाइँदै

 भदौ १७, २०७५ आइतबार १८:३५:४७ | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

पाल्पा –अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा  श्रीरणउजिरेश्वरी भगवतीको २०० औँ विजयोत्सव मनाइँदैछ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो

अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाईँमा युद्धमा जानुअघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ । 

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाईँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको सम्झनामा विक्रम सम्वत १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिनुभयो ।

जात्राको अघिल्लो दिन आज रातभरि जाग्राम बसेर भगवतीको महिमा गाइने छ । आजै राति १२ बजे साइत हेराएर भगवतीको रथ उचालेर बली दिइने र भोलि

बिहानैदेखि पूजापाठ हुने समितिका सचिव कार्कीले जानकारी दिनुभयो । आज राति १२ बजे तानसेनमा आतिसबाजी समेत गरिने तयारी रहेको छ ।

सोमबार दिउँसो साढे १२ बजे कर्णेलपूजा गरेर रथ उठाउने र सरकारी पूजापछि भगवतीको रथलाई बजार परिक्रमा गराउने तयारी छ ।

सांस्कृतिक झाँकी र्यालीका साथमा बजार परिक्रमा गराइने रथको अघिपछि नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, खेलाडी, विद्यार्थी, स्थानीय संघ सस्थाका प्रतिनिधि, भक्तजन लगाएको सहभागिता रहनेछ । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्रीरणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग पनि छ । 

स्थानीय बिदा दिएर पाल्पामा भगवतीजात्रा मनाउने चलन छ । जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, गुल्मी, पर्वत ,पोखरा, बुटवल, अर्घाखाँचीलगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् ।

प्रधानसेनापति पाल्पा आउँदै

रणउजिरेश्वरी भगवतीको २०० औ विजय उत्सव मनाउन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार पाल्पा आउँदै हुनुहुन्छ । रथयात्राको शुभारम्भअघि नै प्रधानसेनापति थापा तानसेन आउनुहुने जनाइएको छ । 

विजय उत्सवमा प्रदेश नम्बर ५ का संस्कृति तथा पर्यटन मन्त्री लिला गिरि, प्रदेश ५ का सभामुख पूर्ण घर्तीमगरसँगै पाल्पाका प्रदेशसभा सदस्यहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहने छ ।

जात्राभरि मदिरा निषेध

भगवती जात्राको विजय उत्सवलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबारदेखि मंगलबारसम्म तानसेन र आसपासका क्षेत्रमा मदिरा निषेध गरेको छ ।

जात्रा सम्पन्न नभएसम्मका लागि मदिरा सेवन र बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रशासनको अनुरोधलाई अवज्ञा गरे कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

भगवती गुठी व्यवस्थापन समितिले आज बेलुकी र भोलि बेलुकी घरघरमा दीप प्रज्ज्वलन गर्न तानसेनका नागरिकलाई आग्रह गरेको छ । भोलिको रथयात्राको समयमा रथयात्रा निकालिने स्थानका घरमा पानीको घडा राख्नसमेत समितिले सबैसँग आग्रह गरेको छ ।

आइतबार र सोमबार बेलुकी दीप प्रज्ज्वलनसँगै घरघरमा लामो लामो धुप बाल्न समेत समितिले सबैसँग आग्रह गरेको छ ।
 


 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया